काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर तथा जरिबानाको दायित्वका कारण लामो समयदेखि समस्यामा परेका करदातालाई लक्षित गरी सरकारले ल्याएको विशेष सुविधाको लाभ उठाउन आग्रह गरेका छन् । उनले सरकारले ठूलो साहसका साथ ल्याएको उक्त सुविधाबाट वर्षौंदेखिका खर्बौं रुपैयाँ बराबरका कर विवाद समाधान गर्ने अवसर रहेको बताएका छन् ।
राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले बजेटमार्फत ल्याएको करसम्बन्धी सुविधाको पर्याप्त प्रचारप्रसार हुन नसकेको गुनासो गरे । सरकारको निर्णयप्रति इमानदारी र विश्वास कायम हुन सके मात्रै यस्ता निर्णय लिन सम्भव हुने उनको भनाइ थियो ।
‘हामीमा इमान नभएसम्म सरकारले यति साहसी निर्णय गर्नै सक्दैन । खर्बौंका विवाद सल्ट्याउन यो ठूलो अवसर हो,’ उनले भने । अहिले मुलुकमा लगानीका पर्याप्त अवसर रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा पनि लगानी विस्तार हुन नसके निजी क्षेत्रले समेत त्यसको कारण स्पष्ट पार्नुपर्ने बताए ।
उनले प्रतिकूल परिस्थितिका बीच पनि कात्तिकसम्म भन्सारबाट राजस्व सङ्कलनको लक्ष्य पूरा भएको जानकारी दिए । चालु आर्थिक वर्षमा सरकारले महत्वाकाङ्क्षी राजस्व लक्ष्य राखेको उल्लेख गर्दै उनले सुशासनका माध्यमबाट लक्ष्य हासिल गर्ने बताए । त्यसका लागि आफू स्वयं कार्यक्षेत्रमा खटिएर काम गर्ने उनको भनाइ थियो । राजस्व प्रशासनले इमानदार करदातालाई अनावश्यक दुःख दिन नहुनेमा सरकार स्पष्ट रहेको पनि उनले बताए ।
१९ विधामा करदाता सम्मान
यसैबीच, राष्ट्रिय कर दिवसका अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । अर्थमन्त्री वाग्लेले काठमाडौंमा आयोजित कार्यक्रममा उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् ।
यस वर्ष भाटभटेनी सुपरमार्केटले विशेष सम्मान प्राप्त गरेको छ । प्रतिकूल परिस्थितिमा पनि व्यवसाय सञ्चालनलाई निरन्तरता दिँदै राजस्व र रोजगारीमा योगदान पुर्याएको भन्दै कम्पनीलाई सम्मान गरिएको हो ।
२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा पसलमा आगजनी, लुटपाट र तोडफोड हुँदा अर्बौं रुपैयाँको क्षति भएको थियो । ठूलो क्षतिका बाबजुद कुनै पनि कर्मचारीको रोजगारी नगुमाई पुनः लगानी गरेर कम्पनीले आफ्ना अधिकांश पसल सञ्चालनमा ल्याएको जनाएको छ ।
नेपालपत्र संवाददाता