काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अर्थ मन्त्रालयद्वारा गठित छनोट समितिको सिफारिसका आधारमा सुवेदीलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । नियुक्तिपछि अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बुधबार सुवेदीलाई नियुक्तिपत्र प्रदान गरेका छन् । सो अवसरमा अर्थमन्त्री वाग्लेले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न नवनियुक्त सीईओलाई निर्देशन दिएका थिए ।
नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि आठ जनाले आवेदन दिएका थिए । तीमध्ये प्रताप सुवेदी, अनिलराज पौडेल, नवराज सापकोटा र नारायणप्रसाद सापकोटा अन्तिम प्रतिस्पर्धामा पुगेका थिए । चारै जनाले व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुका साथै अन्तर्वार्तामा सहभागिता जनाएका थिए । छनोट समितिको सिफारिसपछि सरकारले सुवेदीलाई नियुक्त गरेको हो ।
नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले गत असार २२ गते व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो । त्यसयता नेप्से निमित्त नेतृत्वका भरमा सञ्चालन हुँदै आएको थियो । नयाँ नियुक्तिसँगै करिब चार महिनादेखि रिक्त रहेको नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा स्थायी नेतृत्व आएको छ ।
नेप्सेको नेतृत्व सम्हाल्न लागेका सुवेदीसामु नेपालको पुँजी बजारको संस्थागत तथा प्राविधिक सुधारलाई गति दिने चुनौती रहेको छ । विशेषगरी सेयर कारोबार प्रणालीको आधुनिकीकरण, बजार पूर्वाधारको विकास, कारोबारलाई थप पारदर्शी बनाउने तथा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने विषय उनका लागि प्राथमिक रूपमा रहनेछन् ।
त्यसैगरी, पुँजी बजारमा नयाँ वित्तीय उपकरणको कारोबार विस्तार, लगानीकर्ताले भोग्दै आएका प्राविधिक तथा प्रक्रियागत समस्या समाधान र नियामक निकायसँगको समन्वयलाई प्रभावकारी बनाउनु उनको महत्वपूर्ण जिम्मेवारी रहनेछ।
नेपालपत्र संवाददाता