तीन महिनामा ७ खर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ४१ खर्ब नाघ्यो; व्यापार घाटा र मुद्रास्फीति बढ्दै
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको बाह्य क्षेत्रका सूचक सकारात्मक देखिएका छन् । विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि हुँदा विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । तर, बढ्दो मुद्रास्फीति, व्यापार घाटा र निजी क्षेत्रको सुस्त कर्जा विस्तारले आन्तरिक अर्थतन्त्रमा चुनौती कायमै रहेको देखाएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार साउनदेखि असोजसम्ममा विप्रेषण आप्रवाह २७.२ प्रतिशतले बढेर ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो वृद्धि १६.७ प्रतिशत रहेको छ । असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ ।
विप्रेषण आप्रवाहमा भएको वृद्धिसँगै विदेशी मुद्रा सञ्चिति पनि बढेको छ । असोज मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २७ अर्ब ३९ करोड रहेको छ । यसले १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड र शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँले बचतमा रहेको छ । यसले मुलुकको बाह्य भुक्तानी सन्तुलन अनुकूल रहेको देखाउँछ ।
तर, व्यापार घाटामा भने सुधार आउन सकेको छैन । पहिलो तीन महिनामा वस्तु निर्यात ५७ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । आयात पनि ३८.२ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । निर्यातको वृद्धिदर उच्च भए पनि आयातको ठूलो आकारका कारण व्यापार घाटा ३४.७ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।
अर्कोतर्फ, मूल्यवृद्धिको दबाब पनि बढेको छ । असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.४७ प्रतिशत मात्रै थियो । पहिलो तीन महिनाको औसत मुद्रास्फीति ६.२२ प्रतिशत रहेको छ ।
आन्तरिक वित्तीय गतिविधितर्फ बैंक तथा वित्तीय संस्थाको निक्षेप २.८ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशतले मात्रै विस्तार भएको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.७ प्रतिशत र निजी क्षेत्रको कर्जाको वृद्धिदर ८.३ प्रतिशत रहेको छ । यसले निक्षेप संकलनको तुलनामा कर्जा विस्तार कमजोर रहेको देखाउँछ ।
सरकारको खर्च पहिलो तीन महिनामा ३ खर्ब ९६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ भने राजस्व परिचालन २ खर्ब ९८ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । यस अवधिमा सरकारी खर्च राजस्व संकलनभन्दा ९७ अर्ब ६६ करोड रुपैयाँ बढी भएको छ ।
यसैबीच, बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत र ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर १.०१ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.०७ प्रतिशत र कर्जाको ब्याजदर ६.३१ प्रतिशत कायम भएको छ ।
नेपालपत्र संवाददाता