मंगलबार, मंसिर १ गते २०८३

ज्योति मिर्मिरे साकोसको २७ औं साधारण सभा, ६० प्रतिशत सदस्यलाई समेट्दै “वित्तीय साक्षरता वर्ष” मनाउने


मंसिर १, २०८३ मंगलबार
ज्योति मिर्मिरे साकोसको २७ औं साधारण सभा,  ६० प्रतिशत सदस्यलाई समेट्दै  “वित्तीय साक्षरता वर्ष” मनाउने

काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं ६ नमोबुद्धरोडमा मुख्य कार्यालय  रहेको ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 जिल्लाको ११ स्थानीय तहमा ८ वटा सदस्य सेवाकेन्द्रमार्फत् वित्तीय सेवा प्रवाह गर्दै आएको  उक्त संस्थाले कार्तिक २६ गतेदेखि विभिन्न ६ वटा एकाई केन्द्रहरूबाट सुरु भएको एकाइ साधारण सभा  कार्तिक ३० गते मुख्य कार्यालयमा छनौट भएका एकाई प्रतिनिधिहरूको उपस्थितीमा निर्णय प्रमाणीकरण  सभासहित  सम्पन्न भएको हो । संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समितिको तर्फबाट सचिव बुद्ध सिंह थापाले वार्षिक प्रगति प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम, कोषाध्यक्ष पूर्णराम तुलाधरले आर्थिक प्रतिवेदन तथा वार्षिक बजेट तथा कार्यक्रम र लेखा सुपरिवेक्षण समितिका संयोजक भिमसेन के।सी।बाट लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

 साधारण सभामा प्रस्तुत प्रतिवेदनमा संस्थामा कुल २१ हजार ९९१ शेयर सदस्य र २ हजार ३६० बाल बचतकर्ता गरी जम्मा २४ हजार ३५१ सदस्य आबद्ध रहेका छन्। आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्ममा संस्थाको कुल शेयर पूँजी   ११ करोड २७ लाख ७५ हजार , कुल बचत  १ अर्ब २१ करोड ४२ लाख ३७ हजार र कुल ऋण लगानी  १ अर्ब १२ लाख ३४ हजार पुगेको छ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको रूपमा सञ्चालन इजाजतपत्र प्राप्त गरिसकेको यस संस्थाले  सदस्यहरुलाई  मोबाइल बैंकिङ, डिजिटल क्यूआर कोड, एसएमएस तथा ट्याब बैंकिङ जस्ता अत्याधुनिक प्रविधिमैत्री सेवा विस्तार गरी सदस्यहरूलाई घरदैलोबाटै नगदरहित कारोबारको सुविधा प्रदान गर्दै आएको छ। 

911619182_3806701879470100_5221517141817532950_n.jpg

वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई समेत उत्तिकै प्राथमिकतामा राखेको संस्थाले “कोखदेखि शोकसम्म ज्योमिसा” भन्ने नारालाई सार्थक बनाउँदै समीक्षा वर्षमा स्वास्थ्य उपचार राहत, सदस्य तथा एकाघर परिवार मृत्यु राहत, गर्भवती पोषण सहयोग, जेष्ठ नागरिक तथा अपाङ्ग सदस्य भत्ता, बालबालिका जन्मोत्सव र प्राकृतिक प्रकोप पीडित राहत गरी विभिन्न ८ शीर्षकमा  ४० लाख ५२ हजार बराबरको सहयोग वितरण गरेको छ। आगामी आर्थिक वर्ष २०८३\०८४ मा कम्तिमा ६० प्रतिशत सदस्यलाई समेट्दै “वित्तीय साक्षरता वर्ष” मनाउने, युवा केन्द्रित स्टार्ट–अप तथा उद्यमशीलता प्रवद्र्धन गर्ने, विद्यालय तहसम्म नैतिक तथा सहकारी शिक्षा विस्तार गर्ने र सम्पूर्ण कारोबारलाई पूर्ण रूपमा डिजिटल प्लेटफर्ममा आबद्ध गर्ने योजनासहित सभाले प्रस्तुत सम्पूर्ण प्रतिवेदन तथा प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ । २७ औं वार्षिक साधारण सभामा कुल सदस्यहरूको ७०.०३ प्रतिशत सदस्यको उपस्थिति रहेको थियो ।