शनिबार, आश्विन १७ गते २०८३

संघहरूको रूपान्तरण सहकारी बैंकको पूर्वाधार बन्न सक्छ


श्रावण २९, २०८३ शुक्रबार
संघहरूको रूपान्तरण  सहकारी बैंकको पूर्वाधार बन्न सक्छ

मुलुकको बचत तथा ऋण सहकारी अभियान कुन रुपमा अगाडि बढेको छ ?

अभियान भन्ने वित्तिकै सहकारीका शेयरसदस्य, प्रारम्भिक संस्था, विषयगत संघहरु र संघहरुको नेतृत्वमा रहेका अभियन्ताहरुको सामुहिक आवाज भन्ने बुझ्नुपर्छ । अभियान सहकारीको पृष्ठपोषक हो, जसले नेपालमा सहकारीको सुरुवात मात्रै गरेको छैन, सहकारीमार्फत् सबै विषयहरु सम्भव छन् भन्ने प्रमाणित गरिदिएको छ । फलस्वरुप, संविधानले अर्थतन्त्रको तीन मध्ये एउटा खम्बाको रुपमा सहकारीलाई स्वीकार गरेको छ । यसलाई हामीले अभियानको सफलताको रुपमा लिएको छौं । आम नागरिकको आर्थिक सामाजिक रुपान्तरणको एउटा आधारस्तम्भ सहकारी अभियान हो ।

अभियानमार्फत् सिङ्गो समाजलाई वित्तीय पहुँचमा जोड्ने काम भएको छ । कुनै समय नेपाली समाजको लागि वित्तीय पहुँच अत्यन्तै गौण थियो । सबैको पहुँचमा वित्तीय सेवा थिएन । विस्तारै बैंकहरु खुल्न थाले । बैंकहरु विस्तारित भए, तापनि ग्रामीण र दूरदराजमा बैंक तथा वित्तीय संस्था पुग्न सकेका थिएनन् । पछिल्लो समय बैंक वित्तीय संस्थाका शाखा कार्यालय ग्रामीण भेगसम्म त पुगेका छन् । जसले बैंकमा लगानी गरेका छन्, उनीहरुले आफ्नो नाफाको लागि त्यहाँसम्म शाखा विस्तार गरेका हुन् । वित्तीय कारोबारबाट बैंक वित्तीय संस्थामा राखेको निक्षेपको ब्याज प्राप्त गर्ने र ऋण लिएर ब्याज तिर्ने भन्दा बाहेक नागरिकलाई त्यसले कुनै प्रभाव  पार्न सकेन । तर सहकारीमा यो विषय फरक तरिकाले चित्रण भयो । सहकारीमा सदस्य मालिक भए भने बचतको ब्याज पनि पाए ।  सरल र सहज ब्याजदरमा ऋण सुविधा प्राप्त गर्न सक्ने भए ।

सहकारीले आर्जन गरेको नाफाबाट सदस्यहरुले लाभ लिने मौका पाए । सामाजिक उत्तरदायित्व वहन गर्ने र सदस्यलाई सामाजिक सुरक्षा प्रदान गर्ने काम सहकारीहरुले गरे ।  जसले गर्दा बैंक तथा वित्तीय संस्थामा भन्दा नागरिकले आफुलाई सहकारीमा सहज, सुरक्षित र भरपर्दो महशुस गरे । त्यसैगरी स–सानो पुँजी परिचालन गरी उद्यमशीलतामार्फत् आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पु¥याउने माध्यम सहकारी रहेछ भन्ने कुरा आम नागरिकले बुझे । जसको परिणामस्वरुप लाखौं मानिस सहकारी आवद्ध भए । सहकारी ऐन २०४८ र नियमावली २०४९ आयो । सहकारी ऐनलाई समयसापेक्ष बनाउन २०७४, २०८१ र २०८३ मा ऐन संशोधन भयो । नागरिकले बैंक वित्तीय संस्था र सहकारीबिचको फरक छुट्याए । आम नागरिकले यो अभियानमाथि विश्वास गरे । फलस्वरुप नेपालको सहकारी अभियान उज्ज्वल नक्षत्रले लेखिएर संविधानमा नै उल्लेख गरियो । 

यति हुँदाहुँदै पनि सहकारी अभियानमा कहाँ गएर कमजोरी भयो भनेर हेर्नुपर्ने हुन्छ । देशभर सहकारी संस्था दर्ता भए । मुलुक संघीयतामा गएसँगै प्रादेशिक र स्थानीय तहले सहकारी दर्ता गर्ने तथा तिनको नियमन गर्न सक्ने व्यवस्था भयो । हिजोको दिनमा जिल्लामा डिभिजन सहकारी कार्यालय थिए । त्यहीबाट संस्था दर्ता, नियमन तथा अनुगमन हुनेगथ्र्यो । डिभिजन सहकारी कार्यालयकै कारण धेरै सहकारीहरु दर्ता भए र सरकारसँग जोडिए । त्यसैगरी सहकारी विभागले संघहरु दर्ता ग¥यो । हिजो अभियानसँग जिल्ला तहमा डिभिजन सहकारी कार्यालय र केन्द्रमा सहकारी विभाग जोडिन्थ्यो । दुवै निकायमा सहकारीहरुले नियमति रुपमा रिपोटिङ्ग गर्ने र ती कार्यालयहरुबाट पनि नियमित रुपमा नियमन अनुगमन गरी आवश्यक सहजीकरण गर्ने काम हुँदै आएको थियो ।

संघीयतापछि डिभिजन कार्यालय खारेज भई, स्थानीय र प्रदेश मातहत सहकारी हस्तान्तरण भयो । संघीयता लागु भएप्छिको पहिलो ५ वर्ष स्थानीय र प्रदेश सरकारबीच सहकारीका विषयमा संवादहिनताको अवस्था रहयो । लामो समयसम्म सरकार र अभियानबीच संवादहिनता रहँदा सहकारीको नियमन र प्रवद्र्धनको काम हुन सकेन । सहकारी क्षेत्रलाई आवश्यक तालिम शिक्षाका साथै नियमन अनुगमन गर्ने वातावरण बनेन । त्यो बिचमा केन्द्रीय संघले जिल्ला तथा प्रदेश संघ र सहकारी महासंघले केन्द्रीय संघहरुको लागि जुन किसिमको अभिभावकत्व निर्वाह गर्नुपर्ने हो, त्यो हुन सकेन । सहकारी ऐनले जे व्यवस्था गरेको भए पनि हिजोका दिनमा डिभिजन सहकारी र रजिष्ट्रार कार्यालयसँग भइरहेका प्राक्टिस मेल खान सकेन । प्रारम्भिक सहकारीले संघहरुलाई पूर्ण विश्वास गर्न सकेनन् वा संघहरुले पनि प्रारम्भिक संस्थाप्रति आफ्नो पूर्ण जिम्मेवारीबोध गराउन सकेनन् ।

फलस्वरुप ५ बर्षमा सहकारी क्षेत्रमा धेरै कमीकमजोरी देखापरे । त्यसभित्र कहीँकतै स्वार्थ बाझिन थाल्यो । गलत सोच राखेर आफ्नो हित खोज्नेहरुका लागि सहकारी सजिलो प्लाटफर्म बन्न पुग्यो । तसर्थ स्वभाव र व्यवहारमा सहकारिता नभएका केही व्यक्तिहरुले सहकारीको संरचना बनाएर सदस्यको बचतमाथि आँखा लगाए । सदस्यको बचतको सुरक्षाको लागि नियमन गर्ने स्थानीय, प्रदेश र संघीय सरकारका साथै अभियानको बीचमा दूरी बढ्यो । त्यो दूरी यति ठुलो भयो कि पाँच बर्षको शुन्य समयमा सहकारीभित्र अनियमितता र अनुचित लाभ खोज्न पद्धतिका कारण सहकारीको आदर्श मर्न पुग्यो । जसले यो क्षेत्रमा समस्या निम्त्यायो । 

सहकारीभित्र एकाधिकार चल्दो रहेछ, सरकारको निगरानी कमजोर रहेछ, ऐननियमले समेत काम गर्दो रहेनछ र अभियन्ता पनि कुनै न कुनै पक्षमा मिल्दा रहेछन् भन्ने सन्देश समाजमा फैलियो । हिजोको त्यहि नागरिक जसले संविधानमा सहकारीलाई अर्थतन्त्रको एउटा खम्बाको रुपमा राख्न सफल भए, त्यहि नागरिक, जो सहकारीका सदस्य थिए उनीहरु नै यो अभियानप्रति आज  नकरात्मक बन्न थाले । सहकारी आफैंमा गलत थिएन, तर पछिल्ला घटनाक्रमले सहकारी गलत हो कि भन्ने बुझाई आम सदस्यको बन्न पुग्यो । गलत व्यक्तिको हातमा परेको सहकारी मात्रै गलत हो भन्ने तथ्यलाई देशभर रहेका जिल्ला तथा विषयगत संघ, केन्द्रीय र महासंघको नेतृत्वले चिर्न सकेन । फलस्वरुप सहकारीमा समस्याहरु बढ्दै गए । त्यहि बीचमा हामीले भुकम्प, नाकाबन्दी, कोभिड, आर्थिक मन्दी जस्ता परिस्थिति व्यहोर्नुप¥यो । यसबीचमा नेतृत्व पनि कहीँ न कहीँ चुक्यो । जसरी हामीले अभिभावकत्व लिनुपथ्र्यो र सहकारितालाई जोगाउन जुन प्रतिवद्धता अभियन्ताले गर्नुपथ्र्यो, त्यो हुन सकेन । जसले गर्दा सहकारी अभियानप्रति समाजमा फरक धारणा बन्न गयो । सहकारी आफैंमा ठिक भए पनि  सरकारी नियमन तथा प्रवद्र्धनको अभाव र अभियानले खेल्नुपर्ने भूमिकामा देखिएको ग्यापका कारण सहकारितालाई भन्दा पनि कतिपयले यसलाई आफ्नो नगद परिचालन गर्ने माध्यम बनाए । जस कारण आजको अवस्थामा सहकारी आइपुग्यो । 

तीन दशक लामो प्रयासले बनेको सहकारी अभियान ५ वर्षमा झन्डै शुन्यतामा पुग्नुमा सरकारसँगै अभियानको पनि कमजोरी प्रष्ट देखियो नि ?

यसलाई हामीले अस्वीकार नगर्नुपर्ने कुरै छैन, हामी कहीँ न कहीँ कुनै तरिकाले चुकेकै हो । को कहाँ चुक्यो भनेर भन्नु भन्दा पनि समग्र अभियान चुक्यो । व्यवस्थापन गर्ने भनेको नेतृत्वले हो । प्रारम्भिक सहकारी, संघ, केन्द्रीय संघ र महासंघको नेतृत्व हुन्छ । नेतृत्वभित्र सहकारिता कमजोर भयो । सहकारितालाई आत्मसात गरेको नेतृत्व भएको भए आजको अवस्था नआउन पनि सक्थ्यो । सहकारिता भन्दा अन्य विषयमा नेतृत्व हावी भयो । जसले गर्दा सहकारी ओझेलमा पर्न गयो । पछिल्लो पटक सहकारी भनेको कुनै पार्टी विशेषका कार्यकर्ता जम्मा गर्ने थलो भयो भन्ने भाष्य समाजमा बन्यो । त्यसलाई हामीले चिर्न सकेनौं । अभियानभित्र एउटै स्वर बन्न सकेन । किनभने हामी सबैभित्र सहकारिताको भाव थिएन । चाहे त्यो नेतृत्वमाथि उठेका प्रश्न हुन् वा नेतृत्वले सहकारीको मुल्यमान्यता र सिद्धान्तलाई आत्मसात गर्न नसकेको विषय होस् । वा नेतृत्वले आफ्नो पदको मात्र सुरक्षाका लागि खेलेका भूमिका, यी सबैमाथि समाजले प्रश्न उठायो । निर्वाचनको समयमा पदमा स्थापित हुने बेला भन्दा बाहेक नेतृत्व शेयर सदस्यसँग जोडिन सकेन । सदस्यको बचतको सुरक्षाका साथै उनीहरुको हित खोज्ने विषय छायाँमा परे । फलरुवरुप यो परिस्थिति बन्यो ।

मैले कुनै पनि कुरामा हो वा होइन् भन्नुपर्ने अवस्था छैन । अभियानको नेतृत्वकर्ता मध्ये को राम्रो वा नराम्रो भनेर छुट्याउने जिम्मा सदस्यहरु कै हो । पछिल्लो समय सरकारले सहकारी नियमन प्राधिकरण र सहकारी विभाग मार्फत् सहकारीभित्र नयाँ आयाम सृजना गर्न खोेजेको छ । हिजोको दिनमा जेजति घटना घटेको भएता पनि कमीमजोरीलाई सुधार गरी सदस्यको विश्वास आर्जन गर्न सरकार लागेको छ । सहकारीलाई व्यवस्थित बनाउन पछिल्लो समय अध्यादेशमार्फत् ऐन संशोधन गरिएको छ । सहकारीको मुल्य, मान्यता र सिद्धान्तमा संस्थाहरुलाई सञ्चालन गरी सुशासनको प्रत्याभूति गराउन  प्रभावकारी नियमनको प्रक्रिया अगाडि बढाइएको छ । अहिले सहकारीमा चामल, बियाँ र कनिका पनि देखिएको छ ।

अब ती कुराहरुलाई अलग गर्न नियमन प्राधिकरणले भूमिका खेल्नेछ । स्थानीय, प्रदेश र संघीय मातहतका बचत ऋणको मुख्य कारोबार गर्न सहकारीलाई प्राधिकरणको दायराभित्र ल्याई सुशासनको प्रत्याभूति दिने काम थालनी भएको छ । सहकारी क्षेत्र सकियो भन्ने अवस्थाबाट अब क्रमशः बौरिँदै गएको सन्देश समाजमा जागृत हुन थालेको छ । सुशासनबाट बाहिर गएर सहकारीको भावना विपरित सञ्चालन भएका संस्थाका सञ्चालकहरुले समेत विगतप्रति आत्मबोध थालेका छन् र हिजोको दिनमा गरेका कमिकमजोरीलाई सुधार गरेर जानुपर्छ भन्ने महशुस गरेका छन् । अब मुलुकको सहकारी अभियान नयाँ सिराबाट जाने हाम्रो विश्वास छ । सहकारीका मुल्य, मान्यता र सिद्धान्तका साथै अन्तर्राष्ट्रिय मुल्य मान्यतामा आधारित भएका सहकारी संघसंस्था सञ्चालन हुनेछन् । अभियानसँग जोडिएका संरचनाहरुले पनि मूर्तरुप पाउने सम्भावना देखिन थालेको छ । 

विगतमा सहकारीमा टुटेको विश्वास पुनःस्थापना भई सदस्यको आर्थिक सामाजिक रुपान्तरणमा नेपालका सहकारीले भूमिका खेल्न सक्छन् ?

अब पुरानै अवस्थामा फर्किएर मात्र पुग्दैन । नेपालको सहकारी अभियान नयाँ कोणबाट अगाडि बढ्नुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार सहकारीमार्फत् सदस्यको आर्थिक अवस्थामा सुधार ल्याउन हिजोकै अवस्थामा आएर मात्र पुग्दैन । चामल, भुस, कनिका र बियाँ सबै छुट्इिसकेपछि जो जहाँ चाहिने हो, त्यहिँ सेट हुनेछ । अब बचतऋण अभियान नयाँ चरणमा प्रवेश गर्दैछ । परिस्कृत साकोस अभियान सुरु हुन्छ भन्ने मलाई लाग्छ । 
पछिल्लो समय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सबै प्रकृतिका सहकारीलाई लाइसेन्स प्रदान गर्दै आएको छ भने अर्कोतर्फ संशोधित सहकारी ऐनले समेत २५ करोड वा ५० प्रतिशत बचत ऋणको कारोबार गर्ने सहकारीले प्राधिकरणबाट लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ ।

कानुनले सबै प्रकृतिका सहकारीलाई बचत ऋणको रुपमा हेर्याे, यसलाई नेफ्स्कूनले कसरी लिन्छ ?

पछिल्लो समय सहकारी ऐन संशोधन भएपछि कुल कारोबारमध्ये ५० प्रतिशत बचत ऋणको कारोबार गर्ने सहकारी प्राधिकरणमा दर्ता हुनुपर्ने भनेको छ । विगतमा जुन उदेश्य राखेर संस्था खुले पनि बचतऋण संकलन गर्न नै बोर्ड राखियो । प्रकृति अनुसार फरक खालको उदेश्य राखेपनि सदस्यबाट क्षमता भन्दा बढी बचत लिने विषय साँच्चिकै बचत ऋण सहकारीका लागि प्रतिस्पर्धाको विषय बन्यो । संस्थाहरु आफैले म बचत तथा ऋणको सहकारी हो भनी स्वःघोषणा गरी बचत ऋणको प्रक्रियाभित्र जान ऐनले बाटो खोलिदिएको छ । ५०.१ प्रतिशत बचतऋणको कारोबार छ भने पनि संस्थाहरु प्राधिकरणमा दर्ता हुन सके । प्राविधिक हिसाबले संस्थाको नाममा कुनै उदेश्य थपिँदैमा कुनै अर्थ राख्दैन । संस्थाहरुले गरेको कारोबारले नै प्रकृति निर्धारणको आधार हुने व्यवस्था ऐनले गरिदिएको छ ।

संस्था दर्ता अभिलेखीकरण भित्र भएका व्यवस्थालाई आधार बनाई साधारण सभाबाट संस्थाहरुले नाम परिवर्तन समेत गर्न सक्छन् । बचत ऋणको मुख्य कारोबार गर्ने हो भने फलानो नामको सहकारी संस्था भन्दा भइहाल्छ नि । बचत ऋणको मुख्य कारोबार भन्ने कुरालाई संस्थाहरुले आफ्नो ब्यानरमा कहीँ न कहीँ उल्लेख गरेर जानुपर्छ । बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई प्राधिकरणले इजाजत प्रदान गर्दै आएको छ । इजाजत नलिएका सहकारीले वित्तीय कारोबार समेत गर्न पाउँदैनन् । इजाजत लिइसकेपछि वित्तीय कारोबार गर्ने सहकारीलाई कर्जा सूचना केन्द्र र  कर्जा असुली न्यायाधिकरणमा जोडिने प्रक्रिया शुरु भएको छ । कुनै सहकारीले २५ प्रतिशत बचत ऋणको कारोबार गरेको भए पनि ५० प्रतिशत बचत ऋणको कारोबार पु¥याउँछु भनेर अगाडि बढ्न सक्छन् । हिजोका दिनमा बहुउद्देश्यीय, कृषि र अन्य प्रकृतिका सहकारी बचत ऋणमा परिवर्तन भएको थुप्रै उदाहरणहरु छन् । अब सहकारी कुन प्रकृतिको हो भन्ने कुरा संस्थाले गरेको कारोबारले छुट्याउने छ । 

१३ हजार सहकारी प्राधिकरणमा दर्ता हुन आएका छन् र ५ हजार माथि सहकारीले लाइसेन्स समेत लिइसकेका छन्, अहिलेको प्राधिकरणको संरचनागत क्षमताले ती संस्थाहरुको नियमन गर्न सक्ला ?

पहिलो त तथ्याङ्क विश्लेषण नगरी केही भन्न सकिदैँन । प्राधिकरणको संरचनागत व्यवस्था र पछिल्लो समयको काम गराइलाई हेर्दा संस्थाहरुको नियमन गर्न सक्दैन भनेर भन्न मिल्दैन । प्राधिकरणले राष्ट्र बैंकको पनि सहयोग लिएको छ । बचत ऋणको कारोबार गर्ने हामी जस्ता संघहरुले पनि नियमन प्राधिकरणलाई सघाउने भनेका छौं । संस्थाहरुको अनुगमन गर्न सहजीकरण गर्ने, तालिम तथा शिक्षाका साथै स्तरीकरणको कार्यक्रममार्फत् सहकारीहरुलाई बलियो बनाउने विषयमा नेफ्स्कून प्राधिकरणको स्टेक होल्डरको रुपमा उभ्भिन्छ । प्राधिकरणले नियमन गर्ने संस्थाको संख्या कति हो भन्ने अन्तिम लाइसेन्स दिइसकेपछि मात्र थाह हुन्छ । अहिले प्राधिकरणमा दर्ता हुन चाहने संस्थाहरुको लागि समय थप गरिएको छ ।

कुनै पनि सहकारी बचत ऋणको कारोबारमा आफुलाई पोख्त बनाउँछु र नियमन प्राधिकरणको प्रक्रियाभित्र छिरी संस्थालाई व्यवस्थित बनाउँछु भन्नेका लागि समय थप गरिदिनु स्वागतयोग्य विषय हो । सहकारीहरुको संख्या कति भयो भन्दा पनि आवद्ध संस्थाहरुलाई व्यवस्थित गरेर जाने विषय महत्वपूर्ण हो । बचत तथा ऋणको कारोबार गर्न लाइसेन्स लिनेको संख्या ६ हजार नाघेको छैन । ती सहकारीले पनि नविकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । तत्काललाई नविकरण नगरेको भएता पनि भविष्यमा सबै संस्थाले प्राधिकरणमा नविकरण गर्नुपर्छ । बचत ऋणको कारोबार गर्न प्राधिकरणमा दर्ता अभिलेखीकरण भएका र चुस्त संस्थाहरु नै अबको साकोस अभियानका नेतृत्वकर्ता हुन् । हामी त्यसैमा आशावादी छौं । बचत ऋणको कारोबार गर्न अध्यावधिक गराएका जति पनि संस्थाहरु छन् । ती संस्थाहरुको समग्र सफलता नै साकोस अभियान हो भन्ने बुझ्नुपर्छ ।

बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संघ संस्थाहरुको नेतृत्वदायी भूमिका खेल्दै शुद्धीकरण गरेर जाने विषयमा हामीले नै धेरै कुरा प्राधिकरणलाई सुझाएका छौं । प्राधिकरणले जारी गरेका कतिपय विषयलाई हामीले स्वागत गर्दा अभियानबाट विरोध पनि भयो । तर अन्तिममा जाने बाटो त्यहि रहेछ । बचत तथा ऋणको कारोबार गर्ने संघ संस्थाहरुको विषयमा अभिभावकिय भूमिका निर्वाह गर्दै प्राधिकरणले ल्याएका नियामकीय व्यवस्थालाई कार्यान्वयन गराउन नेफ्स्कून एउटा स्टेकहोल्डरको रुपमा रहनेछ । 

पछिल्लो पटक संशोधन भएर आएको सहकारी ऐनले बचत तथा ऋणको कारोबार गर्ने संघहरुको लागि छुट्टै व्यवस्था गर्दै बैंकमा रुपान्तरित हुन समेत बाटो खोलेको छ, यसलाई नेफ्स्कूनले कसरी लिएको छ ?

अध्यादेश मार्फत् संशोधन भएर सहकारी ऐन २०८३ आएको छ । संशोधित ऐनले नियमन प्राधिकरणलाई बलियो बनाई सिङ्गो बचत ऋण अभियानको संरक्षण गर्ने भूमिकामा देखिएको छ । पछिल्लो पटक सहकारी विभाग के हुने भन्ने थियो । विभाग र सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र गाभिएर सहकारी रजिष्ट्रार कार्यालय बनेको छ । प्राधिकरणले बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई नियमन गर्ने र ती भन्दा बाहेकका संस्थाहरुलाई कार्यालयले हेर्ने देखिन्छ । रजिष्ट्रार कार्यालय ती संस्थाहरुको प्रवद्र्धन, तालिम र अनुदानका विषयमा बढी जोडिनेछ । परिवर्तित अवस्थामा पनि नेफ्स्कून बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको फेडरेशन हो ।

हाम्रो पहिलो प्राथमिकता बचत ऋणको कारोबार गर्ने संघसंस्थालाई सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गराउँदै प्राधिकरणले जारी गरेका निर्देशन तथा मापदण्डलाई पालना गर्न सहज वातावरण बनाउने हुन्छ । संस्थाहरुको स्तरीकरण गर्दै गुणस्तरीय संस्था बनाउन सघाउने काम नेफ्स्कूनले गर्छ । त्यसका लागि नेफ्स्कूनले तालिम शिक्षाका साथै स्तरीकरण कार्यक्रम र प्रविधिसँग जोडेर लैजान सक्रिय भूमिका खेल्छ । हामीले बर्षौंदेखि बचत तथा ऋण सहकारीलाई नेटवर्किङ गर्दै आएका छौं र त्यसमा सबै संस्थाहरुलाई जोडेर जाने कुरामा हाम्रो मुख्य दायित्व रहन्छ ।

हामी बचत ऋणको केन्द्रीय फेडरेशन भएकाले संघहरुलाई व्यवस्थित गर्दै आफू व्यवस्थित हुने र महासंघसँग आफ्नो सम्बन्ध प्रगाढ राख्नतर्फ भूमिका खेल्छ । त्यसैगरी स्थानीय, प्रदेश र संघीय सरकारले ल्याउने ऐन नियम र नीति निर्देशनहरुको पालना  गराउन पनि उतिकै भूमिका हुन्छ । त्यससँगै सिङ्गो सहकारी अभियानलाई व्यवस्थित बनाउन सरकारसँग लविइङ तथा एड्भोकेसीको काम गर्छौं । जसरी पछिल्लो ऐनले संघहरुलाई व्यवस्थित गर्ने विधिका रुपमा परिकल्पना गरेको छ । त्यसलाई हामीले अन्तिम विकल्पमा जाउ भनेको होइन । ऐनले संघहरुलाई तीन बर्षसम्म वित्तीय कारोबारलाई व्यवस्थापन गर्न केन्द्रीत हुन भनेको छ । समर्पित भएर लाग्दा आउने परिणामले प्रारम्भिक सहकारी संस्थामा नयाँ सन्देश जान सक्छ भन्ने मक्सद ऐनको हो । भोलिका दिनमा आवश्यक पर्यो भने बैंक समेत बन्नु पर्ने हुन्छ र वित्तीय कारोबार गर्ने संघसंस्थाको पनि बैंक चाहिन्छ । 

वित्तीय कारोबार गर्ने सबै संघसंस्था समेटेर जिल्ला, प्रदेश र केन्द्रीय संघ जोडिएर वित्तीय कारोबारलाई व्यवस्थापन गर्न नयाँ सहकारी बैंक खोल्न सकिने भनेको छ । तसर्थ अहिले प्रारम्भिक संस्थाहरुलाई व्यवस्थित गर्ने र भएका संघहरुलाई संस्थागत रुपमा अभिभावकत्व प्रदान गर्ने काम हाम्रो हो । सिङ्गो बचत ऋण अभियानप्रति उत्तरदायी भएर काम गर भन्ने ऐनको सार हो । फेडरेशनहरुले वित्तीय कारोबार गर्ने भन्दा पनि साकोसहरुसँग भएको बचतको सुरक्षा गर्न र सहकारी अभियानको उदेश्य कार्यान्वय गर्न संघहरु बैंकमा रुपान्तरण भएर जान सक्ने भनेको हो । ऐनले खोलिदिएको  बाटोमा विस्तारै यात्रा गर्नुपर्छ र जतिखेर आवश्यक पर्छ, त्यतिखेर दौडने हो । बाटाहरु धेरै हुन्छन् । अहिले हामी भित्री सडकमा यात्रा गरिराखेका छौं । हाइवेमा जानको लागि भित्री सडकमा आफुलाई अभ्यस्तरत छौं । हाइवेमा जाने बाटो पनि ऐनले खुला गरिदिएको छ ।

सरकारले सहकारी ऐन संशोधन मार्फत् संघहरुको लागि सो व्यवस्था गरेको हो । बचतऋणको छुट्टै ऐन ल्याउने तयारी सरकारको छ । हामीले बचत ऋण सहकारीको लागि लामो समयदेखि छुट्टै ऐनको माग गर्दै आएका थियौं । वित्तीय सहकारी ऐन विना नेपालको बचत ऋण अभियान व्यवस्थित हुँदैन भनेर नेफ्स्कूनका अग्रजहरुले भन्नुभएकै थियो । सरकारले पनि हिजोका प्रतिवेदन, विभिन्न समयमा दिएका सुझाव र फिड व्याकलाई आधार बनाएर वित्तीय सहकारी ऐन ल्याउने तयारी गरेको छ । नेफ्स्कूनलाई पनि सुझाव माग गरिएको छ र बचत ऋणको ऐनका लागि फिडव्याक दिने काम नेफ्स्कूनले गर्छ । विघटन हुने भन्दा पनि अझ बढी स्थापित हुने अवस्था बनेको छ र सिङ्गो सहकारी अभियानलाई टेवा दिने काम हाम्रो तर्फबाट हुनेछ । 
समस्याहरु समाधान गर्दै सुरक्षित अवतरणको लागि हाम्रो यात्रालाई अगाडि बढाएका छौं । हामी सुरक्षित व्यवस्थापनको लागि हामी निरन्तरण लागिरहेका छौं । साकोस अभियानलाई व्यवस्थापन गर्न लागेका हौं, विस्थापन गर्न होइन ।

नेफ्स्कूनले आन्तरिक रुपमा आफुलाई सुधार गर्दै लगेको छ र बैंकमा रुपान्तरित हुनपर्यो भने, त्यसको समेत नेतृत्व गर्नुपर्छ भनेर तयारी अवस्थामा रहेका छौं । संस्थाहरुलाई स्तरीकरण कार्यक्रममा जोडेर सबल बनाउँदै लगेका छौं । ३ हजार भन्दा बढी सहकारी संस्था स्क्यान कार्यक्रममा आवद्ध भएका छन् । आगामी बर्षसम्म सबै बचत ऋण सहकारी संस्था नेफ्स्कून ओरेन्टेड हुनेछन् । ६ महिनाको बिचमा हामीले प्राप्त गरेको उपलब्धी र यस आर्थिक बर्षमा गरिने कामबाट हामीले ठुलो फड्को मार्छौं । 

हामीले मार्ने फड्को नेफ्स्कूनको सञ्चालक समितिको लाभको विषय होइन । अहिले सहकारिता हराएकाले समस्या आयो , त्यसलाई चिर्ने र नेफ्स्कूनसँग जोडिएका संस्था तथा आवद्ध सदस्यहरुको हितको लागि हामीले काम गर्ने हो । एक रुपैयाँ जम्मा गरेको हिसाबले देशभरका ५६ लाख भन्दा बढी सदस्य नेफ्स्कूनमा जोडिएका छन् । अहिले संघ संस्थाका सञ्चालक र सहकारीका सदस्यहरुले नेफ्स्कूनलाई धेरै प्रश्न गरेका छन् । नेफ्स्कूनले जति गर्न सक्थ्यो,त्यो गर्न सकेन । बीचमा बाटो विराउनु भएकै रहेछ, लिक छोड्न खोज्नु भएकै रहेछ, फेरी लिकलाई समात्नु भएछ । अब नभत्कने लिक बनाउनुस् र साकोस अभियानमा विश्वास नगुम्ने गरी काम गर्नुस् भनेर सुझाव आएका छन् । नेफ्स्कूनले गर्न थालेको कामप्रति कमेन्ट गर्दै साथ नछोड्ने प्रतिवद्धता साकोसहरुबाट पाएका छौं । हिजोको दिनमा एक्सेस, प्रोवेशन र कर्ब्स  कार्यक्रममा संस्थाहरुलाई आवद्ध गरायौं । चार पाँच वटा प्रडक्ट लिएर हिँड्नु हुँदैन भनेर नेफ्स्कूनले स्क्यान अघि सारेको छ । संस्थाको स्क्यान नगरी वास्तविकता पत्ता लाग्दैन । पहिला संस्थालाई स्क्यान गरौं । संस्था स्क्यान गर्दा सदस्यहरु पनि स्क्यान हुने भए । त्यसले सकरात्मक सन्देश लैजाने भयो । नेफ्स्कूनलाई पनि एसियाली ऋण महासंघ र वल्र्ड काउन्सिलले राम्रोसँग स्क्यान गरिराखेको छ । साकोस अभियान सुधारको बाटोमा अघि बढेको छ । 

पछिल्लो समय सरकार र अभियानको सम्बन्ध टाढिएको हो ? 

मलाई त्यस्तो लाग्दैन । सहकारीको स्टेक होल्डर राष्ट्र बैंक, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र सहकारी रजिष्ट्रार कार्यालय हुन् । हाम्रा कुरा ती निकायले सुन्दै आएका छन् । हामी प्रत्यक्ष रुपमा जोडिने भनेको पनि तिनै निकायमा हो । हामीले गरिराखेका विषय ठिकै छ, गर्न खोजेको पनि यस्तै हो । यो बिचमा किन समस्या भयो ? विषय त यही हो भनेर ती निकायले हामीलाई निर्देशन दिएर गएका छ । अब त्यस्ता खालका ग्यापले पनि सहकारी संस्थाहरु बिचलित नहुने गरी संरचना बनाएका छौं । सरकारको प्राथमिकता एउटा र अभियानको अर्को हुँदा ग्याप हुन सक्छ । अब सरकार र अभियानबीच ग्याप नहुने गरी एउटै बाटोमा हिँड्नुपर्छ । गन्तब्यमा पक्कै पुगिन्छ ।