काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँमा टीका लगाउँदा दक्षिणास्वरूप दिइने बैंकनोटमा अबिर, रङ वा अन्य पदार्थ नलगाउन आग्रह गरेको छ । बैंकले नोटलाई नच्यात्न, नभिजाउन, नकोर्न र फोहोर नबनाउन अनुरोध गर्दै सकेसम्म डिजिटल माध्यमबाट दक्षिणा दिन पनि आग्रह गरेको हो ।
राष्ट्र बैंकका अनुसार बैंकनोटको सुरक्षा र सफाइमा ध्यान दिई नोटलाई सुक्खा तथा सुरक्षित स्थानमा राख्नुपर्छ । नोटलाई जथाभावी प्रयोग गर्दा त्यसको गुणस्तर बिग्रने र पुनः प्रयोगमा समस्या हुने भएकाले जिम्मेवारीपूर्वक प्रयोग गर्न बैंकले सचेत गराएको छ ।
दसैँमा टीका र जमरासँगै दक्षिणा दिने चलन रहेकाले नोटको जतनमा विशेष ध्यान दिन बैंकले आग्रह गरेको हो । बैंकले सफा र सुकिला नोट चलनचल्तीमा राख्ने नीतिअनुरूप सर्वसाधारणलाई नोटको सुरक्षित प्रयोग गर्न अनुरोध गरेको छ ।
राष्ट्र बैंकले नोटको जतन गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्दै दसैँको दक्षिणा दिँदा सम्भव भएसम्म डिजिटल भुक्तानी माध्यम प्रयोग गर्न सुझाव दिएको छ ।
नेपालपत्र संवाददाता