काठमाडौं । अनलाइन ठगी, नक्कली लिंक तथा डिजिटल भुक्तानीसम्बन्धी अपराधको उजुरी अब नेपाल राष्ट्र बैंकको एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको हटलाइन नम्बर १२४७ मा गर्न सकिने भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो र विभिन्न सरोकारवाला निकायको समन्वयमा सञ्चालनमा आएको एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रले २४ सै घण्टा सेवा दिने जनाएको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै अनलाइन ठगी, फिसिङ, नक्कली लिंक, अनधिकृत कारोबार तथा डिजिटल भुक्तानीसम्बन्धी ठगीमा परे तत्काल १२४७ मा सम्पर्क गरी जानकारी वा उजुरी गर्न आग्रह गरेको छ ।
ठगीमा परेको अवस्थामा सम्बन्धित बैंक, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराई आफ्नो खाता तथा डिजिटल वालेट सुरक्षित राख्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ ।
नेपालपत्र संवाददाता