काठमाडौं । पृथ्वी राजमार्गमा सञ्चालित होटल तथा रेस्टुरेन्टको खाद्य स्वच्छता र सेवा गुणस्तर परीक्षण गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वर्गीकरण सुरु गरेको छ। विभागले यातायात व्यवस्था विभागसँगको सहकार्यमा नौबिसेदेखि धादिङ, मुग्लिङ हुँदै चितवनको रामनगरसम्म अनुगमन थालेको हो।
सोमबारदेखि दुई टोली परिचालन गरी गरिएको अनुगमनमा हालसम्म ४० वटा होटल तथा रेस्टुरेन्टको निरीक्षण गरिएको छ। तीमध्ये १७ वटा होटल ‘बी’ वर्गमा परेका छन्। विभागका महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार मापदण्ड पूरा गरेका ती होटलमा खाद्य स्वच्छताको ‘बी’ वर्गको स्टिकरसमेत टाँसिएको छ।
विभागले राजमार्गका होटल तथा रेस्टुरेन्टलाई खाद्य स्वच्छता, सरसफाइ र समग्र सेवा गुणस्तरका आधारमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार वर्गमा विभाजन गर्ने मापदण्ड बनाएको छ। ‘ए’ वर्गलाई उच्चस्तरीय, ‘बी’लाई स्तरीय, ‘सी’लाई मध्यम तथा ‘डी’लाई सुधार गर्नुपर्ने अवस्थाको होटलका रूपमा वर्गीकरण गरिनेछ।
अनुगमन गरिएका होटलमध्ये अहिलेसम्म ‘ए’ वर्गमा पर्ने कुनै होटल भेटिएको छैन। ‘सी’ वर्गमा पर्न सक्ने केही होटलमा सुधार आवश्यक देखिएको विभागले जनाएको छ। त्यस्तै, ‘डी’ वर्गमा पर्ने सम्भावना भएका होटलमा व्यापक सुधार आवश्यक देखिएकाले तत्काल स्टिकर नटाँसिएको विभागको भनाइ छ।
‘बी’ वर्गमा पर्ने होटलमा खाद्य पदार्थको स्वच्छता, भान्साको सरसफाइ, खाना पकाउने तथा भण्डारण गर्ने अवस्था र ग्राहकले खाने–बस्ने स्थानको सफाइजस्ता आधारभूत मापदण्ड पूरा भएको हुनुपर्नेछ। यस्ता होटलमा विभागले ‘खाद्य स्वच्छताको स्टिकर’ टाँसेर उपभोक्तालाई होटलको स्तरबारे जानकारी दिने व्यवस्था गरेको छ।
विभागका अनुसार वर्गीकरणको उद्देश्य होटललाई दण्डित गर्नु मात्र नभई राजमार्गमा यात्रा गर्ने यात्रुलाई सुरक्षित, स्वच्छ र गुणस्तरीय खाना तथा सेवा उपलब्ध गराउने वातावरण निर्माण गर्नु हो। मापदण्ड पूरा नगर्ने होटललाई आवश्यक सुधारका लागि निर्देशन दिने र पुनःअनुगमनमार्फत सुधारको अवस्था मूल्यांकन गरिने विभागले जनाएको छ।
नेपालपत्र संवाददाता