शनिबार, आश्विन १७ गते २०८३

भोटेकोशी बाढीले रोकिएको १७६ मेगावाट विद्युत् जोड्न प्रसारण लाइन बनाइँदै

आश्विन ७, २०८३ बुधबार
भोटेकोशी बाढीले रोकिएको १७६ मेगावाट विद्युत् जोड्न प्रसारण लाइन बनाइँदै

काठमाण्डाै । भोटेकोशी बाढीका कारण क्षतिग्रस्त प्रसारण संरचनाबाट रोकिएको करिब १७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण लाइन निर्माण अघि बढाएको छ।

बाढीले त्रिशूली–भोटेकोशी करिडोरका प्रसारण संरचनामा क्षति पुर्‍याएपछि १५५.१ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना र नुवाकोटको तादीखोलाका तीन आयोजनाबाट उत्पादित २१ मेगावाट विद्युत् प्रसारण हुन सकेको छैन।

प्राधिकरणले क्षतिग्रस्त त्रिशूली–३ ‘बी’ हब सबस्टेसनलाई केन्द्रमा राखेर तत्कालका लागि वैकल्पिक प्रसारण मार्ग बनाउने योजना अघि सारेको हो। यसका लागि प्राधिकरणको इन्जिनियरिङ कम्पनीलाई वैकल्पिक मार्ग पहिचान र आवश्यक पूर्वाधार विकासको योजना बनाउन निर्देशन दिइएको थियो।

प्राधिकरण इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तन विक्रम रानाका अनुसार १८ वटा नयाँ टावर र तार जडान गरेर वैकल्पिक प्रसारण संरचना तयार गर्ने त्यसका लागि टावर राख्ने स्थान पहिचान र आवश्यक निर्माण सामग्रीको व्यवस्थापनको काम अघि बढिसकेको उहाँले बताउनुभयो।

योजना अनुसार चिलिमे सबस्टेसनबाट आउने विद्युत् अर्चले डाँडासम्म पुर्‍याएर डाँडैडाँडा हुँदै बाह्रबिसे फेदी नजिकबाट साबिकको त्रिशूली–काठमाडौं प्रसारण लाइनमा जोडिनेछ। त्यस्तै, समुद्रटार सबस्टेसनबाट आउने विद्युत्लाई पनि यही संरचनामार्फत मातातीर्थ सबस्टेसनसम्म पुर्‍याउने योजना छ।

प्राधिकरणका अनुसार आवश्यक सामग्री उपलब्ध हुने, वन क्षेत्रको रुख कटान र प्रसारण मार्गाधिकारसम्बन्धी समस्या नआउने हो भने वैकल्पिक प्रसारण संरचना करिब चार महिनामा निर्माण गर्न सकिने अनुमान छ। त्यसका लागि निर्माणाधीन अन्य प्रसारण आयोजनाका लागि खरिद गरिएका टावर तथा उपकरणसमेत प्रयोग गर्ने तयारी गरिएको छ।

बाढीका कारण अहिले सालासुँगी (सान्जेन), माथिल्लो सान्जेन, सान्जेन, माथिल्लो मैलुङ र मैलुङखोलासहितका आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा आउन सकेको छैन। त्यसैगरी समुद्रटार–त्रिशूली–३ ‘बी’ हब १३२ केभी प्रसारण लाइनबाट जोडिएका तादीखोलाका आयोजनाको उत्पादन पनि प्रभावित भएको छ।