बुधबार, आश्विन २१ गते २०८३

सिटिजन्स क्यापिटलको २०औँ साधारणसभाबाट १३ प्रतिशत नगद लाभांश पारित


आश्विन २०, २०८३ मंगलबार
सिटिजन्स क्यापिटलको २०औँ साधारणसभाबाट १३ प्रतिशत नगद लाभांश पारित


काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको रजिस्टर्ड कार्यालय बाटुलेघर, डिल्लीबजारमा  सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण तथा नियमावलीअनुसार गरिएको सञ्चालक नियुक्तिलाई अनुमोदन गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेशनलको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति, सेयर रजिस्ट्रार र डिम्याट खातालगायत पूँजी बजारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । कम्पनीका अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सविर बादे श्रेष्ठ छन् ।

कम्पनीले काठमाडौं उपत्यकाबाहिरका लगानीकर्तालाई पूँजी बजारमा सहज पहुँच पुर्‍याउने उद्देश्यले सिटिजन्स बैंकका देशभरका शाखामार्फत समेत आफ्ना सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । यसबाट लगानीकर्तालाई व्यवस्थित लगानी सेवामा पहुँच विस्तार गर्दै दीर्घकालीन र अनुशासित लगानी संस्कार विकासमा योगदान पुग्ने कम्पनीको अपेक्षा छ।