सोमबार, मंसिर १ गते २०८३

भारतीय बजार प्रवेश सहज बनाउन नेपालमै परीक्षण प्रयोगशाला प्रस्ताव

कार्तिक ३०, २०८३ आइतबार
भारतीय बजार प्रवेश सहज बनाउन नेपालमै परीक्षण प्रयोगशाला प्रस्ताव

नेपाली उत्पादनको भारतीय बजार प्रवेशमा देखिँदै आएको गुणस्तर प्रमाणीकरणसम्बन्धी प्रक्रियागत झन्झट हटाउन र स्वदेशमै परीक्षण प्रयोगशाला स्थापना गर्न नेपालले भारतसँग प्रस्ताव गरेको छ । भारतीय मानक ब्युरो (बीआईएस) को प्रमाणपत्र लिन लामो समय र ठूलो लागत व्यहोर्नुपर्ने बाध्यता हटाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले भारतीय पक्षसँग यस्तो प्रस्ताव गरेका हुन् ।

३१औँ साझेदारी शिखर सम्मेलनमा सहभागी हुने क्रममा भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनममा भारतीय वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलसँग भएको द्विपक्षीय भेटवार्तामा मन्त्री साहले नेपाली उत्पादनको गुणस्तर परीक्षण तथा प्रमाणीकरण प्रक्रिया सरल र समयबद्ध बनाउन आग्रह गरे । उनले सिमेन्ट, स्टिल, प्लाइउड, जुत्ता, धागोलगायतका औद्योगिक उत्पादनलाई भारतीय बजारमा प्रवेश गर्न सहज हुने व्यवस्था मिलाउन प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ ।

भेटमा भारतीय मन्त्री गोयलले नेपालमै भारतीय मानक ब्युरोको मापदण्डअनुसार परीक्षण प्रयोगशाला स्थापना गर्ने प्रस्तावप्रति सकारात्मक चासो देखाएका थिए । नेपाली पक्षले उठाएका विषयमा सम्बन्धित निकायबीच समन्वय र प्राविधिक छलफल गरी समाधान खोज्नुपर्ने उनको भनाइ थियो ।

नेपालमै अन्तर्राष्ट्रियस्तरको गुणस्तर परीक्षण तथा प्रमाणीकरण सुविधा उपलब्ध भए नेपाली उद्योगले भारतमा निर्यात गर्दा दोहोरो परीक्षण, अतिरिक्त खर्च र लामो प्रक्रियाबाट मुक्ति पाउने अपेक्षा गरिएको छ । यसले नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउनुका साथै भारतीय बजारमा निर्यात विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । भेटवार्तामा व्यापार तथा पारवहन सहजीकरणका अन्य विषयसमेत उठाइएको थियो ।