बिहीबार , कार्तिक २७ गते २०८३

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले कमि


कार्तिक २७, २०८३ बिहीबार
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले कमि

वीरगञ्ज नाका हुँदै खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ ।   चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगन्ज नाकाबाट आयात हुने खाद्यान्न आयात घटेको हो । 

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको साउनदेखि असोजसम्ममा चामल, मकै, गहुँ, धान, माल्ट, फापर, कोदोलगायत खाद्यान्न तीन करोड १६ लाख ४० हजार किलो आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आठ करोड ७० लाख ४७ हजार किलो खाद्यान्न आयात भएको थियो । 

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार चालु आवको पहिलो तीन महिनामा ६७ लाख ७३ हजार ६२९ किलो चामल आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९४ लाख एक हजार किलो चामल आयात भएको थियो । चामल आयातको मूल्यसमेत अघिल्लो वर्षको ८९ करोड ८१ लाख रुपैयाँबाट घटेर चालु आवमा ७० करोड रुपैयाँमा झरेको छ ।

धान आयातमा पनि उल्लेख्य कमी आएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकमा तीन करोड ९१ लाख किलो धान आयात भएकामा चालु आवको सोही अवधिमा ६९ लाख ३५ हजार ४६० किलो मात्रै आयात भएको छ । धान आयातको मूल्य अघिल्लो वर्ष एक अर्ब ४६ करोड २८ लाख रुपैयाँ रहेकामा चालु आवमा घटेर ३३ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, मकै आयात पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा तीन करोड ३६ लाख १२ हजार ८१० किलो मकै आयात भएकामा चालु आवमा ६७ लाख ३६ हजार ४३७ किलो मात्रै आयात भएको छ ।