काठमाडाैं । कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनीहरूलाई विगतका आर्थिक वर्षमा लागेका कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहासहित विवरण अद्यावधिक गर्ने सुविधा दिएको छ। कार्यालयले यस्तो सुविधा उपयोग गर्नुपर्ने म्याद चालु आर्थिक वर्ष २०८३/८४ को पुस मसान्तसम्म थप गरेको हो।
कार्यालयका अनुसार कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भई सञ्चालनमा रहेका कम्पनीले कारोबारलाई निरन्तरता दिन वा कम्पनी दर्ता खारेज गर्न चाहेमा यो सुविधा लिन सक्नेछन्। त्यसका लागि आर्थिक ऐन, २०८३ को दफा ४८ बमोजिम बुझाउनुपर्ने विवरण पेस गरी चालु आर्थिक वर्षमा कानुनअनुसार लाग्ने कर, शुल्क, दस्तुर तथा जरिवाना दाखिला गर्नुपर्नेछ।
यसरी पुस मसान्तभित्र आवश्यक विवरण पेस गरी चालु आर्थिक वर्षको दायित्व भुक्तानी गरेमा आर्थिक वर्ष २०८२/८३ भन्दा अघिका आर्थिक वर्षमा लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुने कार्यालयले जनाएको छ। सुविधा लिन चाहने कम्पनीले आर्थिक वर्ष २०८२/८३ भन्दा अघिका आर्थिक वर्षको विवरणसमेत कार्यालयको अनलाइन प्रणाली (सीएएमआईएस) मार्फत पुस मसान्तभित्रै पेस गर्नुपर्नेछ।
लामो समयदेखि विवरण नबुझाएका, कर तथा जरिवाना दायित्वका कारण निष्क्रिय रहेका वा दर्ता खारेज गर्न चाहेका कम्पनीलाई पुरानो दायित्वबाट मुक्त हुँदै कानुनी प्रक्रिया पूरा गर्ने अवसर दिएको छ।
नेपालपत्र संवाददाता