बिहीबार , मंसिर ३ गते २०८३

निक्षेप बढ्दा पनि कर्जा विस्तार सुस्त, वित्तीय स्रोतको उपयोगमा चुनौती


मंसिर २, २०८३ बुधबार
निक्षेप बढ्दा पनि कर्जा विस्तार सुस्त, वित्तीय स्रोतको उपयोगमा चुनौती

बैंक तथा वित्तीय संस्थामा निक्षेप र समग्र वित्तीय स्रोत बढे पनि त्यसअनुसार कर्जा प्रवाह विस्तार हुन सकेको छैन। वाणिज्य बैंकको निक्षेप १४.६ प्रतिशतले बढ्दा कर्जा तथा लगानीको वृद्धि ४.२ प्रतिशतमा सीमित छ। विकास बैंक र वित्त कम्पनीमा पनि स्रोत परिचालनको तुलनामा कर्जा विस्तार कमजोर देखिएको छ।

काठमाडाैं । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाको स्रोत परिचालन र उपयोगबीच असन्तुलन देखिएको छ। एकातिर निक्षेप तथा अन्य वित्तीय स्रोत बढिरहेका छन् भने अर्कातिर निजी क्षेत्रमा कर्जा प्रवाह अपेक्षाकृत सुस्त छ। यसले वित्तीय प्रणालीमा पर्याप्त स्रोत उपलब्ध भए पनि त्यसलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने चुनौती कायमै रहेको देखाउँछ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकको कुल सम्पत्ति तथा दायित्व १३.९ प्रतिशतले बढेर नौ खर्ब २२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो वृद्धि १२ प्रतिशत थियो। बैंकहरूको कुल निक्षेप परिचालन १४.६ प्रतिशतले बढेर सात खर्ब ४८ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष निक्षेप वृद्धिदर १३.७ प्रतिशत थियो।

निक्षेपको संरचनामा भने उल्लेख्य परिवर्तन देखिएको छ। समीक्षा वर्षमा वाणिज्य बैंकको चालु तथा बचत निक्षेप क्रमशः २९.९ र ४५.६ प्रतिशतले बढेको छ भने मुद्दती निक्षेप १५.३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष चालु तथा बचत निक्षेप क्रमशः ३८.९ र ३६.५ प्रतिशतले बढेका थिए भने मुद्दती निक्षेप दुई प्रतिशतले बढेको थियो।

निक्षेप बढे पनि कर्जा तथा लगानीको विस्तार कमजोर छ। वाणिज्य बैंकको कर्जा तथा लगानी ४.२ प्रतिशतले बढेर छ खर्ब ५५ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो वृद्धि ७.२ प्रतिशत थियो। निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष निजी क्षेत्रको कर्जा वृद्धि ८.६ प्रतिशत थियो। समीक्षा वर्षको अन्त्यमा वाणिज्य बैंकबाट निजी क्षेत्रमा प्रवाहित कर्जा कुल गार्हस्थ्य उत्पादनको ७८.८ प्रतिशत पुगेको छ।

वाणिज्य बैंकले तोकिएका प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गरेको कर्जा कुल कर्जाको ३८.१४ प्रतिशत अर्थात् १९ खर्ब ६४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। यसमध्ये कृषि क्षेत्रमा १३.१२ प्रतिशत र गैरकृषि क्षेत्रमा २५.०२ प्रतिशत कर्जा प्रवाह भएको छ। अर्कोतर्फ सरकारी ऋणपत्रमा बैंकहरूको लगानी ९.२ प्रतिशतले घटेर नौ खर्ब ३६ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ।

बैंकहरूको तरल सम्पत्ति कुल निक्षेपको २४.०६ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अनुपात २६.७ प्रतिशत थियो। तरल सम्पत्तिमध्ये तरल कोष २०.९ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ। यसले बैंकिङ प्रणालीमा तरलता रहे पनि त्यसको उपयोग र कर्जा विस्तारको गति समान नरहेको देखाउँछ।

विकास बैंक र वित्त कम्पनीमा पनि सुस्त कर्जा विस्तार

विकास बैंकहरूको कुल सम्पत्ति तथा दायित्व समीक्षा वर्षमा ५.८ प्रतिशतले बढेर सात खर्ब ७९ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। निक्षेप ५.७ प्रतिशतले बढेर छ खर्ब ६५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। विकास बैंकको तरल सम्पत्ति कुल निक्षेपको १६.८ प्रतिशत रहेको छ।

तर, विकास बैंकको कर्जा तथा लगानी वृद्धि दुई प्रतिशतमा सीमित भएको छ। समीक्षा वर्षको अन्त्यमा कर्जा तथा लगानी छ खर्ब ७३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। निजी क्षेत्रमा प्रवाहित कर्जा सात प्रतिशतले बढेर पाँच खर्ब ४७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ६.३ प्रतिशत हो। विकास बैंकबाट कृषि, लघु, घरेलु तथा साना उद्यम, ऊर्जा, पर्यटन र सूचना प्रविधिलगायत प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २२.६१ प्रतिशत लगानी भएको छ।

वित्त कम्पनीको अवस्था पनि उस्तै देखिन्छ। तिनको कुल सम्पत्ति तथा दायित्व ८.३ प्रतिशतले बढेर एक खर्ब ९० अर्ब १८ करोड रुपैयाँ पुगेको छ। निक्षेप परिचालन ९.५ प्रतिशतले बढेर एक खर्ब ४२ अर्ब ६१ करोड रुपैयाँ पुगे पनि कर्जा तथा लगानी तीन प्रतिशतले मात्रै बढेर एक खर्ब ५२ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। निजी क्षेत्रमा प्रवाहित कर्जा ५.४ प्रतिशतले बढेर एक खर्ब नौ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ। वित्त कम्पनीको निजी क्षेत्रतर्फको कर्जा कुल गार्हस्थ्य उत्पादनको १.७ प्रतिशत हो। 

वित्त कम्पनीको तरल सम्पत्ति कुल निक्षेपको १८.७ प्रतिशत रहेको छ। प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह भएको कर्जा कुल कर्जाको २३.१ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ।

लघुवित्तमा कर्जा लगानी निक्षेपभन्दा ठूलो

लघुवित्त वित्तीय संस्थाको कुल सम्पत्ति तथा दायित्व ८.७ प्रतिशतले बढेर छ खर्ब ५० अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा संस्थाहरूको निक्षेप दुई खर्ब ३१ अर्ब ८९ करोड र सापटी दुई खर्ब ४४ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। कुल कर्जा तथा लगानी पाँच खर्ब ३५ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ भने अन्य लगानी नौ अर्ब ९० करोड रुपैयाँ छ।

लघुवित्तको स्रोत संरचनामा सापटीको हिस्सा निक्षेपभन्दा बढी देखिन्छ। निक्षेप र सापटीबाट जुटेको स्रोतको तुलनामा कर्जा तथा लगानीको आकार ठूलो हुनु यस क्षेत्रको वित्तीय संरचनाको महत्त्वपूर्ण पक्ष हो। यसले लघुवित्त संस्थाको कर्जा परिचालनमा बाह्य स्रोतको भूमिका उल्लेख्य रहेको देखाउँछ।

नेपाल पूर्वाधार विकास बैंकको कुल सम्पत्ति तथा दायित्व भने ०.७ प्रतिशतले घटेर ४२ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ। बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड र कर्जा तथा लगानी ३१ अर्ब ६३ करोड रुपैयाँ रहेको छ।

गैरबैंकिङ संस्थामा पनि स्रोतको विस्तार

बैंकबाहेकका वित्तीय संस्थामा पनि स्रोत परिचालन बढेको छ। बीमा कम्पनीहरूको कुल सम्पत्ति तथा दायित्व १४.४ प्रतिशतले बढेर १२ खर्ब ५१ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। कर्मचारी सञ्चय कोषको सम्पत्ति तथा दायित्व १२.५ प्रतिशतले बढेर सात खर्ब ९० करोड रुपैयाँ पुगेको छ। कोषमा सञ्चयकर्ताको सञ्चित रकम ११.९ प्रतिशतले बढेर छ खर्ब ४८ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

नागरिक लगानी कोषको कुल सम्पत्ति तथा दायित्व १६.६ प्रतिशतले बढेर तीन खर्ब ६२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। कोषको दायित्वतर्फ उल्लेख्य हिस्सा ओगट्ने कोष सङ्कलन १९.३ प्रतिशतले बढेर तीन खर्ब २४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा तथा सापटी १५.४ प्रतिशतले बढेर एक खर्ब पाँच करोड २० लाख रुपैयाँ पुगेको छ।

सामाजिक सुरक्षा कोषको सम्पत्ति तथा दायित्व २४ प्रतिशतले बढेर एक खर्ब ५१ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। योगदानकर्ताबाट सङ्कलित रकम एक खर्ब २२ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। असार २०८३ सम्म वैदेशिक रोजगारी, औपचारिक, अनौपचारिक र स्वरोजगार क्षेत्रका गरी ३० लाख ४७ हजार ४५० योगदानकर्ता कोषमा आबद्ध भएका छन्। यसमा औपचारिक क्षेत्रका ७ लाख १६ हजार १६८ योगदानकर्ता र २३ हजार ५०० रोजगारदाता संस्था आबद्ध छन्।

निक्षेप तथा कर्जा सुरक्षण कोषले असार २०८३ सम्म तीन खर्ब ६९ अर्ब ५५ करोड रुपैयाँ बराबरको कर्जा र एक खर्ब ८५ अर्ब ७१ करोड रुपैयाँ बराबरको निक्षेप सुरक्षण गरेको छ। प्राकृतिक व्यक्तिको नाममा बचत तथा मुद्दती खातामा रहेको पाँच लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गर्ने व्यवस्थासहित विभिन्न प्राथमिकता प्राप्त क्षेत्रका कर्जाको सुरक्षण गर्दै आएको कोषको कारोबार पनि विस्तार भएको छ।

वित्तीय प्रणालीमा वाणिज्य बैंककै ठूलो हिस्सा

असार २०८३ सम्म नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त १०५ बैंक तथा वित्तीय संस्था र सीमित बैंकिङ कारोबार गर्ने १५ संस्था सञ्चालनमा थिए। यसबाहेक ३७ बीमा कम्पनी, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसमेत गरी कुल १५९ बैंक तथा गैरबैंक वित्तीय संस्था सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्ष यस्तो संख्या १६१ थियो।

समग्र वित्तीय प्रणालीको कुल सम्पत्ति तथा दायित्वमा वाणिज्य बैंकको हिस्सा ५३.९ प्रतिशत छ। नेपाल राष्ट्र बैंकको हिस्सा २२.७ प्रतिशत, बीमा कम्पनीको ७.३ प्रतिशत, कर्मचारी सञ्चय कोषको ४.१ प्रतिशत, लघुवित्तको ३.८ प्रतिशत र नागरिक लगानी कोषको २.१ प्रतिशत छ। विकास बैंकको हिस्सा ४.७ प्रतिशत, वित्त कम्पनीको १.१ प्रतिशत र पूर्वाधार विकास बैंकको ०.३ प्रतिशत रहेको छ।

वित्तीय प्रणालीको कुल सम्पत्ति तथा दायित्व कुल गार्हस्थ्य उत्पादनको २२३.९ प्रतिशत पुगेको छ। यसले अर्थतन्त्रको आकारको तुलनामा वित्तीय प्रणालीको स्रोत परिचालन ठूलो रहेको देखाउँछ। तर त्यसको ठूलो हिस्सा वाणिज्य बैंकमा केन्द्रित छ।

शाखा घटे, डिजिटल पहुँच बढ्यो

वित्तीय संस्थाको शाखा सञ्जाल भने केही खुम्चिएको छ। बैंक तथा वित्तीय संस्थाका शाखा संख्या अघिल्लो वर्ष ११ हजार ५२६ रहेकामा असार २०८३ मा घटेर ११ हजार ३३२ पुगेको छ। यससँगै प्रतिशाखा जनसंख्या दुई हजार ५३० बाट बढेर दुई हजार ५७४ पुगेको छ।

प्रदेशगत रूपमा सबैभन्दा बढी शाखा बागमतीमा दुई हजार ९२२ र सबैभन्दा कम कर्णालीमा ४८० छन्। अघिल्लो वर्ष बागमतीमा तीन हजार ३८ र कर्णालीमा ४७९ शाखा थिए। शाखा संख्या घट्नु र प्रतिशाखा जनसंख्या बढ्नुले भौतिक पहुँच विस्तारमा चुनौती देखाउँछ।

अर्कोतर्फ डिजिटल बैंकिङको प्रयोग बढेको छ। मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ७७ लाखबाट बढेर तीन करोड एक लाख पुगेका छन्। डेबिट कार्ड प्रयोगकर्ता भने करिब एक करोड ३७ लाखको हाराहारीमा स्थिर छन्। बैंकिङ सेवा विस्तारमा डिजिटल माध्यमको भूमिका बढ्दै गएको यसले देखाउँछ।

पुँजी बजार कारोबार र पुँजीकरण दुवै घट्यो

समीक्षा वर्षमा पुँजी बजारका सूचक पनि कमजोर बनेका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ७ प्रतिशतले घटेर असार २०८३ मा २ हजार ५९७.८ विन्दुमा झरेको छ। अघिल्लो वर्ष नेप्से सूचक २४.७ प्रतिशतले बढेर २ हजार ७९४.८ विन्दुमा पुगेको थियो।

धितोपत्र बजारको वार्षिक कारोबार रकम २०.९ प्रतिशतले घटेर १६ खर्ब एक अर्ब ८८ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यस्तो कारोबार २१ खर्ब २४ अर्ब ९५ करोड रुपैयाँ थियो। बजार पुँजीकरण पनि ४.२ प्रतिशतले घटेर ४४ खर्ब ६३ अर्ब ५५ करोड रुपैयाँ कायम भएको छ। कुल गार्हस्थ्य उत्पादनसँगको बजार पुँजीकरणको अनुपात ७५.११ प्रतिशतबाट घटेर ६७.६३ प्रतिशतमा झरेको छ।

बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५१.८ प्रतिशत छ। जलविद्युत् क्षेत्रको १७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको ८.४ प्रतिशत र लगानी कम्पनीको ६.७ प्रतिशत हिस्सा छ। नेप्सेमा सूचीकृत कम्पनीको संख्या भने २७२ बाट बढेर ३०२ पुगेको छ।

समीक्षा वर्षमा सूचीकृत सेयरको कुल चुक्ता मूल्य ८.५ प्रतिशतले बढेर नौ खर्ब ४४ अर्ब चार करोड रुपैयाँ पुगेको छ। यस अवधिमा थप एक खर्ब ५७ अर्ब छ करोड रुपैयाँ बराबरका विभिन्न धितोपत्र सूचीकृत भएका छन्। यसमा साधारण सेयर, बोनस सेयर, म्युचुअल फन्ड, परिवर्तनीय अग्राधिकार सेयर, हकप्रद सेयर र ऋणपत्रलगायत छन्।

स्रोत बढ्नु मात्रै पर्याप्त होइन

राष्ट्र बैंकको प्रतिवेदनले वित्तीय प्रणालीमा निक्षेप तथा अन्य स्रोतको विस्तार भइरहेको देखाए पनि त्यसअनुसार कर्जा तथा लगानी विस्तार हुन नसकेको स्पष्ट गर्छ। वाणिज्य बैंकमा निक्षेप वृद्धि र कर्जा वृद्धिबीचको अन्तर, विकास बैंक तथा वित्त कम्पनीको सुस्त कर्जा विस्तार र पुँजी बजारको घट्दो कारोबारले वित्तीय स्रोतको उपयोग प्रभावकारी बनाउने चुनौती देखाएका छन्।

वित्तीय संस्थामा स्रोत थुप्रिनु मात्रै अर्थतन्त्रका लागि उपलब्धि होइन। ती स्रोत उत्पादन, उद्यम, रोजगारी र पूर्वाधार निर्माणमा कति परिचालन भए भन्ने महत्त्वपूर्ण हुन्छ। त्यसैले वित्तीय क्षेत्रको आगामी चुनौती स्रोत जुटाउनेभन्दा पनि जोखिम व्यवस्थापन गर्दै उत्पादनशील क्षेत्रमा लगानी बढाउने देखिन्छ।