
इन्द्रनारायण सुबेदी
============================
छ निर्वाचनको मेला गाउँ हाट बजारमा
स्वयं आफू हुनैपर्छ सचेत अधिकारमा।१।
निष्कलङ्क सदाचारी अनुशासित सज्जन
उम्मेद्वार भए मात्र गर्नुपर्छ समर्थन।२।
सन्तको खोल ओडेर छद्मभेषी महाखल
सत्तामा चढ्नको निम्ति गर्ने गर्छन् ठुलो बल।३।
नीति सिद्धान्तमा पक्का प्रतिबद्ध विकासमा
देशभक्ति बहेको होस् नेताको सास-सासमा।४।
भ्रष्टको हातमा सत्ता नपुर्याऔँ सधैँभर
नेतृत्व नीतिको होओस् ख्याल राखौँ निरन्तर।५।
स-साना स्वार्थका निम्ति देश यो राख्न बन्धक
अपराधीहरूलाई हुँदैन कहिल्यै धक।६।
हामी मालिक हौँ आफैँ छौँ स्वाधीन सधैँभर
फालौँ दासत्वको घुम्टो उखेलौँ मनको डर।७।
स्वर्ग जस्तो छ नेपाल छ नेतृत्व असक्षम
फाल्न दुर्जन सत्ताका बन्नुपर्दछ निर्मम।८।
सिन्कोसम्म नसार्नेले आकाशै झार्छु भन्दछ।
घसी चिप्लो खुराफाती साँखिलो पनि बन्दछ।९।
धोखेबाजहरूबाट सतर्क बन्नुपर्दछ
मत सत्पात्रमा राख्ने बुद्धिमानी ठहर्दछ।१०।
मतपत्र कतै च्यात्छ्न् कतै ठग्न लुकाउँछ्न्
रजाइँ हुन्छ साँढेको जनता दुःख पाउँछन्।११।
स्वदेशी कति उठ्दैछन् कति उठ्छन् मुसाफिर
चनाखा मतदाताले बुझ्नुपर्छ सबैतिर।१२।
सत्ताको छैन विश्वास कौडीमा पनि बिक्दछन्
आशीर्वाद पराईको पाएर मात्र टिक्दछन्।१३।
पराधीन भयौँ हामी जित्छौँ, तैपनि हार छ
मौन छौँ देश यो बिक्दा खै कहाँ प्रतिकार छ।१४।
म मेरो देशमा आफैँ सत्ताको बन्धकी हुन
अथवा देश छोडेर हुनुपर्छ पलायन।१५ ।
यही रीत सधैँ हुन्छ चुनावपछि आउने
भने नेतृत्वको साँचो कसलाई थमाउने।१६।
गम्भीर प्रश्न हो यौटा मिल्दो उत्तर खोज्नु छ
उम्मेद्वारहरूमध्येबाट सक्षम रोज्नु छ।१७।
विकल्प एउटै मात्र प्रणाली फेर्नुपर्दछ
त्यसैलाई दिऔँ भोट जसले आँट गर्दछ।१८।
=================================