शनिबार, आश्विन १७ गते २०८३

‘नेपाली बृहत् शब्दकोश’ मोबाइल एप प्रतिष्ठानको उपलब्धी: मन्त्री आले

आषाढ ९, २०७९ बिहीबार
‘नेपाली बृहत् शब्दकोश’ मोबाइल एप प्रतिष्ठानको उपलब्धी: मन्त्री आले

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाली बृहत् शब्दकोश’ को मोबाइल एप निर्माण भएपछि विश्वभरका नेपाली भाषा प्रयोग कर्ताहरुलाई सहज र सजिलो भएको बताएका छन् । 

आज नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ६४ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री आलेले ‘नेपाली बृहत् शब्दकोश’ को मोबाइल एप निर्माण तथा ‘तस्बिरमा नेपाल’ जस्तो कृति प्रकाशन भएपछि स्वदेशी र विदेशी सबै नागरिकलाई नेपाल देखाउन र नेपाल चिनाउन सजिलो भएको जनाए । 

मन्त्री आलेले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र जस्ता कार्यक्षेत्र बोकेको नेपाल प्रज्ञा–प्रतिष्ठानका लागि बजेट न्यून रहेको भन्दै गुनासो गरे । “ भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रको कार्यक्षेत्र भएको संस्थामा बजेट न्यून हुन दुःखको कुरो, यस प्रतिष्ठानमा प्रयाप्त मात्रमा बजेट विनियोजन गर्नु पर्छ ।” उनले भने । 

महाकवि देवकोटा सङ्ग्रहालय निर्माण कार्य अन्तिम चरणमा पुुगेको र सम्भवतः केही महिनाभित्रैमा त्यसको समुद्घाटन हुने आफुले खबर पाएको मन्त्री आलेले जानकारी दिए । 

एक लाख पचास हजार शब्दको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’, पाँच हजारभन्दा बढी लेखक तथा साहित्यकारहरूको परिचय समेटिएको ‘लेखक साहित्यकार परिचयकोश’, नेपालभित्रका सम्पूर्ण सांस्कृतिक शब्दहरूको अर्थ र प्रयोग सन्दर्भसमेत समेटिएको ‘सनातन संस्कृतिकोश’, नेपाली भूमिमा प्रवर्तन भएका पचासभन्दा बढी दर्शनहरु समेटिएको ‘नेपाली दर्शन’, सम्पूर्ण नेपाली लोकजीवनलाई समेटेर तयार गरिएको ‘लोकवार्ताकोश’ जस्ता ऐतिहासिक महत्त्व राख्ने बृहत् ग्रन्थहरू प्रतिष्ठानले प्रकाशित गर्दैछ ।