लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाको निस्कृय कर्जामा उल्लेख सुधार आएको छ । संस्थाले प्रकाशित गरेको १७ औं वार्षिक साधारण सभाको प्रतिवेदनले निस्कृय कर्जामा सुधार भएको देखाएको हो । संस्थाको वार्षिक प्रतिवेदन अनुसार २०८२ असार मसान्तसम्म कुल ऋण लगानी १७ करोड १८ लाख १२ हजार मध्येसक्रिय ऋण १५ करोड ९५ लाख ८७ हजार रहेको छ । जसमध्ये १ करोड २२ लाख २४ हजार अर्थात ७.१२ प्रतिशत कर्जा मात्र निस्कृय रहेको उल्लेख गरिएको छ । यस अघि संस्थाको निस्कृय कर्जा २० प्रतिशत भन्दा माथि रहेको थियो । संस्थाले निस्कृय ऋणको लागि ऋण जोखिम कोषको समेत व्यवस्था गरेको छ । संस्थाले गत आर्थिक बर्षको नाफाबाट उक्त कोषमा ७७ लाख २० हजार रुपैयाँ विनियोजना गरेको हो ।
संस्थाले ऋण असुलीका लागि कडा परिश्रम गरेका कारण निस्कृय कर्जामा ठुलो सुधार गर्न सकेको कोषाध्यक्ष प्रेम बहादुर तामाङले जानकारी दिए । ऋण असुलीका लागि सदस्यहरुलाई नियमित रुपमा फलोअप गरेको र जसका कारण असुलीमा सुधार भएको उनको भनाई छ । अनुत्पादक भन्दा उत्पादनमूलक क्षेत्रमा ऋण लगानी वृद्धि गरेको र क्षमताको आधारमा ऋण लगानी गर्ने नीति लिएका कारण समेत ऋण असुलीमा सुधार भएको हो । त्यसका साथै ऋणी सदस्यसँग भेटघाटको लागि घरदैलो कार्यक्रम आयोजना गर्नुका साथै उनीहरुको गुनासो सुन्ने गर्ने गरेकाले समेत असुली प्रभावकारी भएको उनले जनाए ।
उनका अनुसार गत आर्थिक बर्षमा संस्थाको वाह्य ऋण तथा सापटी समेत शुन्य प्रतिशतमा झरेको छ । आर्थिक बर्ष २०८१/८२ को आषाढ मसान्तसमा ६७ लाख बाह्य ऋण रहेकोमा गत आ.व.मा शुन्य प्रतिशतमा झार्न सफल भएको उनको भनाई छ । संस्थाले गत असार मसान्तसम्म कुल वासलातमा १२.१० प्रतिशतले वृद्धि गरी २४ करोड १८ लाख पुर्याउन सफल भएको छ । संस्थाको यस अघि कुल वासलात २१ करोड ५७ लाख रहेको थियो । गत असार मसान्तसम्म संस्थामा ४ हजार १२३ जना सदस्य आवद्ध रहेका छन् । ती सदस्यहरुबाट संस्थाले १ करोड ३२ लाख ५० हजार शेयर पुँजी, १९ करोड ६३ लाख ५० हजार बचत संकलन गरी १७ करोड १८ लाख ऋण लगानी गरेको छ । संस्थाले क्रमशः संस्थागत पुँजीलाई समेत मजवुत बनाउँदै लगेको छ । संस्थाको संस्थागत पुँजी १ करोड ४७ लाख माथि पुगेको छ ।
प्रविधिमा लगानी
संस्थाले वित्तीय कारोबारलाई समय सापेक्ष आधुनिक र प्रविधिमैत्री बनाउने उदेश्यले प्रविधिमा समेत लगानी बढाएको छ । संस्थाले आधुनिक प्रविधिको प्रयोग गरी सदस्यहरुलाई चुस्त, दुरुस्त र सहज तरिकाले सेवा प्रदान गर्दै आएको व्यवस्थापक रविन वि.क.ले बताए । उनका अनुसार संस्थाले आधुनिक बैकिङ सफ्टवेयर, मोबाइल बैकिङ सेवा, पिएबीएक्स प्रणाली र सि.सि. क्यामेरा तथा विकेन्द्रिकृत रेकर्डिङ र व्याकअपको व्यवस्था मिलाएको छ । संस्थाले प्रविधिमा आधारित सेवाहरु प्रदान गर्दै आएको र यसको प्रभावकारिता समेत बढ्दै गएको उनले सुनाए । वित्तीय पारदर्शिता कायम गर्दै सदस्यहरुलाई बचत तथा ऋणका साथै अन्य सेवाहरु समेत प्रदान गरेका कारण संस्थाप्रति सदस्यको आकर्षण बढेर गएको उनको भनाई छ ।
आय आर्जन केन्द्रीत ऋण लगानी
संस्थाले आफ्ना सदस्यहरुको आय आर्जन हुने क्षेत्रहरुमा ऋण लगानी गर्दै आएको छ । विशेषतः संस्थाले प्रतिस्पर्धी ब्याजदरमा कृषि तथा पशुपालन, व्यापारिक, वैदैशिक, हायरपर्चेच, शैक्षिक, आवास, घर जग्गा खरिद, खरखाँचो, लघुवित्त, सक्रिय सुविधा, कर्मचारी र आपतकालिन जस्ता शिर्षकमा ऋण लगानी गर्दै आएको जनाएको छ । संस्थाले गरेको ऋण लगानीबाट कृषि तथा व्यवसायमा समेत वृद्धि भएको छ । त्यसका साथै निम्न वर्गका मानिसहरुमा वित्तीय पहुँच अभिवृद्धि भई नगद परिचालन तथा आर्थिक पहुँचमा समेत वृद्धि भएर गएको छ । वेरोेजगार युवाहरुलाई व्यवसायिक बनाउन आवश्यक व्यवसायिक योजना तथा तालिमहरु आयोजना गर्दै सुरक्षित लगानीको सम्भावना खोजी गर्ने समेत संस्थाले योजना बनाएको छ ।
आर्थिक तथा सामाजिक रुपान्तरणमा योगदान
संस्थाले कार्यक्षेत्रभित्रका सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा ठुलो योगदान गरेको छ । संस्थाले ससानो रकम बचत गर्ने वानीको विकास गररी सदस्यहरुको फजुल खर्च गर्ने वानीमा न्यूनिकरण गरेको छ । त्यसका साथै सामाजिक चेतनामा वृद्धि गरी परिवार र समाजमा हुने हिंसा तथा द्वन्द्वलाई क्रमशः घटाउँदै लगेको छ । सदस्यहरुमा नेतृत्वको सीप विकास गरी स्थानीय सरकारदेखि विभिन्न संघ संस्थाको नेतृत्व तहमा समेत आफ्ना सदस्यहरुको पहुँच पु¥याउन संस्था सफल भएको छ । संस्थाले सदस्य राहत अन्तर्गत सामाजिक काज सहयोग अन्गर्तत १० हजारसम्म, महिला सदस्यलाई सुत्केरी भत्ता, प्राकृतिक तथा दैवी प्रकोपमा राहत सुविधा उपलब्ध गराउँदै आएको छ । संस्थाका अध्यक्ष पुर्णचन्द्र ढकालले सहकारी मुल्य, मान्यता र सिद्धान्तमा आधारित रहेर सदस्यहरुलाई आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग गर्दै आएको बताए ।
नेपालपत्र संवाददाता