शनिबार, आश्विन १७ गते २०८३

संसदीय समितिले लगायो सुन्दरी प्रतियोगितामा रोक, स्पष्ट कानुन बनेपछि मात्र गर्न पाइने

जेठ ९, २०७९ सोमबार
संसदीय समितिले लगायो सुन्दरी प्रतियोगितामा रोक, स्पष्ट कानुन बनेपछि मात्र गर्न पाइने

 

विभिन्न खाले सौन्दर्य प्रतियोगिताका नाममा सञ्चालित प्रतिस्पर्धामा महिला तथा किशोरीहरुको शोषण हुने गरेका घटना सार्वजनिक भएपछि संसदीय समितिले सौन्दर्य प्रतियोगिता, मोडलिङ जस्ता विभिन्न प्रतियोगिता कानून बनाएरमात्र सञ्चालन गर्न निर्देशन दिएको छ । सुन्दरी प्रतियोगिता तथा मोडलिङका नाममा किशोरीमाथि यौन हिंसा हुने गरेको भन्दै प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।

मनोरञ्जन क्षेत्रमा संलग्न विविध वर्ग र प्रवर्ग जस्तै उमेर, जात, योग्यतामा आधारित कुनै पनि प्रकारका सौन्दर्य प्रतिस्पर्धात्मक कार्यक्रम सम्बन्धमा विस्तृत छलफल गरी शीघ्र नीतिगत स्पष्टता कायम गराएरमात्र सञ्चालन गर्न समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको समितिका एक सदस्यले जनाएकी हुन् । 

समितिले यौन हिंसा, बलात्कार तथा यौन दुर्व्यवहारको घटना भएको थाहा पाएर पनि सम्बन्धित निकायमा उजुरी नदिने, उजुरी दिन दुरुत्साहन गर्ने, पीडकलाई लुकाउने, संरक्षण दिने व्यक्ति अपराधका मतियार भएको जनाएको छ । ती मतियारले घटना बढाउनका लागि वा घटना भइसकेपछि पीडितलाई न्याय नदिन, वा न्यायको पहुँचमा बाधा अड्चन पुर्‍याउन सहयोग गर्ने भएकाले यस्ता मतियारलाई प्रचलित कानूनबमोजिम कानूनी कारबाहीको दायरामा ल्याउन पनि समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका सचिवको उपस्थितिमा बसेको बैठकले त्यसखालका प्रतियोगिता नीतिगत स्पष्टता कायम गरेर मात्र गर्न दिन सरकारलाई निर्देशन दिएको छ।