काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टीएसएन) बीच नेपालको स्टार्टअप तथा उद्यमशीलता इकोसिस्टम सुदृढ बनाउन समझदारी भएको छ।
समझदारीअनुसार दुवै संस्थाले संयुक्त रूपमा ‘फाउन्डर्स हब’ नामक इन्क्युबेसन तथा एक्सेलेरेसन कार्यक्रम सञ्चालन गर्नेछन्। कार्यक्रममार्फत प्रत्येक वर्ष १०० वटा स्टार्टअपलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। सहभागी स्टार्टअपलाई व्यवसाय विकास, परामर्श, उद्योगसँगको पहुँच, सम्बन्ध विस्तार, लगानीको तयारी तथा सम्भावित लगानीकर्तासँग जोड्ने व्यवस्था गरिने जनाइएको छ।
समझदारीपत्रमा सीएनआईवाइईएफका निवर्तमान अध्यक्ष मनिष श्रेष्ठ र टीएसएनका प्रमुख सञ्चालन अधिकृत सौगात ओझाले हस्ताक्षर गरेका छन्। साझेदारीअन्तर्गत सीएनआईवाइईएफले आफ्ना सदस्य तथा साझेदार संस्थाको सञ्जालमार्फत सम्भावित प्रायोजक, संस्थागत साझेदार र अन्य सरोकारवालासँग सहकार्य विस्तारमा सहजीकरण गर्नेछ। कार्यक्रम काठमाडौंमा सीमित नराखी विभिन्न सहर तथा उदीयमान उद्यमशीलता केन्द्रसम्म विस्तार गर्दै स्थानीयस्तरमै नयाँ व्यवसाय र उद्यमी विकास गर्ने लक्ष्य लिइएको छ।
नेपालपत्र संवाददाता