मंगलबार, मंसिर १ गते २०८३

निक्षेपमा ब्याजदर घट्दो, मुद्दतीको आकर्षण पनि खुम्चिँदै


कार्तिक ३०, २०८३ सोमबार
निक्षेपमा ब्याजदर घट्दो, मुद्दतीको आकर्षण पनि खुम्चिँदै

काठमाडाैं । बैंकहरूमा पर्याप्त तरलता रहेसँगै निक्षेपको ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको छ । मंसिर महिनाका लागि अधिकांश वाणिज्य बैंकले ब्याजदर स्थिर राखे पनि केहीले घटाएका छन् । ब्याजदर घट्दै जाँदा निक्षेपकर्ताको प्रतिफल खुम्चिएको छ भने बैंकहरूको लागत कम भएर कर्जा ब्याजदर सस्तो हुने आधार बनेको छ ।

मंसिर १ गतेदेखि लागू हुने नयाँ दरअनुसार २० वाणिज्य बैंकमध्ये ६ वटाले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने १४ वटाले कात्तिककै दरलाई निरन्तरता दिएका छन् । कृषि विकास, कुमारी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, एनएमबि र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ब्याजदर घटाएका हुन् ।

माछापुच्छ्रे बैंकले ४.५० प्रतिशतबाट ३.५० र एनएमबि बैंकले ४.५० बाट ३.२५ प्रतिशतमा झारेका छन् । यससँगै व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर कात्तिकको ३.९८ प्रतिशतबाट घटेर मंसिरमा ३.८७ प्रतिशत कायम भएको छ । सबैभन्दा बढी ब्याजदर सानिमा बैंकले ४.५० प्रतिशत दिएको छ ।

ब्याजदर घट्नुको प्रभाव निक्षेपको संरचनामा समेत देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल निक्षेपमा मुद्दतीको हिस्सा दुई वर्षअघि २०८० भदौमा ६१.२ प्रतिशत रहेकोमा २०८३ भदौमा घटेर ३४.७ प्रतिशतमा सीमित भएको छ । यस अवधिमा बचत निक्षेपको हिस्सा भने २५.९ प्रतिशतबाट बढेर ४८ प्रतिशत पुगेको छ ।

२०८२ भदौको तुलनामा २०८३ भदौमा मुद्दती निक्षेप करिब ७ खर्ब ४४ अर्ब रुपैयाँले घटेको छ । जबकि सोही अवधिमा कुल निक्षेप १० खर्ब ५२ अर्ब रुपैयाँले बढेको छ । बचत निक्षेपमा भने करिब १२ खर्ब ३५ अर्ब रुपैयाँ थपिएको छ । यसले निक्षेपकर्ताको मुद्दतीभन्दा कम ब्याजदर पाइने बचत खाताप्रतिको आकर्षण बढेको देखाउँछ ।

कोभिडपछि कर्जा विस्तारका क्रममा तरलता अभाव हुँदा बैंकहरूले उच्च ब्याज र अतिरिक्त सुविधा दिएर मुद्दती निक्षेप आकर्षित गरेका थिए । अहिले पर्याप्त तरलता भएपछि त्यस्तो प्रतिस्पर्धा कमजोर बनेको नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । उनका अनुसार बैंकहरूलाई निक्षेप तान्नुपर्ने दबाब नरहेकाले मुद्दती योजनालाई प्राथमिकता दिन छाडेका हुन् ।

निक्षेपको लागत घट्दा बैंकहरूलाई कर्जा सस्तो बनाउन सहज भए पनि मुद्दती निक्षेपको हिस्सा घट्नुले दीर्घकालीन लगानीमा चुनौती थप्न सक्छ । विशेषगरी जलविद्युत्, पूर्वाधार र औद्योगिक परियोजनाका लागि लामो अवधिको स्थिर स्रोत आवश्यक पर्ने भएकाले निक्षेप र कर्जाको अवधिबीच तालमेल हुनुपर्ने विज्ञहरूको भनाइ छ । तर, दाहाल भने बचतमा सरेको रकम पनि बैंकिङ प्रणालीमै रहने भएकाले त्यसलाई स्रोत अभावका रूपमा हेर्न नहुने बताउँछन् ।