काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि ६ जना उम्मेदवार छनोट भएका छन्। अध्यक्ष नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये योग्यता पुगेका ६ जनाको दरखास्त स्वीकृत गरी प्राधिकरणले व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो।
प्राधिकरणले मङ्सिर ३ गते प्रकाशित गरेको सूचनाअनुसार उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण मङ्सिर २३ गते र अन्तर्वार्ता मङ्सिर २४ गते सञ्चालन हुनेछ। दुवै कार्यक्रम लोक सेवा आयोगको केन्द्रीय कार्यालय, कमलपोखरीमा हुने सूचनामा उल्लेख छ।
छनोट भएका उम्मेदवारमा त्रिलोचन घिमिरे, डा. रमेशप्रसाद चौलागाईं, रोशनकुमार अधिकारी, रोशनबहादुर शाक्य, विश्वराज बराल र समता पन्त छन्।
प्राधिकरणका अनुसार घिमिरे, चौलागाईं र अधिकारीको प्रस्तुतीकरण मङ्सिर २३ गते बिहान १०ः३० बजे तथा अन्तर्वार्ता मङ्सिर २४ गते बिहान १०ः३० बजे हुनेछ। शाक्य, बराल र पन्तको प्रस्तुतीकरण मङ्सिर २३ गते दिउँसो १ बजे र अन्तर्वार्ता मङ्सिर २४ गते दिउँसो १ बजे निर्धारण गरिएको छ।
यस अघि प्रतिस्पर्धाबाट नियुक्त भएका अध्यक्ष डा. खगराज शर्मा रास्वपा नेतृत्वकाे नयाँ सरकारले हटाएकाे थियाे । त्यस लगत्तै अध्यक्ष र विज्ञ सदस्य पदमा आवेदन खुला गरी छनाैट प्रकिया पूरा गरेतापनि सरकारले नियुक्ति दिएको थिएन । बैशाख यता प्राधिकरण अध्यक्ष र विज्ञ सदस्य विहीन रहेकाेमा मंसीर महिनाभित्र प्राधिकरणले अध्यक्ष सहितका पदाधिकारी पाउने देखिएकाे छ।
नेपालपत्र संवाददाता