बुधबार, मंसिर २ गते २०८३

निक्षेप संकलन उपकरणमार्फत् २ खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक


मंसिर १, २०८३ मंगलबार
निक्षेप संकलन उपकरणमार्फत् २ खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ९२ दिनका लागि उक्त रकम संकलन गर्न सोमबार बोलकबोल आह्वान गरेको हो ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंसिर १ गते दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सकिने जनाएको छ । निक्षेप संकलनको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ ।

बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम २०० अर्ब रुपैयाँसम्म बोल गर्न सक्नेछन् । बोल रकम १० करोड रुपैयाँले भाग जाने गरी निर्धारण गर्नुपर्नेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी मात्र सहभागी हुन पाउनेछन् ।

निक्षेप संकलनबापतको साँवा तथा ब्याज आगामी फागुन ५ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । यसरी संकलन गरिएको निक्षेप अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

निक्षेप संकलन उपकरण बैंकिङ प्रणालीमा रहेको अधिक तरलता राष्ट्र बैंकमा तानेर अल्पकालीन ब्याजदर व्यवस्थापन गर्न प्रयोग गरिने मौद्रिक उपकरण हो । यसमार्फत बैंक तथा वित्तीय संस्थाले आफूसँग रहेको अतिरिक्त रकम निश्चित अवधिका लागि राष्ट्र बैंकमा राख्न पाउँछन् र त्यसबापत ब्याज प्राप्त गर्छन् ।