शनिबार, आश्विन १७ गते २०८३

साकोस अभियानकाे अभिभावक नेफ्सकून

श्रावण ३०, २०७९ सोमबार
साकोस अभियानकाे अभिभावक नेफ्सकून

 

प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाहरु र तिनिहरुको जिल्ला तथा प्रदेश संघको नेतृत्व गर्ने केन्द्रीय संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) हो । आवद्ध सदस्य संघ संस्थाहरुको वित्तीय सामाजिक र साँस्कृतिक बृद्धि तथा उन्नति गराउने उद्देश्यका साथ स्थापना भएको नेफ्स्कून साकोस अभियानको अभिभावक हो । अभिभावक सब्द आफैमा उच्च सम्मानित शब्द हो । सुन्दैमा पूर्ण सुरक्षित भएको महसुस हुने र आनन्द आउने तथा ब्यवहारमा पनि सोही कुरा अनुभूत गर्न पाईरहेको कुरामा दुईमत छैन । 

नेफ्स्कूनले राज्यमा प्रचलित ऐन नियमावली निर्देशन तथा सहकारी सिद्धान्त मुल्य मान्यता बमोजिम सदस्य संस्थाहरुको ईच्छा बमोजिम नीति बिधि र प्रविधिलाई आत्मासाथ गर्दै कार्य गर्न सघाईरहेको छ । आवद्ध सदस्य संघ संस्थाहरुलाई स्तरीकरणका लागि एक्सेस, प्रोबेसन, कब्र्स, सियुलेग जस्ता कार्यक्रम ञ्चालन गरी बिभिन्न सुचकांकहरुको परिधिमा संस्था सञ्चालन गर्नको लागि मार्गनिर्देशन गरिरहेको छ । यी स्तरीकरण कार्यक्रमहरु प्रारम्भिक संस्था, प्रारम्भिक संस्थामा आवद्ध शेयर सदस्य लगायत संघहरुको लागि अति उपयुक्त सावित भएको छ र निरन्तर रुपमा हुँदैछ । स्तरीकरण कार्यक्रम अन्तर्गत भएका विभिन्न सुचकांकहरुले साकोसलाई सबल र दिर्घकालिन रुपमा सञ्चालन गर्नको लागि मार्गनिर्देश गरेको छ । यस्ता कार्यक्रमका सुचकांकहरुले साकोसको स्वास्थ्य अवस्थाको जानकारी गराउनको लागि विभिन्न टेष्ट गर्ने विधिहरुको विकास गरेको छ । साकोसमा सम्पत्ति, दायित्व, आम्दानी र खर्चको अवस्था र सहसम्बन्धको बारेमा बिश्लेषण गर्नको लागि यस्ता कार्यक्रमका सुचकांकहरुले मार्गनिर्देशन गरिरहेकोछ । कहीँकहीँ यति महत्वपुर्ण कार्यक्रमहरुलाई फरक ढंगबाट बुझ्न खोजिएको पाईन्छ । यसरी फरक ढंगबाट बुझ्न प्रयास गरिएको स्थानहरुमा समस्या झेल्नु परेपछि मात्र यस्ता कार्यक्रमको महत्व प्रस्टिएको पाईन्छ तर बुझ्न ढिला भएको महसुस गरेको देखिन्छ । वास्तवमै साकोसभित्र विधि बसेपछि मात्र यस प्रकारका स्तरीकरण कार्यक्रमको बास्तविक महत्व महसुस हुन्छ । 

नेफ्स्कूनले भर्खरै स्थिरीकरण कोषको पनि सुरुवात गरेको छ । यसले साकोसहरुलाई वित्तीय संकटको बेलामा सहयोग गर्ने उद्देश्य राखेको छ । प्रारम्भिक अवस्था भएकोले यस बाट प्राप्त गर्ने सुविधा महसुस गर्न नपाएको अवस्थामा विभिन्न आँकलन गरिन्छ तर यस बाट सुविधा प्राप्त गर्न थालेपछि विभिन्न आँकलनको उत्तर सेवाग्राही बाट आउन थाल्नेछ । 

जसरी आफ्ना अभिभावकले आफ्ना सन्ततिलाई स्याहार सुसार गर्ने, शिक्षा प्रदान गर्ने, मनोचिकित्सकको काम गर्ने, मनोवैज्ञानिक एवं व्यवहारिक ढंगबाट ख्याल गर्ने, निरिक्षण गर्ने गर्दछन् त्यसरी नै साकोस अभियानको अभिभावक नेफ्स्कूनले आफ्ना सदस्य संघसंस्थाहरुलाई विभिन्न बिषयको ज्ञान दिने, केही सुधारात्मक कुरा भएमा सुधार गर्न लगाउने, के के गरेको छ भनि निरीक्षण गर्ने र मार्गनिर्देशन गर्ने, मनोवैज्ञानिक रुपमा उत्प्रेरणाको आवश्यकता देखिएमा सोही तरिकाबाट उत्प्रेरणा प्रदान गर्ने एवं मनोचिकित्सकको रुपमा कार्य गर्ने गरेको पाइन्छ । हामी साकोस अभियानका प्रोफेसनल तरिकाबाट कार्य गर्नेहरुलाई यस प्रकारको कार्य हेर्दा साँच्चै नै असल अभिभावक पाएको महसुस भइरहेको छ । 

साकोस अभियानमा आवद्ध प्रारम्भिक संस्था र बिषयगत संघहरुलाई नेफ्स्कूनले पूर्ण ख्याल गरेको पाइएको छ । पूर्ण ख्यालको क्रममा सुरक्षा प्रदान गर्दै असल ब्यवस्थापनमा मुख्य भूमिका निर्वाह गरेको पाईन्छ । नेफ्स्कूनले आवद्ध संघसंस्थाहरुलाई आवश्यक तालिमको प्रबन्ध गरिरहेको छ भने आवश्यक पुस्तक तथा सामग्रीहरु समेत उपलब्ध गराउँदै आएको छ । जसरी हामी मानिसको अभिभावकले आफ्ना सन्ततिलाई हुर्काइबढाई गरेपछि पेशामा आवद्ध गराई ब्यवसायिक बन्न उत्प्रेरणा दिनुहुन्छ त्यसरी नै नेफ्स्कूनले पनि आवद्ध संघ संस्थाहरुलाई पेशामा लाग्न तथा ब्यवसायिक बनी आत्मनिर्भर बन्न उत्प्रेरणा दिइरहनुभएको छ ।

साकोस अभियानमा लागेका बचत तथा ऋण सहकारी संस्थाहरुलाई नेफ्स्कूनले राज्यभित्र विभिन्न जिल्लामा भएका असल अभ्यास हरुलाई आदान प्रदान गर्ने बिभिन्न प्लेटफर्महरुको ब्यवस्थापन गर्ने गरेको छ । स्तरीकरण कार्यक्रम अन्तर्गत एक्सेस प्रोवेसन कब्र्समार्फत् पनि विभिन्न स्थानमा भएका सहकारी संस्थाहरु भेला गराई पाल्म वर्कसपको माध्यमबाट धेरै असल अभ्यासहरु आदानप्रदान गराइरहेको छ । एक स्थानको साकोसलाई अर्को स्थानको साकोसहरुको अध्ययन गराई असल अभ्यास भित्राउनको लागि समेत नेफ्स्कूनको बिशेष भूमिका पाएका छौं । त्यसैगरी बेलाबेलामा साकोस अभियानका विभिन्न कार्यक्रमहरु गरी शिक्षा प्रदान गरिरहेको छ । राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा प्रयोगमा आएका विभिन्न असल अभ्यासहरुलाई भित्राउन समेत नेफ्स्कूनको अहम् भूमिका रहेको छ । नेफ्स्कून आवद्ध रहेको अकु, आकु का विभिन्न कार्यक्रमहरुमा नेपालका विभिन्न बचत तथा ऋण सहकारी संघ संस्थाका प्रतिनिधिहरु सहभागी भई अन्तर्राष्ट्रिय स्तरको सहकारी क्षेत्रमा प्रयोग भएका असल अभ्यास तथा प्रविधियुक्त सेवा नेपालमा भित्राउन सहज र सफल भइरहेको अवस्था छ । यस प्रकारको असल अभ्यास आदानप्रदान कार्यक्रममा नियमनकारी निकायहरुलाई समेत सहभागी हुन अनुरोध गरी नीतिगत कुरामा समेत परिवर्तन गराउनमा नेफ्स्कूनको अहम् भूमिका महसुस गरिएको छ । यसरी हेर्दा नेफ्स्कूनले नेपालको सहकारी अभियान र अन्तर्राष्ट्रिय असल अभ्यास भित्राउन पुलको काम गरिरहेको छ ।

नेफ्स्कूनले वार्षिक रुपमा विभिन्न विधामा सम्मान तथा पुरस्कारको कार्यक्रम राखि साकोस अभियानकर्मीहरुलाई प्रभावकारी ढंगबाट काम गर्नको लागि थप उत्प्रेरित बनाइरहेको पाएका छौं । यसको प्रभावले साकोस अभियान धेरै सकरात्मक ढंगबाट अगाडि बढिरहेको छ । नेफ्स्कूनले आफ्नो सदस्य संघसंस्थाहरुमा आवद्ध मानव संशाधन तथा प्रारम्भिक साकोसका सदस्यहरुलाई तालीमको लागि दक्ष मानव संशाधनको ब्यवस्थापन गरेको छ । यो पनि एक सकरात्मक बिषयको रुपमा लिन सकिन्छ । प्रारम्भिक साकोसहरुमा सञ्चालक समितिमा जानु पूर्वको तालिमको लागि प्रशिक्षकको ब्यवस्थापन गर्ने गरेको छ । यस बाट साकोसको भावि नेतृत्व बिकासको लागि महत्वपुर्ण भूमिका निर्वाह गरेको पाईन्छ। प्रारम्भीक संस्था लगायत आवद्ध संघका सञ्चालक समितिहरुको लागि फिट एण्ड प्रपर टेष्टको अवधारणा नेफ्स्कूनले बिकास गरेको पाईन्छ । यो अति नै उपयोगी र नेफ्स्कूनमा आवद्ध हुने तथा हुन बाँकी सबै साकोसहरुको लागि महत्वपुर्ण बिषय रहेको छ । यसलाई हामी जो कोहीले कम महत्व दिएको अवस्थामा भविष्यमा पछुताउनुपर्ने दिन आउन सक्नेछ । 

हाम्रो अभिभावक संघ नेपाल बचत तथा ऋण केन्द्रीय संघ लि. (नेफ्स्कून)को ३५औं स्थापना दिवस मनाउन गईरहेको छ । आफ्नो अभिभावकको स्थापना दिवसको सुवर्ण अवसरमा आवद्ध संघसंस्था र त्यसमा आवद्ध मानव संशाधन तथा सदस्यहरुले केही आशा राख्नु अनर्थ नहोला । हाम्रो अभिभावकले आगामी दिनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विकास भएका वित्तीय क्षेत्रका विविध सुविधाहरु आवद्ध संघ संस्थालाई दिन सक्नुप¥यो र आवद्ध संघ तथा संस्थाहरुलाई पनि आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय, भरपर्दो, दिगो र प्रविधियुक्त सेवा दिन सक्ने बनाउनु प¥यो । नेफ्स्कूनमा आवद्ध संघसंस्थाहरु सबै स्तरीकरण कार्यक्रममा जाने गरी रणनीतिक योजना बनाउनु प¥यो र आफै पनि जानुप¥यो । राज्यमा सञ्चालित सबै साकोसहरुलाई शिक्षाको माध्यमद्वारा नेफ्स्कूनमा आवद्ध हुन योग्य बनाएर मात्र सदस्य बनाउनुप¥यो र सदस्य भएका तथा योग्यता विकास गरी सदस्य बन्ने संस्थाहरुलाई वित्तीय रुपमा पुर्ण सक्षम र सहकारी सिद्धान्त मुल्य मान्यता राज्यमा प्रचलीत ऐन कानुन निर्देशनमा मात्र चल्ने गरी नियन्त्रणको घेरा विकास गर्नुप¥यो । प्रविधिको क्षेत्रमा एकै छानामुनि सबै काम भएको देख्न पाउनुप¥यो र सदस्य संघ संस्थाले प्रयोग गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा सुविधा दिने वातावरण बन्नु प¥यो । अस्वस्थ्य प्रतिस्पर्धा गर्ने सदस्य संघ संस्थाहरुलाई नियमन गरी ऐन नियमावली निर्देशन सहकारी सिद्धान्त मुल्यमान्यता भित्र ल्याउनुप¥यो । सबै सदस्य संघ संस्थाहरुलाई स्तरीकरण कार्यक्रमको सुचकांकको आधारमा मुल्यांकन गरी नियमनको घेराभित्र राख्नु प¥यो र आफुपनि बस्नुप¥यो । आवद्ध संघ संस्थाहरुको सञ्चालक समितिमा जानु पूर्व फिट एण्ड प्रपर टेष्ट सहित तालिमको अवधारणा कार्यान्वयन गर्नु गराउनु प¥यो । आवद्ध संघहरुमा स्तरीकरण कार्यक्रममा सहभागि भई ब्राण्ड प्राप्त गरेको संस्थाको प्रतिनिधित्वको लागि केही सुरक्षित कोटाको ब्यवस्था गर्नु गराउनु प¥यो । 

राज्यको सहकारी ऐन नियमावलीमा ब्यवस्था भएको कर्जा सूचना केन्द्र स्थापना, कर्जा असुली न्यायधिकरणको स्थापनाको लागि दत्तचित्त भई सफलता प्राप्त नगरुन्जेल सम्म लागि परेर स्थापना गर्न लगाउनु प¥यो । राज्यमा भएको कुल सहकारी मध्ये बचत तथा ऋण सहकारी संस्थाहरु बढी भएकोले नियमन गर्नको लागि सहज बनाउन साकोस ऐनको लागि सम्बन्धित निकायमा बहस पैरवी गर्नुप¥यो र बचत तथा ऋणको कारोवार गर्ने सहकारीहरुलाई नियमन गर्नको लागि कि त सहकारी विभाग अन्तर्गत छुट्टै शाखा बनाई ७७ वटै जिल्लालाई हेर्न पुग्ने गरी सिएहरुको ब्यवस्था गर्नुप¥यो कित नेपाल राष्ट्र बैंक बाट तोकिएको भन्दा बढी वासलात र क्षमता बिकास गरेका सहकारी संस्थाहरुलाई नियमन गर्ने ब्यवस्था यथासिघ्र मिलाउनु प¥यो । बचत तथा ऋणको ब्याज बजारले निर्धारण गर्ने तथा कष्ट अफ फण्ड र बेस रेटको आधारमा गर्नुपर्ने हुनाले ऐन संशोधन गरी यस्तै कुराको ब्यवस्था गर्नको लागि बहस पैरवी गर्नु प¥यो । पल्र्सका निश्चित सुचकांकहरुको परिधिमा चल्न नसक्ने साकोसलाई संख्यात्मक रुपमा नराख्नको लागि कित एकीकरण कीत खारेजी गराउन सिफारिस गर्न सक्ने अधिकार प्राप्तिको लागि बहस पैरवी गर्नुप¥यो । सहकारी अभियानमा सहकारी संस्थाको अभिलेखमा केही थप ब्यवस्थापन गर्नुपर्ने महसुस गरिएको छ । कम्तीमा साकोसहरुको पूर्ण अभिलेख व्यवस्थापन गर्न राज्यलाई सहयोग गरी यथासीघ्र पूर्ण अभिलेखको अवस्थामा लैजानुप¥यो । अभिभावक संघ नेफ्स्कूनको ३५ औं स्थापना दिवसको पूर्वसन्ध्यामा स्थापना दिवस तथा अभिभावकले लिएको लक्ष्यहरुको पूर्ण सफलताको कामना गर्दै आवद्ध संघसंस्था तथा प्रारम्भिक संस्थामा आवद्ध शेयर सदस्यहरुका प्रतिनिधि चाहनाहरु पुरा हुनेछन् भन्ने आशा ब्यक्त गर्दछु । 

(न्यौपाने मिलीजुली साकोस, दोलखाका सिइओ हुन् ।)