ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले सहकारी क्षेत्रको बदलिँदो अवस्था, चुनौती र सम्भावनाबारे गहन छलफल तथा अनुभव आदानप्रदानका लागि ‘पाँचौँ ललितपुर साकोस समिट–२०८३’ आयोजना गर्न लागेका छौं। पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका वित्तीय समस्या, संस्थागत सुशासनको प्रश्न, नियामकीय परिवर्तन, प्रविधिको तीव्र विकास तथा सदस्य र सर्वसाधारणको विश्वास कायम राख्नुपर्ने चुनौतीलाई ध्यानमा राख्दै समिट आयोजना गर्न लागिएको हो । संघको ‘समृद्ध साकोस, दिगो संघ’ भन्ने परिकल्पनाअनुसार समिटलाई सहकारी संस्थाको संस्थागत क्षमता, नेतृत्व र व्यवस्थापकीय दक्षता विकास गर्ने साझा मञ्चका रूपमा अघि बढाउन खोजिएको छ।
समिटमा सहकारी क्षेत्रसँग प्रत्यक्ष जोडिएका समसामयिक विषयमा विज्ञ तथा सरोकारवालाबीच छलफल र प्रस्तुति हुनेछन्। कार्यक्रममा सहकारी क्षेत्रको बदलिँदो कानुनी परिदृश्य, अवसर, चुनौती र आगामी कार्यदिशा, मानव संसाधनलाई मानव पुँजीमा रूपान्तरण गर्दै सक्षम साकोसका लागि आवश्यक नेतृत्व रणनीति, बचत तथा ऋण सहकारीमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा त्यससँग जोडिएको प्रविधि जोखिम व्यवस्थापन र नियमनबाट सुशासनतर्फ अघि बढ्दै सहकारीको सकारात्मक छवि निर्माण जस्ता विषय समेटिएका छन् । त्यसैगरी, विद्यमान सहकारी संकटका प्रमुख कारण तथा संकट समाधानका प्रयास र सहकारीप्रतिको जनविश्वास पुनर्जीवन, भाखा नाघेको ऋण असुलीमा कर्जा असुली न्यायाधिकरणको भूमिका तथा कानुनी पक्ष र सकारात्मक सोचसहितको सहकारी नेतृत्व तथा व्यक्तित्व विकासजस्ता विषय साकोस समिटमा समेटिएका छन्। यसले पछिल्लो समय सहकारी संस्थाले सामना गरिरहेका कानुनी, वित्तीय, प्राविधिक, व्यवस्थापकीय र नेतृत्वसम्बन्धी चुनौतीलाई एउटै मञ्चबाट सम्बोधन गर्ने प्रयास गर्नेछ।
समिटको मुख्य उद्देश्य कानुनी तथा नीतिगत स्पष्टता, संस्थागत सुशासन र वित्तीय जोखिम व्यवस्थापनमार्फत सहकारी संस्थालाई थप सक्षम र विश्वसनीय बनाउनु रहेको छ। परिवर्तित कानुनी तथा नियामकीय व्यवस्था बुझ्न र त्यसको प्रभावकारी कार्यान्वयनमार्फत सम्भावित कानुनी जोखिम घटाउन, संस्थाभित्र पारदर्शिता, जवाफदेहिता र सुशासनको संस्कृति विकास गर्न तथा खराब कर्जा र भाखा नाघेको ऋण असुलीलाई प्रभावकारी बनाउन समिटले सघाउनेछ। साथै, सहकारी क्षेत्रमा देखिएको संकटका कारण कमजोर भएको सदस्य तथा सर्वसाधारणको विश्वास पुनःस्थापित गर्न संस्थाको छवि सुधार, सक्षम नेतृत्व विकास र प्रविधिको सुरक्षित तथा प्रभावकारी प्रयोगमा समेत समिटले मार्गदर्शन गर्ने विश्वास लिइएको गरिएको छ। यस अर्थमा समिट केवल छलफलको कार्यक्रम नभई सहकारी संस्थालाई बदलिँदो कानुनी, आर्थिक र प्रविधिक परिवेशअनुकूल रूपान्तरण गर्दै दिगो, प्रतिस्पर्धी, सुशासित र सदस्यप्रति उत्तरदायी बनाउने कार्यदिशा तय गर्ने मञ्चका रूपमा स्थापित हुनेछ ।
संघले सहकारी क्षेत्रमा देखिएको निराशाजनक वातावरणलाई चिर्दै सहकारीकर्मीको मनोबल बढाउने उद्देश्यले मुलकको विषम परिस्थितिका बीचमा ‘पाँचौँ ललितपुर साकोस समिट–२०८३’ आयोजना गर्न लागेको हो। समिटमा बढीमा २०० जनालाई सहभागी गराइनेछ। संघमा ४०० भन्दा बढी सदस्य संस्था आबद्ध छन् । संस्थाहरूबाट दुई–तीन जनासम्मको सहभागिता हुन सक्नेछन् । सहभागिताका लागि दर्ता गर्ने समय कम रहेकाले इच्छुक संस्थालाई यथाशीघ्र संघको कार्यालयमा सम्पर्क गरी नाम दर्ता गराउन आग्रह गर्दछु ।
समिटमा सहकारी क्षेत्रसँग सम्बन्धित विषय मात्र नभइ वित्तीय क्षेत्रसँग जोडिएका व्यक्तिहरूले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । सहकारी क्षेत्र बचत तथा ऋण कारोबारमा मात्र सीमित नभई सामाजिक, औद्योगिक तथा वित्तीय क्षेत्रसँग समेत प्रत्यक्ष जोडिएकाले विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालालाई वक्ताका रूपमा समेटिएको छ । नेपाल राष्ट्र बैंकबाट समेत प्रस्तुतिका लागि निमन्त्रणा गरिएको छ । त्यसैगरी, भाखा नाघेको कर्जा असुलीका विषयमा जानकारी गराउन कर्जा असुली न्यायाधिकरणबाट स्रोत व्यक्तिको सहभागिता रहनेछ। त्यस्तै, वित्तीय क्षेत्रमा सकारात्मक सोच र ऊर्जा प्रदान गर्ने विषयमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले प्रस्तुति दिनुहुनेछ ।
स्थानीय तहका सहकारी नियमनसँग सम्बन्धित व्यक्तित्वलाई समेत रूपमा समेटिनेछ। ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका लगायत अन्य स्थानीय तहका सहकारी शाखा तथा सहकारी विभागसँग सम्बन्धित प्रतिनिधिहरूको सहभागितामा रहनेछ । जसले गर्दा सहकारी क्षेत्रमा देखिएका समस्या, स्थानीय तहको भूमिका र नियमनसम्बन्धी जिज्ञासामाथि प्रत्यक्ष छलफल तथा अन्तर्क्रिया हुनेछ। यसले सहकारी संस्था र नियामक निकायबीच प्रत्यक्ष संवादको वातावरण निर्माण भइ निकास दिने अपेक्षा गरिएको छ।
समिटमा सञ्चालक समिति, व्यवस्थापन तथा कर्मचारीमध्ये सहकारीको दैनिक कामकारबाहीमा सक्रिय व्यक्तिहरूको सहभागितालाई प्राथमिकता दिइएको छ। सहकारी संस्थाका सबै सञ्चालक सक्रिय रूपमा संस्थाको दैनिक गतिविधिमा संलग्न नहुने भएकाले संस्थामा प्रभावकारी भूमिका निर्वाह गरिरहेका सञ्चालक तथा व्यवस्थापनका कर्मचारीलाई सहभागी गराउँदा समिटबाट प्राप्त ज्ञान र सिकाइ संस्थामा कार्यान्वयन गर्न सघाउ पुग्नेछ । समिट बचत तथा ऋण सहकारीमा मात्र सीमित नभई ललितपुरमा रहेका बहुउद्देश्यीय, कृषि लगायत सबै प्रकारका सहकारी संस्थाका लागि उपयोगी हुनेछ।
यसपटक सहकारी क्षेत्रमा देखिएको आर्थिक तथा संस्थागत कठिनाइलाई ध्यानमा राख्दै समिटलाई विगतको तुलनामा मितव्ययी बनाइएको छ। विगतमा काठमाडौं बाहिर दुई–तीन दिनसम्म आवासीय रूपमा समिट आयोजना गर्दा प्रतिव्यक्ति १० हजार रुपैयाँभन्दा बढी शुल्क लाग्ने गरेकोमा यसपटक ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा दुई दिनको दिवा कार्यक्रम आयोजना गरिँदैछ। बिहान करिब ८ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुने समिटको सहभागिता शुल्क प्रतिव्यक्ति पाँच हजार रुपैयाँ तोकिएको छ। वास्तविक लागत पाँच हजार रुपैयाँभन्दा बढी भए पनि संघसँग रहेका शिक्षा तथा तालिम लगायतका कोषसमेत परिचालन गरी सहभागिता शुल्क न्यून गरिएको हो।
गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित सहकारी संस्था र सदस्यका विषयलाई पनि संघले गम्भीरतापूर्वक लिएको छ। समिटको पूर्वयोजना बाढीको घटना हुनुअघि नै बनिसकेको भए पनि देशमा आएको विपत्तिपछि कार्यक्रम गर्ने वा नगर्ने विषयमा समेत संघभित्र छलफल भएको थियो। विपत्तिका कारण देश शोकमा रहेका बेला तडकभडकपूर्ण कार्यक्रम गर्नुको सट्टा संकटका बीच पनि सकारात्मक रूपमा अघि बढ्नुपर्ने निष्कर्षसहित समिटलाई सामान्य र मितव्ययी ढंगले आयोजना गर्ने निष्कर्षका साथ समिटलाइ अघि बढाएका आधारित हौं।
बाढीबाट नुवाकोट लगायतका जिल्लामा रहेका सहकारी संस्था तथा सदस्यहरू समेत प्रभावित भएकाले प्रभावित सहकारीको राहत तथा पुनःस्थापनामा सहयोग गर्ने विषयमा सम्बन्धित जिल्ला बचत तथा ऋण सहकारी संघहरूसँग छलफल भइरहेको छ। एउटा सहकारी संस्थामाथि परेको पीडालाई अर्को सहकारीले पनि आफ्नो पीडाका रूपमा लिनुपर्ने सहकारीको भावनाअनुसार बागमती प्रदेशका जिल्ला बचत तथा ऋण सहकारी संघ तथा अन्य जिल्लागत संघहरूसँग समन्वय गरी राहत तथा सहयोगका कार्यक्रम अघि बढाउने तयारी गरिएको छ।
संघले समिटलाई केवल ज्ञान र अनुभव आदानप्रदान गर्ने कार्यक्रमका रूपमा नभई अहिलेको कठिन परिस्थितिमा सहकारीकर्मी र कर्मचारीको मनोबल बढाउने तथा सहकारी क्षेत्रमा सकारात्मक वातावरण निर्माण गर्ने अभियानका रूपमा अघि बढाउन खोजेका हौं । त्यसैले सहकारी संस्थाहरूले आफ्ना सक्रिय सञ्चालक, व्यवस्थापक तथा कर्मचारीलाई सहभागी गराई समिटबाट प्राप्त ज्ञान, सकारात्मक सोच र सिकाइलाई संस्थाको कार्यसम्पादनमा प्रयोग गर्न म सबैमा आग्रह गर्दछु ।
—कुराकानीमा आधारित—
नेपालपत्र संवाददाता