बुधबार, भाद्र ३ गते २०८३

स्याङ्जाली साथी र काठमाण्डूको स्वादिष्ट मम:चा 

आषाढ १७, २०७८ बिहीबार
स्याङ्जाली साथी र काठमाण्डूको स्वादिष्ट मम:चा 

 

आनन्दकुटी साइन्स कलेजमा आइएस्सीमा पढ्न थालेको दुई महिना जति भएको थियो होला। बसाई अमृत साइन्स कलेज पछाडिको गल्लीको कोठा। सानो झ्याल, बदली भयो भने दिनमै बत्ती बाल्नु पर्ने। भाडा भने चाहिँ जम्मा पन्ध्र रुपियाँ मात्र तिर्नु पर्ने। हुनतः उज्यालो हुन्ज्याल ठमेल चोक तिरै घुमिरहिन्थ्यो। तत्कालिन स्याङ्जा जिल्ला पंचायतका सभापति शोभाकान्त अर्याल उपाध्यायका जेठा छोरा बद्रिकान्ता अर्यालसँग शुरुमै भेट भयो। स्याङ्जा जैसी डाँडाका अर्याल साहु र ज्याग्दी खोले पौड्याल साहुका छोराहरु ठमेलभर पाइलापाइलामा भेट हुन्थे। स्याङ्जा चार खुट्टेको मातृभूमि हाई स्कूलमा एसएलसीको परीक्षा केन्द्र परे देखि नै बद्रिसँगको मेरो चिनजान थियो। बद्रिकान्ताका माहिला मामा अम्बिका प्रसाद पौड्याल उपाध्याय, त्यति बेला राष्ट्रिय पंचायतका सदस्य हुनुहुन्थ्यो। कान्छा मामा रमेश पौडेल ज्यादै भलादमी युनिभर्सिटी सिध्याईक्यारी काठमान्डूमा सहायक जिल्ला शिक्षा अधिकारी हुनहुन्थ्यो। पछि जिल्ला शिक्षा अधिकारी बन्नु भयो।आफ्नो भान्जाको साथी भएकाले मलाई असाध्यै माया गर्नु हुन्थ्यो। उहाँ गण्डकी बिद्यार्थी परिषदका संस्थापक नेता पनि भएको कुरा पछि आएर थाहा भयो। जेठा मामा बिष्णुप्रसाद उपाध्यायका छोरा ईन्द्र राज पौडेल बिएमा पढ्दै हुनुहुन्थ्यो। सायद नेपाल बैंक लिमिटेडमा काम गर्दै पनि हुनुहुन्थ्यो क्यारे। ईन्द्र दाईका माहिला बाजेका नाति, जनक प्रसाद उपाध्यायका छोरा अर्जुन पौड्यालसँग पनि यही बेला चिनजान भएको हो, हामी दुवै जनाले चारखुट्टे स्थित मातृभूमि हाईस्कूलबाटै एसएलसी एकैसाल दिएका रहेछौं। अर्जुनजी र मेरो गण्डकी विद्यार्थी संगठन हुदै २०५० सालसम्म एउटै पार्टी भित्र विभिन्न जिम्मेवारी निभाएर बस्ने अवसर जुटेको थियो। बद्रीले जैसीडाडे र झार खोलेलाई जेजे नाता लगाउँथे, मेरो नाता पनि त्यहि हुन्थ्यो।

स्याङ्जा धेरै दृष्टिबाट पर्वत जिल्ला भन्दा अगाडि थियो र क्रम आज पनि निरन्तर छ। शिक्षा, स्वास्थ्य, कृषि, यातायात, बजार सबैमा। आंधीखोला, बाढ खोला, दह्रौं खोला, सुरौदी खोला, ज्याग्दी खोला, पिडिखोला, चापाकोटको फाँट, स्याङ्जाको आर्थिक मेरुदण्डका आधारहरु हुन्। अपार पितृभक्त श्रवण कुमारका दृष्टिविहीन माता-पिताको आँखाको आँशुबाट उत्पत्ति भएको, मगर बोलीमा 'आ' भनेको आँशु र 'दि" भनेको नदी हुने पौराणिक कथा बोकेको आंधीखोलाको उर्वर फाँटले स्याङ्जा जिल्लालाई निरन्तर अग्रणी बनाउनमा अहम भूमिका खेलेको छ। भारतीय सिमाना सुनौलीबाट शुरु भै पाल्पा हुँदै राम्दी कालीगण्डकी तर्दै समग्र जिल्लालाई बीचोबीच चिर्दै कुभिन्डे भंज्याँग झन्डै ९० किलोमिटर खण्ड भएर पोखरा जोडेको सिद्धार्थ राजमार्गले स्याङ्जा जिल्लालाई आर्थिक समृद्धिको ढोका खोलिदिएको छ। प्राय: यी सबै खोलाका बगर र फाँटहरु, भन्ज्यांग, उकाली-ओराली र नागबेली जस्तै घुमेको पृथ्वी राजमार्गमा २०३६ सालको राष्ट्रिय जनमत संग्रहका बेला बहुदलको प्रचारप्रसार गर्न स्यांजा पुतलीखेतका मेरा अनन्य मित्र तत्कालिन नेपाल प्रगति शील विद्यार्थी  युनियनका जुझारु नेता महेन्द्र मान व्यथित लगाएत धेरै श्यांजाली साथीहरुसँग रातसाँझ मध्यान्र नभनी चाहार्ने मौका पाएको थिएँ। ती अविस्मरणिय पलहरुलाई पनि मौका मिल्दा उतार्न आवश्यक छ।

यहाँ मैले प्रसंग उठाउन खोजेको समय खण्ड भने निर्दलीय पंचायती व्यवस्थाले डेढ दशकको यात्रा तय गर्दै थियो । त्यस बेला बाहिरबाट हेर्दा कुनै दल थिएनन्, सबै पन्च थिए। भित्र, पंचायतका कट्टर समर्थक, सुधारवादी-अनुदारवादी, प्रजातन्त्रमा आस्ठा राख्ने, र प्रगतिशील विचार बोकेका अग्रगामी सोंच राक्ने,  विविधता। शोभाकान्त उपाध्याय छलछाम रहित राजाका कट्टर निष्ठावान भक्त थिए, तर कसैको कुभलो चिताउँदैनथे, हँसिलो अनुहार, उहाँको घरमा पुगे पछि कसैले भोको फर्कन परेन, यसैको कारण स्याङ्जा जिल्ला भित्र मात्र होइन गण्डकी अंचल भरि उहाँको सुनाम थियो।

समकालीन स्याङ्जामा २०१५ सालमा नेपाली कांग्रेसका निर्वाचित सांसद वालींग बाघ्खोरे बाउसाहेव यम बहादुर खाँण, बाहकोटका कट्टर नेपाली कांग्रेसी नेता थान बहादुर सिंह ठकुरी, चण्डी भन्ज्यांगका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालका अनुयायी पढे लेखेका युवा माथवरसिंह(एमएस) थापा, पंचहरुमा बाहाकोट कोल्माका खड्ग बहादुर गुरुङ, आरुखर्कका दया बिक्रम शाह, श्यांजा बजारका अञ्चलाधिश डा.नरेन्द्र बहादुर थापा, रामबाच्छा, अर्मादिका पूर्व राष्ट्रिय पंचायत सदस्य खगेन्द्र कोईराला, वालिङ्गका पूर्व जिल्ला पंचायत सभापति चन्द्र ध्वोज खाँण, शिरुवारिका भूमिसुधार अधिकारि ईश्वर बहादुर गुरुङ, दह्रौंका अन्चालाधिश भिम बहादुर गुरुङ, अञ्चल सभापति आरुचौरका दिवाकर पौड्याल, ठुलादिका चौतारिया खिम बहादुर शाह, आर्थरका (२०३३ साल पूर्व स्याङ्जा जिल्लामा पर्ने) अञ्चलाधिश लालकाजी गुरुङ, स्याङ्जा पुतली खेतका काजिमान श्रेष्ठ, केदारमान व्यथितका भाई पुष्पमान श्रेष्ठ, पींडिखोलाका खिमानन्द पौडेल जैसीले आआफ्नै धुरी बनाएका थिए। त्यसरी नै सभापति शोभाकान्ताको पनि आफ्नै धुरी र आफ्नै ओत थियो। उनका जेठान अम्बिकाप्रसाद उपाध्यायको पनि एउटा पाटो हुनु स्वभाविक थियो। यिनीहरु प्राय: सबैको विभिन्न तान्द्रो र माध्यम मार्फत राजा महेन्द्रदेखि राजा विरेन्द्र, तत्कालिन अधिराजकुमार ज्ञानेन्द्र-धिरेन्द्रसम्म सम्वन्ध थियो।

पृथ्वी नारायण शाहका पूर्वज र स्याङ्जाली खाँण ठकुरीहरुको पूर्वज एउटै भएको कुरा ईतिहांसमा पढ्न पाईन्छ। मुस्लिम सुल्तान अलाउद्धिनको आक्रमण सहन नसकी सन् १३१६ पछि भारतको उज्जैनबाट राजा मन्मथका वंसज भुपाल नामका कालीगण्डकीको किनार-किनारै रिडी हुँदै काली गण्डकीको किनारमा रहेको विर्घा भन्ने पर्वत श्रेणीमा रहेको लसर्घा गाउँमा आई बस्न थाले। त्यहाँबाट भिरकोट गएर उनका छोरा जयन खाँनले खाँणवंशको  पहिलो राज्यको जग हाले । जयन खाँनका छोरा सूर्य खाँन र यिनका जेठा छोरा खान्चा खाँनले भिरकोट गह्रौं र ढोरको आधिपत्य गरे भने कान्छा छोरा मिंचा खाँनले स्याङ्जा नुवाकोटको र सातौं राज्य पाए। मिंचा खाँनका बंसज कुलानन्दन खाँनले काँस्कीको राज्य पनि हात पारे । कुलानन्दनले 'शाह' पदवी लेख्न शुरु गरे। यिनैका सन्तान युवराज यशोब्रह्मलाई लम्जुङ्गकाले आफ्नो राजा बनाए। यशोब्रह्म शाहका छोरा द्रब्य शाहले सन् १५५७ मा गोर्खामा आफ्नो राज्य स्थापना गरि वर्तमान नेपालको शाह राजवंशको जग बसालेका हुन्-भनी ऋषीकेश शाहले आफ्नो पुस्तक 'प्रारब्ध र पुरुषार्थ'मा लेख्नु भएको छ ।

स्याङ्जा जिल्लाको लसर्घा स्थित आलमकोटमा शाह र खाँणहरुको कुल देवी 'आलम देवी'को मन्दिर स्थापना गरेका छन्। यातायातको सहजता हुदै गए पछि पछिल्लो समयमा नेपाल दरवारबाट समेत धुपअक्षेता भेटी पठाउने, दर्शनको लागि अक्कल झुक्कल पुग्ने गरेको पनि सुन्न पाईन्छ। 

भिर्कोटे राजाका वंशज तारक बहादुर खाँणले महाराजा चन्द्र शमशेरबाट राजाको पद पाई राजा तारक बहादुर शाह लेख्न थाले पछि उनका छोरा धुरन्धर विद्वान कुटनीतिज्ञ एवं  राजनीतिज्ञ ऋषी केश शाह लगायत केहीले खाँणबाट शाह लेख्न थालेका पछिल्ला उदाहरण हुन्। राजा तारक बहादुर शाहले बाइसे चौबिसे राजा-रजौटाका सन्तानहरुमा पहिलो अंग्रेजी पढाईमा बिए पास गर्ने कीर्तिमान राखेका थिए। यिनका दाजुभाईहरु आंधीखोले, ढोरकाले धेरैले भने खाँण ठकुरी लेख्नमा नै गौरव गर्छन्।

स्याङ्जाका सरदार भिम बहादुर पाण्डे, जर्नेल मिन बहादुर गुरुङ, कोटाकोटका न्यायाधिश नेत्रलाल पाण्डे, स्याङ्जा लामाकेका डिठ्ठा जंग बहादुर थापा लगायतले राणा कालिन अवस्थामा काठमाडौँसंग सम्वन्ध बनाउन सफल भए। यी यावत कारणले स्याङ्जाली नयाँ पुस्तालाई पनि राजधानीसँग सम्बन्ध गाँस्न सजिलो भयो। लुँखु, माझ्घर, पर्वतबाट सतौं चण्डीकालिका बैदि खोलामा बसाई सरिआएका हाम्रा काका देवेन्द्र कुमार मल्लले पनि स्याङ्जालीको संगतले आफुबसेको गाउँलाई आदर्श गाउँ पंचायत बनाउने मौका पाए । यसरीनै दाउरामानी, लुँखु ,पर्वतबाट बसाई सरेर बाढखोला बसोवास गरेका हाम्रा दाई सूर्य बहादुर मल्लले स्थानीय तहमा राजनीतिक-सामाजिक सेवामा सक्रिय भै काम गर्ने अवसर भेट्टाए।

यस जिल्लाका वासिन्दा अधिकांश गुरुङ मगरले ब्रिटिश भारतको सिपाही बन्न रोजे। अर्को तर्फ बाहुन, क्षेत्रीहरुले काठमाडौँ पुगी सानोतिनो नोकरी व्यवसाय गरि शिक्षा प्राप्त गर्ने अवसर छोपे। नतिजा अहिले सबैभन्दा धेरै शाखा अधिकृत, जिल्ला प्रमुख अधिकारी र सचिव बन्ने जिल्लामा मुलुककै अग्रेणी श्यांजा जिल्ला पर्दछ। वरिष्ट अधिवक्ता कानून वीद, प्रजन्तंत्रका सेनानी, २०४६ सालको संबिधान मसौदा समितिका सदस्य  मुकुन्द रेग्मी श्याग्जा कै हुनुहुन्थ्यो। प्राध्यापक, डाक्टर, इन्जिनिएर, प्रशासक अनगिन्ति छन । बिर्घा श्यांजाका काशीराज पाण्डेका छोराहरु अनन्त राज पाण्डे गृह सचिव, शंकर राज पाण्डे शिक्षा र आत्मा राम पाण्डे रक्षा, तीनतीन जना नेपाल सरकारका सचिव बने। न्याय सेवा, सेना प्रहरी, प्राध्यापन उद्योग-धन्दा, ब्यापार-व्यवसाय  कुनै यस्तो क्षेत्र छैन जहाँ स्याङ्जालीको पहुँच नपुगेको होस्।

बद्रिकान्त अर्याल र मेरो आनी-बानी र विचारमा उत्तर दक्षिण दुई ध्रुव जस्तै थियो। कद होंचो तर कसैसँग होच्चिन नचाहने, टिप् टाप, चटक्क परेर हिँड्ने, कसरी टोपी लगाउने, गलबन्धी कसरी गलामा बेर्ने, कोटको बटन कुन खोल्ने कुन लगाउने, कलम कसरी भिर्ने, चुरोट कसरी तान्ने सबै उनको आफ्नै तरिका थियो। दया-माया भाव सबै थियो। बेलाबेलामा "यसो गर शरण" भन्नमा पछि नपर्ने, काठमाण्डू पसेको केही दिनमै हामी घनिष्ट साथीमा परिणत भैयो।

उनी ठमेलको उत्से होटेलको साहुको पछि पट्टिको लुँगको ठूलाठूला झ्याल रहेको, लामो र फराकिलो, उज्यालो कोठामा  बस्दा रहेछन् । भाडा रहेछ तीस रुपियाँ, मैले तिर्ने भन्दा ठीक डबल। "ल शरण सँगै बसौं तिमीले पन्ध्र मैले पन्ध्र रुपियाँ तिर्ने, भात पनि कोठैमा पकाएर खाउँ, दुबैलाई सस्तै पर्छ" -बद्रिकान्तको कुरा चित्त बुझ्यो। महिना मिलाएर सँगै बस्न थालियो। झन्डै अढाई वर्षमा उत्से होटेल माथि, नरसिंह गेट, ठमेलमै एकजना पन्त थरकाको घरमा पुग्दा कोठाभाडा ६० रुपियाँ पुग्यो।

जिल्ला सभापति भएकाले काम विशेषले शोभाकान्त बुवा काठमान्डू आइ नै रहने, आउँदा बद्रीको ओछ्यान बुबालाई र हामी दुई मेरै ओछ्यानमा सुत्थ्यों। बुबा स्वयम् पाक्य, पानी पनि आफैले भर्नु पर्ने, समस्यै थियो । तरकारी काट्ने, खाए पकाएको भाड़ा हामीले माझ्ने गर्थ्यौ। बद्रिकान्तले रक्सि भने पिएको देखिँन।

जब हामी सँगै बस्न शुरु गर्यौं, एकदिन घुम्दै नयाँ सडकको पिपलबोट पुगियो। त्यहाँ राजधानी पश्चिमका हरुकाले भेटघाट गर्ने गर्थे, कतिले चलन चल्तीका पत्रपत्रिका किन्थे, फिजाएर बिक्रीमा राखिएका पत्रिका उभिउभी पढ्थे। कति नयाँसँग चिनजान गर्ने मौका पनि मिल्थ्यो। केही बेर पिपल बोट मनी हल्लिए पछि बद्रीले मेरो हात समाएर पिपलबोटबाट पूर्वतिरको रन्जना सिनेमाहल जाने गल्लीतिर लगे। रन्जना सिनेमाहलको गेटमा पुगे पछि उनले भने "आज तिमीलाई मिठो नास्ता गराउँछु ।" मेरो हात समातेको समातै थिए। म लतारिँदै थिएँ। एउटा साँघुरो सुरुङ्ग जस्तो पसल, बिचमा साँघुरो एक जना हिँड्न मिल्ने दुईतिर सेतो चिप्स दलेको सिमेन्टको टेबल। प्रत्येक टेबलमा टाँसिएर चारचार जना बसेका। खचाखच, सबै टेबल भरिभराउ, पर पछाडि एउटा टेबलमा दुई सिट खाली, मलाई बद्रीले त्यतै डोर्याउँदै थिए। एउटा कुनामा बसेर बद्रिका दाई पर्ने जैसी डांडाका जयबन्धु अर्यालले केही खाँदै थिए।  मैले देखेँ, तर उनी खानामा मस्त थिए उनले चाहिं देखेनन्।

एक्कासी बद्रि फर्किए, जसरी मलाई डोर्याउँदै भित्र पसालेका थिए त्यसरीनै, तर केहि हतारिँदै बाहिर निकालेर सिधै रन्जना सिनेमाहलको गेट भित्र पसाले र सिनेमाको पोस्टर हेर्न थाले। भन्दै थिए "धेरै हुल रहेछ केहि पछि जाउँला।" मैले यी सबै गतिविधि स्वभाविक रुपमा लिइरहेको थिएँ।

केही बेर पछि जयबन्धु अर्याल खाजा पसलबाट निस्किए, रञ्जनाको गेट आगाडि आई पुग्दा मसँग उनको आँखा जुधिहाल्यो। मुस्कुराउँदै मतिर बढे। उनले केहि वस्तु स्वाद लिँदै चपाई रहेका थिए। अनि भने -"शरणजी फिल्म हेर्न आउनु भएको ?", मैले उत्तर दिन नपाउदै बद्रीले भने-"नाइट सो हेरौं भनेर सोचेको।" ल ल हेर मैले त हेरी सकेँ " भन्दै उनी आफ्नो बाटो लागे।

हामी फेरि त्यही पसल पस्यौं।  हुल त्यस्तै थियो , एउटा कुनामा गएर खाली सिटमा बस्यौं।  बद्रीले के भनीअर्डर गरे, गोलभेडाको झोलमा डुबेको सेता दानाहरुको प्लेट। मैले दाना गनेँ १२ रहेछन्।  उत्सुकता साथ सोधे-"के हो बद्रि यो ? " मेरो लागि नयाँ खाना थियो। उनको एक शब्दको उत्तर थियो -"ममःचा"

मलाई भोक लागिसकेको थियो, तातो गोलभेडाको झोल र ममचाको मिठो बास्ना ह्वारह्वार आउँदै थियो। मेरो स्वभाव अनुसार छिटोछिटो प्लेट रित्याई दिएँ। सके पछि दुवै उठ्यौं। ढोका नेर काउन्टरमा आएर उनले २ रुपियाँ पसलेलाई दिए। त्यस बेला रुपियाँ प्लेट ममचा रहेछ। ठाउँठाउँमा पाप्रा उक्कीई कालो दाग देखिने ताम्चिन्को सेतो प्लेटमा राखिएको स्वोंप  एक चिम्टी झिकेर मलाइ दिए, आफुले पनि एक चिम्टी फ्वाक्क मुखमा हाली चपाउँदै बाहिर निस्किए । जसरी जयबंधुले स्वाद लिईलिई चपाउँदै केही पहिला हाम्रो अगाडि आएका थिए त्यसरी नै म पनि सोंपको स्वाद लिदै बद्रीको पछि लागेँ ।

डेरा तिर फर्कंदै गर्दा रहस्य खोले-"बुझेउ शरण हाम्रो जयबन्धु दाइले पनि ममचा खाने रैछन्। धन्न हामीलाई देखेनन्।"

"किन र ?" मेरो सोझो प्रश्न रह्यो ।

"यो ममचा राँगोको मासुको हो क्या, हाम्ले कहाँ खान हुन्च त नि। "

बल्ल मलाई थाहा भयो शोभाकान्ता बुबाले हामीले छोएको पानी पनि किन नखाएका रहेछन्।

त्यस दिन देखि "संगत गुनाको फल" मेरो पनि यस रन्जना  सिनेमा हल अगाडिको प्रसिद्ध -"आरसी ममचा" नास्ता बन्दै रह्यो। यस पछि ईन्द्रचोक नजिकैको  मासंग गल्लिमा रहेको  चाट-समसा  र चिया पसल  लगभग छुट्यो।

भरत भुर्तेलले पूर्व राष्ट्रपति रामवरण यादवको जीवनी  'टाकुरामा एक्लो मान्छे' नामक शीर्षकको पुस्तकमा लेखेका छन् - रामवरण २०२० सालमा एसएलसी पास गरे पछि आइएस्सी पढ्न जनकपुरको आफ्नो गाउँ सपहीबाट  जयनगर, रक्सौल, बिरगंज र हेटौडा हुदै कम्तिमा दुई दिन लगाएर काठमान्डू आईपुगे। डाक्टर बन्ने धोको, त्रिचन्द्रमा आइएस्सीको बिद्यार्थी, गाउँबाट खाजाखान लिएर आएको चिउरा उहिले सकीई सक्यो। मात्र बिहान बेलुकीको खाना, भोकले जिउ बत्ताऊने गर्थ्यो। कमजोरीले गर्दा, एकदिन कलेजबाट झोंछेका द्वारिका प्रसाद मानन्धरको घरमा रहेको डेरातिर जाँदै गर्दा भूगोलपार्क नेरै पुग्दा चक्कर लागेर ढलेछन्। त्यति बेला आजको जस्तो मानिसको घुइँचो हुँदैनथ्यो। वरपरकाले चिनीहाले "यो त द्वारिका साहुकामा बस्ने ठिटो हो।"  पानी छम्किए, किताब हल्लाइ शीतल दिए, होस आएपछि समाएरै डेरासम्म पुर्याईदिए छन्। रामवरण विज्ञानका विद्यार्थी आफैंलाई पनि थाह थियो, उनको पढाइमा मेहनत र खानपिनमा सन्तुलन मिलेको छैन भन्ने कुरा।

अब के गर्ने घरबाट आएको खर्चले खाजा खाने जोहो गर्न मुस्किल थियो। सस्तो र लोकप्रिय  खाजा सिधै भैसीसँग गाँसिएको खाजा 'ममचा'को नाम सुनेका थिए । तर त्यहि भैसीको स्याहारसुसारमा परिवारको पुस्तौनी र  उनको पनि समय खर्च भैसकेको थियो । यादवहरुको जीवन रक्षक प्राणी त्यसैको मासु हालेको ममचा कसरी खाने? उनी धर्मसंकटमा परे, तर निर्णय गरे खसी-कुखराको मासु खान्छु भने राँगो भैसीको मासु किन नखाने, मानिसले नै खाइरहेछन् त । पहिलो पल्ट सोंचे बरु मेरो गाउँ सपहीको भैंसीको मासु कमसेकम नपरोस् , भनी यताउति चिनेका मान्छेले नदेखुन भनि फटाफट ममचा पसलमा पसी एक प्लेट ममचा मागी खाए, अनि पचास पैसा तिरेर  कतै नहेरी बाहिर निस्किए। त्यति बेला एकप्लेट ममचालाई पचास पैसा पर्दो रहेछ।

छापिएको लगभग एकवर्ष पछि २०६८ सालमा "टाकुराको एक्लो मान्छे" पढ्ने मौका पाएको थिएँ। आफ्नो जीवनमा ठोक्किएको आरसी ममचा पसलसँग जोडिएको रिल फनफन्ती घुमेको थियो। रामवरण यादवको यो घटना र उनको गाउँ सपहीका भैंसीहरु कहिलै नभुलिने गरी सम्झनामा टाँसिइरहे। मानिस कसरी परिस्थितिसँग सम्झौता गर्न विवश हुँदो रहेछ। एउटा यादव परिवारमा जन्मेको, जसको जीवन संस्कार भैंसीको स्याहार सुसारमा हुर्कन्छ, दुध दही उसको जीवनको आधार हुन्छ। एउटा उपाध्याय बाहुनको छोरो, जसको भान्सामा कहिलै कुनै प्रकारको मासुले प्रवेश पाएको थिएन,अर्को ठकुरीको छोरो जसको पुर्खाले भैंसी त छोडम् कुखराको भालेलाई ढोकाभित्र छिर्न दिइएको उसलाई थाहा थिएन। के विज्ञान प्रविधिको विकासले यो ज्ञान दिलायो, स्वस्थ्य जीवन राख्नलाई पौष्टिक भोजन गर्न, यी सबै सेवन गर्न आवश्यक थियो? या चार्ल्स डार्विनको विकासवादी सिद्धान्तले निर्देशित गर्दै थियो। "तन्दुरूस्ती जो छन् तिनै बाँच्छन् । " हर्बट स्पेंसरले शब्द चयन गरिदिए  "Survival of the fittest" । जजसले यो नियम बुझेनन् रामवरण यादवका धेरै साथीहरु काठमान्डूको चिसो सहन नसकी त्यति बेलै गाउँ फर्के। मान्छे मान्छे फरक देखे, पहाडिया-मधेशीमा फरक देखे, उनीहरुको नियति ग्वाला बन्नु भयो, गुमनाम बने डाइनोसर जस्तै । रामवरण प्रकृतिको सत्यसँग परिचित भए, बलियो बने, डाक्टर भए कालन्तरमा नेपालको पहिलो राष्ट्रपति बनी अमिट इतिहांस रचे। ईति:

cpnsharan@gmail.com