काठमाडाैं । नेपालको औपचारिक बैंकिङ प्रणालीको जग बसालेको नेपाल बैंक लिमिटेडले स्थापनाको ९० वर्ष पूरा गरेको छ । साहुमहाजनको परम्परागत ऋण प्रणालीलाई विस्थापित गर्दै सर्वसाधारणको निक्षेप संकलन र कर्जा प्रवाह सुरु गरेको मुलुककै पहिलो बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
सोमबार ९०औँ वार्षिकोत्सव मनाउन लागेको बैंकको कुल निक्षेप ४ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी २ खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ । आठ लाख ४२ हजार रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको बैंकको पुँजी अहिले १५ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
स्थापनाको समयमा १२ जना कर्मचारीबाट सेवा सुरु गरेको बैंकमा अहिले करिब तीन हजार ६ सय कर्मचारी कार्यरत छन् । बैंकको जगेडा कोष करिब २५ अर्ब र कुल नेटवर्थ ४२ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, सरकारी सुरक्षणपत्रलगायत विभिन्न क्षेत्रमा बैंकको करिब १ खर्ब ५० अर्ब रुपैयाँ लगानी रहेको छ ।
नेपाल राष्ट्र बैंक स्थापना हुनुअघि नै खुलेको बैंकले समयअनुसार प्रविधि र सेवा विस्तार गर्दै प्रतिस्पर्धी बैंकका रूपमा आफूलाई स्थापित गरेको प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले बताए । उनका अनुसार बैंकको जोखिम भारित पुँजी पर्याप्तता अनुपात १३.६६ प्रतिशत कायम छ ।
९० वर्षअघि औपचारिक बैंकिङ सेवाको सुरुवात गरेको नेपाल बैंक अहिले डिजिटल बैंकिङ र आधुनिक वित्तीय सेवामार्फत प्रतिस्पर्धामा उत्रिएको छ ।
नेपालपत्र संवाददाता