सोमबार, मंसिर ७ गते २०८३

दुई मन्त्रीसहित ३५ सदस्यीय टोली लिएर प्रधानमन्त्री बालेन हिँडे दिल्ली


मंसिर ६, २०८३ आइतबार
दुई मन्त्रीसहित ३५ सदस्यीय टोली लिएर प्रधानमन्त्री बालेन हिँडे दिल्ली

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत गएका छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा  नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः४५ बजे नयाँदिल्लीतर्फ लागेका हुन् । 

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डल सहभागी छ। टोलीमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, उच्च सरकारी अधिकारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीसमेत छन्।

सरकारी टोलीबाहेक निजी क्षेत्रका ५२ जना व्यवसायी पनि आफ्नै खर्चमा भारत भ्रमणमा सहभागी भएका छन्। उनीहरूले भ्रमणका क्रममा आयोजना हुने नेपाल–भारत व्यापारसम्बन्धी कार्यक्रममा सहभागिता जनाउनेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुहुनेछ भने सोमबार भारतीय समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। भारतीय विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेट गर्नेछन्।

वार्तामा व्यापार, पारवहन, ऊर्जा, लगानी, पूर्वाधार तथा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारलगायत विषय प्राथमिकतामा रहनेछन्। यस क्रममा विभिन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास र शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापनलगायत क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम छ। 

प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम छ।