शुक्रबार, मंसिर ४ गते २०८३

पहिलो तीन महिनामा सात खर्ब भन्दा बढी रेमिट्यान्स


मंसिर ३, २०८३ बिहीबार
पहिलो तीन महिनामा सात खर्ब  भन्दा बढी रेमिट्यान्स

 यस आर्थिक वर्षको पहिलो त्रैमासमा सात खर्ब  भन्दा बढी रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले  आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  असोज मसान्तसम्म विप्रेषण आप्रवाह २७.२ प्रतिशतले वृद्धि भई सात खर्ब तीन अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो । 

असोज महिनामा विप्रेषण आप्रवाह दुई खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २९.२ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) सात खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय छ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । असोजसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख २१ दुई हजार ८७९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ८२ हजार ३६९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख २३ हजार ४५९ र ७७ हजार २५७ रहेको थियो ।