राज्यको सर्वप्रथम मौलिक उद्देश्य न्याय स्थापना हो; न्यायको मर्यादा नभएको राज्यमा त्यस राज्यको आदर्श स्खलित भएर जान्छ; त्यसपछि आदर्शविहिन राज्यको एकएक गरेर संस्थाहरू र विभागहरू भ्रष्ट हुँदैजान्छन् : जननायक बीपी कोइराला
नेपालको राजनीतिमा जननायक विश्वेश्वरप्रसाद कोइराला (वि.स. १९७१–२०३९) जति राष्ट्रिय–अन्तर्राष्ट्रिय जगतमा उच्च व्यक्तित्व भएको राजनेता आजसम्म कोही देखिएको छैन । नेपाली साहित्यमा पनि उहाँको लोकप्रिय तथा प्रभावशाली व्यक्तित्व स्थापित छ । आज भाद्र २४ गते उहाँको ११३औं जन्मजयन्ती हो ।
२०३४ सालमा क्यान्सरको उपचार गरी अमेरिकाबाट स्वदेश फर्किने क्रममा भारतको पटनामा, उहाँको सम्मानमा भएको भव्य नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै भारतीय सर्वोदय नेता जयप्रकाश नारायणले भनेका थिए, “बीपी इतने महान् हैँ कि एक छोटे देश नेपाल में अंट नहीँ पा रहे हैँ ।” राष्ट्रियता, प्रजातन्त्र र समाजवाद प्राप्तिको लागि नेपाली काँग्रेसको स्थापना र त्यसको ४ वर्षभित्रैमा २००७ को जनक्रान्ति सम्पन्न गरी नयाँ नेपालको स्थापना गर्ने युगान्तकारी कार्यका लागि मात्र होइन, नेपाललाई प्रजातान्त्रिक ढाँचामा विकसित गर्न र काँग्रेसलाई सिद्धान्त, प्रजातान्त्रिक संस्कार र राष्ट्रियताले ओतप्रोत गराउनमा, साथै क्रान्तिकारी विचारले सुसज्जित बनाउनमा आफ्नो सम्पूर्ण जीवन लगाउने काँग्रेसका नेताहरूमा बीपी अग्रपंक्तिमा हुनुहुन्थ्यो ।
बीपीका बिरूद्ध अनर्गल प्रचारवाजी गर्ने नियोजित षड्यन्त्र अझै पनि रोकिएको छैन । उहाँलाई भारतपरस्त देखाउन अनेक क्षुद्र प्रयास भइरहेका छन् । बीपी भारतपरस्त भएको भए उहाँले नेतृत्व गरेको दुईतिहाई बहुमतको सरकार २०१७ सालमा कसरी डेढ वर्षमै भङ्ग भयो ? भन्ने प्रश्नको जवाफ त्यस्ता दुष्प्रचारकहरूसँग छैन ।
उहाँकै प्रधानन्त्रीत्वमा नेपाल–चीन सीमा सुल्झिएको र सगरमाथामा नेपालको स्वामित्व कायम भएको हो । नत्र त कम्युनिष्ट नेता र प्रतिनिधिहरू सगरमाथा नेपालको हो भन्ने हिम्मत पनि गरिरहेका थिएनन् भन्ने प्रामाणिक उदाहरण २०१६ चैत्र २९ गते तत्कालिन संसदको माथिल्लो सभा (महासभा) मा बोल्दै कम्युनिस्ट सांसद शम्भुराम श्रेष्ठले भनेका थिए, “सगरमाथा हाम्रै हो भनी ठोकेर भन्न सक्दिन । दुबै सरकारको आपसी छलफलबाट जसको प्रमाण बलियो निस्कन्छ त्यसैको हो” (राजनीतिक दर्पण, दोस्रो भाग, २०३६ को आवृत्ति, पृ. ४०७) ।
विगतमा नेपाली काँग्रेसले नै बीपीको नाम र व्यक्तित्वलाई सबभन्दा बढी भजाएर उहाँले प्रतिपादन गरेका नीति, मूल्य र मान्यताहरु बिस्मयकारी रुपले बिसर्जनमा पुर्याएको थियो । बीपीले स्थापना र नेतृत्व दिएको पार्टीमा उहाँकै छोराले आफ्नो भूमिकालाई विवादास्पद, गैरजिम्मेवार भएर छोरा हुनुको निरर्थकता देखाईरहेका छन् । यिनले त बाबुको नाकै काटे । यस्तोमा वर्षमा एकपटक पूण्य स्मृतिमा उहाँको फोटोमा माल्यार्पण गरेर के हुन्छ ? डा. शशांकको अध्यक्षतामा साउन ६ गते कांग्रेसको फुटपरस्त एउटा झुन्डले गरेको बीपी पूण्यस्मृतिमा कार्यक्रमको सबैजसो समय आधिकारिक कांग्रेसका सभापति बिरुद्ध विषबमन गर्नमा लगाइएको थियो।
माथि प्रस्तुत उहाँको भनाई २०३४ सालमा विशेष अदालतमा उहाँले दिएको बयानबाट लिईएको हो । त्यसको पूरा रुप-
“....राज्यको सर्वप्रथम मौलिक उद्देश्य न्याय स्थापना हो; न्यायको मर्यादा नभएको राज्यमा त्यस राज्यको आदर्श स्खलित भएर जान्छ; त्यसपछि आदर्शविहिन राज्यको एकएक गरेर संस्थाहरू र विभागहरू भ्रष्ट हुँदैजान्छन् । पल्टन राष्ट्रको सुरक्षा गर्ने आदर्शबाट च्युत भएर जनताका उपरको आतङ्कको र राजनीतिक विरोधीहरूका बिरुद्ध प्रयोग हुने एउटा यन्त्र हुनपुग्छ र पुलिस दमनको साधन र निजामति सेवा भरौटेहरूको क्लब । यस स्थितिमा यदि कोई इमान्दार नागरिकले आफ्नो जिम्मेवारीलाई बुझेर केही गर्न खोज्यो भने त्यस्ले दोषको भागी हुनु पर्दछ ।”
चन्द्रमणि गाैतम