सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म कोशी ब्यारेजको विकल्पका रूपमा तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ । सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालका अनुसार केही वर्षअघि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदनका आधारमा पुल निर्माण गर्न लागिएको हो । पुल निर्माणको अनुमानित लागत ४३ अर्ब रुपैयाँ रहेको छ ।
एसियाली विकास बैंकको सहयोगमा निर्माण हुने उक्त पुल सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्गको यात्रा १४ किलोमिटर छोटिनेछ । परियोजनाअन्तर्गत पुलसँगै ४३ किलोमिटर नयाँ सडकसमेत निर्माण गरिनेछ । निर्देशक ढकालका अनुसार पुल तथा सडक निर्माणका लागि आवश्यक प्राविधिक र प्रक्रियागत तयारी भइरहेको छ ।
परियोजना क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएकाले वातावरणीय तथा कानुनी स्वीकृतिका विषयमा काम भइरहेको उनले बताए । पुरानो हुँदै गएको कोशी ब्यारेजमा सवारी चाप बढ्दै जाँदा प्रस्तावित नयाँ पुललाई पूर्वी नेपालको यातायात व्यवस्थापनका लागि महत्त्वपूर्ण मानिएको छ ।
नेपालपत्र संवाददाता