शनिबार, आश्विन १७ गते २०८३

लघुवित्तमा कर्जा विस्तार सुस्त, निष्क्रिय कर्जा १०.४२ प्रतिशत


आश्विन ७, २०८३ बुधबार
लघुवित्तमा कर्जा विस्तार सुस्त, निष्क्रिय कर्जा १०.४२ प्रतिशत

काठमाडाैं । नेपाल राष्ट्र बैंकको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदनअनुसार लघुवित्त वित्तीय संस्थाको कर्जा गुणस्तरमा दबाब बढेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमाससम्म खुद्रा लघुवित्त संस्थाको निष्क्रिय कर्जा (एनपीएल) ६३.८३ प्रतिशतले बढेर करिब ५० अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। यससँगै कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात अघिल्लो अवधिको करिब ७ प्रतिशतबाट बढेर १०.४२ प्रतिशत पुगेको छ। खुद्रा लघुवित्त संस्थाको कुल कर्जा तथा सापटी १०.०९ प्रतिशतले बढेर ४ खर्ब ८७ अर्ब ७३ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिको अन्त्यसम्म ५१ वटा लघुवित्त वित्तीय संस्था सञ्चालनमा रहेका छन्, जसमा तीन वटा थोक कर्जा प्रदायक र ४८ वटा खुद्रा लघुवित्त संस्था छन्। ती संस्थाका शाखा संख्या ४ हजार ९२४ रहेको छ। लघुवित्तका सदस्य संख्या ६५ लाख ३० हजार पुगे पनि ऋणी संख्या २७ लाख १३ हजारमा सीमित छ। संस्थाहरूको प्राथमिक पुँजी अनुपात ११.४० प्रतिशत र पुँजी कोष अनुपात १२.५६ प्रतिशत रहेको छ। त्यस्तै, कुल कर्जा नोक्सानी व्यवस्था ३७ अर्ब १९ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार लघुवित्त संस्थाको कुल कर्जामध्ये कृषि क्षेत्रमा ५८.६३ प्रतिशत कर्जा प्रवाह भएको छ भने सेवा तथा व्यवसाय क्षेत्रमा २०.४५ प्रतिशत र थोक कर्जातर्फ ८.६५ प्रतिशत कर्जा रहेको छ। अधिकांश संस्थाले अनिवार्य नगद मौज्दात, तरलता तथा बचतको ब्याजदरसम्बन्धी व्यवस्था पालना गरेका छन्। यद्यपि केही संस्थाबाट राष्ट्र बैंकको सूचना प्रणालीमा आवश्यक विवरण नियमित वा पूर्ण रूपमा प्राप्त नभएको जनाइएको छ। थोक लघुवित्त संस्थाको खुद नाफा भने २३.२७ प्रतिशतले घटेर ९८ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ भने खुद्रा लघुवित्तको खुद नाफा ४८.१४ प्रतिशतले बढेर १० अर्ब ७८ करोड ६८ लाख रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ।