काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नुवाकोट, रसुवा र धादिङका विभिन्न सहकारी संस्था प्रभावित भएपछि तिनको पुनःस्थापना तथा पुनःसञ्चालनका लागि सहकारी अभियानमार्फत सहयोग गर्न अपिल गरिएको छ।
बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेद्वारा अपिल जारी गर्दै भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट तीन जिल्लामा जनधनको ठूलो क्षति भएको भन्दै सम्बन्धित सहकारी अभियानले दुःख व्यक्त गरेको छ। बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै विपद्को समयमा सहयोग गर्ने सबै संघसंस्था तथा निकायलाई धन्यवादसमेत दिइएको छ।
बाढीबाट नुवाकोट, रसुवा र धादिङका विभिन्न सहकारी संस्थाहरू पूर्ण रूपमा क्षतिग्रस्त भई कार्यालय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको अपिलमा उल्लेख छ। ती संस्थाहरूको दैनिक कार्य सञ्चालन तत्काल सुरु गर्न आवश्यक सामग्री वा सो बराबरको रकम सहयोग गर्न देशभरका सहकारी संघसंस्था, सहकारी अभियन्ता, सहकारीकर्मी, सफ्टवेयर कम्पनी तथा अन्य सरोकारवालालाई आग्रह गरिएको छ।
क्षतिग्रस्त सहकारी संस्थाहरूको पुनःस्थापना तथा पुनःसञ्चालनलाई तत्काल प्राथमिकता दिँदै प्रत्येक संस्थाका लागि आवश्यक पर्ने सामग्रीको सूचीसमेत सार्वजनिक गरिएको छ। जसअनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, प्रिन्टर, टेबल, कुर्सी र दराज आवश्यक रहेको जनाइएको छ।
अपिलअनुसार नुवाकोटमा मात्रै १४ वटा सहकारी संस्था बाढीबाट क्षतिग्रस्त भएका छन्। तीमध्ये साँघुबहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, त्रिशूली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दक्षिणकाली बचत तथा सहकारी संस्था लिमिटेड, कुल भक्तेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मातृभूमि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, माता मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हाम्रो सहकारी संस्था लिमिटेड, शुभकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, उत्तरगया बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जाल्पादेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विकासशील कृषि सहकारी संस्था लिमिटेड र नवदीप कृषि सहकारी संस्था लिमिटेड रहेका छन्।
त्यसैगरी रसुवामा बेत्रावती कृषि सहकारी संस्था लिमिटेड, उत्तरगया कृषि सहकारी संस्था लिमिटेड र रुद्रगंगा कृषि सहकारी संस्था लिमिटेड गरी तीन संस्था क्षतिग्रस्त भएको उल्लेख छ। त्यसैगरी, धादिङमा स्वाभिमान बचत तथा ऋण संस्था लिमिटेड र कृषक सुधार तरकारी तथा फलफूल सहकारी संस्था लिमिटेड बाढीबाट प्रभावित भएको अपिलमा जनाइएको छ।
विपद्का कारण कार्यालय, उपकरण तथा दैनिक सञ्चालनका आधारभूत सामग्री गुमाएका सहकारीलाई पुनः सञ्चालनमा ल्याउन सहयोग जुटाउने उद्देश्यले अपिल जारी गरिएको हो। सहयोग गर्ने व्यक्ति, संघसंस्था तथा निकायको विवरण सम्बन्धित निकायमा अभिलेख राखिने जनाइएको छ।
देश तथा विदेशबाट खाद्यान्न, लत्ताकपडा, औषधोपचार लगायत अत्यावश्यक सामग्री उपलब्ध गराई सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै सहकारी अभियानले अब क्षतिग्रस्त सहकारी संस्थाहरूको पुनःस्थापना र नियमित सेवा प्रवाहका लागि सहयोग केन्द्रित गर्न आग्रह गरेको छ।
नेपालपत्र संवाददाता