बुधबार, भाद्र १० गते २०८३

“सहकारीमा सुशासन कायम गर्दै बचत फिर्ता गराउनेमा हाम्रो ध्यान केन्द्रित छ”


श्रावण २०, २०८३ बुधबार
“सहकारीमा सुशासन कायम गर्दै बचत फिर्ता गराउनेमा हाम्रो ध्यान केन्द्रित छ”

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले आफ्ना कामकारवाही कसरी अगाडि बढाइरहेको छ ?

सहकारी नियमन प्राधिकरण स्थापना भएको लामो समय भएको छैन । सरकारले गत वर्ष सहकारी ऐन २०७४ संशोधन गरी प्राधिकरणको स्थापना गरेको हो । कुनै पनि नयाँ संगठनलाई प्रारम्भमा अगाडि बढाउन निकै चुनौती हुन्छ । पछिल्लो समय सरकारले पुनः सहकारी ऐनलाई संशोधन गरी प्राधिकरणको अधिकारीलाई थप गरेकाले काम गर्न केही सजिलो भएको छ । तर अहिले प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य नियुक्त भइसकेको अवस्था छैन । प्राधिकरणमा अध्यक्षविहिनता कै अवस्था भने होइन, सहकारी मन्त्रालयका सचिवज्युलाई नै प्राधिकरणको अध्यक्षको जिम्मेवारी तोकिएको छ । सचिवज्युले कार्य व्यस्तताका कारण पूर्णरुपमा समय दिन सक्ने अवस्था भने छैन । तैपनि हामीले मेहनतपूर्वक काम गरिराखेका छौं । जसले गर्दा प्राधिकरणको नियमित काम कारवाहीमा असर परेको छैन । हामीले गरेको कामको समीक्षा गर्ने र आगामी दिनको योजना बनाउने काम गर्दै आएका छौं ।

हिजोको दिनमा सहकारी क्षेत्रमा देखिएका बेथितिहरुलाई तत्काल सम्बोधन गर्नुपर्ने दायित्व छ भने भोलिका दिनमा सहकारीमा समस्या नआओस् र सदस्यको बचत सुरक्षित होओस् भन्ने कोणबाट पनि हामीले संस्थाहरुको नियमन तथा अनुगमनलाई प्राथमिकतामा राखेका छौं । अहिले पनि नेपाल राष्ट्र बैंकबाट आउनु भएका अफिसरहरुको टिम बनाएर हामीले संस्थाहरुको अनुगमन गरिराखेका छौं । यस बाहेक प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुलाई नियमितरुपमा सञ्चालन इजाजतपत्र प्रदान गर्दै आएको छ । संस्थाहरुको दर्ता अभिलेखिकरण गरी संस्था सञ्चालन इजाजत प्रदान गर्ने काम गरी राखेका छौं ।

हालसम्म १३ हजार सहकारी संस्थामा दर्ता अभिलेखिकरणका लागि सिष्टममा प्रविष्ट भएका छन् । ती मध्ये ५ हजार ३ सयभन्दा बढी सहकारीले इजाजत प्राप्त गरिसेका छन् भने करिब ६ हजार संस्थाको विवरण अपुरो छ । संस्थाहरुले प्राधिकरणको सिष्टममा प्रविष्ट गरेको विवरणहरु अधुरा छन् । ती सहकारी संस्थाहरुबाट पूर्ण विवरण प्रविष्ट गराई लाइसेन्स दिनुपर्ने काम अझै बाँकी छ । त्यसैगरी १ हजार ५ सय संस्थाको भेरिफिकेशन र अप्रुभलको काम जारी छ । सबै संस्थाहरुलाई लाइसेन्स दिइसकेपछि नियमितरुपमा प्रणालीमा अद्यावधिक भइरहन्छन् । संस्थाहरुको नियमित रुपमा विवरण उपलब्ध भई वास्तविक अवस्थाको बारेमा थाहा हुन्छ । जसले गर्दा भोलिका दिनमा संस्थाहरु समस्या पर्दैन भन्ने हाम्रो अपेक्षा छ । 

सहकारी प्राधिकरणले संस्थाहरुलाई लाइसेन्स दिने समय कहिलेसम्मको लागि थप गरेको हो ?

सहकारी ऐन २०७४ गत असार २५ गते संशोधन भएको छ । ऐनमा भएको व्यवस्था अनुसार हामीले एक बर्षको समय थप गरेका हौं । ऐन जारी भएको एक बर्षभित्र बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुलाई सञ्चालन इजाजतपत्र प्रदान गर्नुपर्ने व्यवस्था छ । यस अघि प्राधिकरणले जारी गरेको मापदण्डले असार मसान्तसम्म समय दिएर संस्थाहरुको दर्ता अभिलेखिकरण गरी इजाजत प्रदान गर्ने काम गर्दै आएका थियौं । अहिले ऐन संशोधन भएर आएकाले संस्थाहरुको दर्ताको लागि समय थप गरिएको हो । हामीले सूचना जारी गरी २०८४ साल असार २४ गतेसम्म इजाजत प्रदान गर्ने काम प्राधिकरणले नियमित रुपमा गर्छ । 

संघहरुलाई नविकरण गर्ने र वित्तीय कारोबार गर्न दिने विषयमा प्राधिकरणले सहजिकरण गर्न सक्छ कि सक्दैन ?

संघहरुको काम, कर्तव्य र अधिकार कानुनले व्यवस्थित गर्ने विषय हो । प्राधिकरण आफैंले कुनै सोच बनाएर अगाडि बढ्न मिल्दैन । ऐनले व्यवस्थित गर्ने विषय भएकाले ऐनको भावना अनुसार प्राधिकरणले काम गर्छ । ऐनले नै बचत तथा ऋणको कारोबार गर्ने सहकारी संघहरुको विषयमा बोलेकाले प्राधिकरणले नयाँ व्यवस्था गर्न सक्दैन । सार्वभौम संसदबाट पारित भएको ऐन भएकाले प्राधिकरणले कुनै टिप्पणी गर्न मिल्दैन । 

संघहरुकै कारणले सहकारीमा समस्या आएको हो भन्ने तपाइलाई लाग्छ ?

वास्तवमा सहकारीको निश्चित उदेश्य हुन्छ । सहकारीका आफ्नै मुल्य, मान्यता र सिद्धान्त छन् । त्यसलाई हामीले अनुशरण गर्ने हो । समाजमा समान उदेश्य र आर्थिक हैसियत भएका सदस्यहरु मिलेर स–सानो बचत गरी आर्थिक उन्नति गर्न सघाउने महत्वपूर्ण माध्यम सहकारी हो । पवित्र उदेश्य भएकाले यो वा त्यो संस्थाका कारण सहकारी क्षेत्रमा समस्या आयो भन्ने होइन । सहकारी बिग्रिएको होइन । सहकारीमा  गलत मनासय भएका पात्रहरु छिरेकाले गर्दा समस्या आएको हो । कुनै संघ विशेषका कारण समस्या आएको जस्तो मलाई लाग्दैन । 

एक पटक संस्था प्राधिकरणमा दर्ता भइसकेपछि पुनः दर्ता गर्नु पर्दैन भन्ने आवाज अभियानले उठाउँदै आएको भए पनि अहिले आएको संशोधित ऐनले हरेक बर्ष सहकारीले नविकरण गर्नुपर्ने व्यवस्था गरेको छ नि ?

हिजोको दिनमा सहकारी संस्थाको नविकरण गर्ने अभ्यास नेपालमा थिएन । हाम्रो परिवेशमा जुन उदेश्यले सहकारीहरु सञ्चालनमा आए  त्यो उदेश्य अनुसार सञ्चालन नभई सहकारीमा भित्रभित्रै समस्या आयो र विपद्कै रुप लियो । बचतकर्ताको बचत अपचलनका कारर्ण  अहिले यो क्षेत्र ठुलो संकटको बिचबाट गुज्रिराखेको छ । लाखौं सदस्यहरुले बचत फिर्ता नपाएको गुनासो प्राधिकरणमा आएको छ । संस्थाहरुले एक पटक दर्ता भएपछि नविकरण गर्नु पर्दैन भन्ने आवाज प्राधिकरणमा नआएको होइन । यो विषय राज्यले पनि महशुश गरेको छ । संस्थाहरुले प्रत्येक बर्ष नविकरण गर्ने विषय हालै कानुन बनेर आएको छ । भोलिका दिनमा यो उपयुक्त छैन भन्ने आवाज अभियानबाट आयो भने सोही अनुसारको व्यवस्था हुन सक्ने सम्भावना पनि रहन्छ । नियमित रुपमा निगरानी गरी संस्थाहरुको अध्यावधिक गराएर समस्या आउन नदिन आजको दिनमा संस्थाहरुको नविकरण गर्नु अनुपयुक्त हो जस्तो मलाई लाग्दैन। आवश्यकता महशुश गरेर नै नविकरणको विषय ऐनमा आएको हो । 

अहिले सहकारीहरुबाट ठुलो संख्यामा बचतकर्ताहरु पीडित भएका छन् । भोलिका दिनमा समस्या नआओस् र अरु बचतकर्ताहरु पीडित नहोउन् भन्ने हिसाबले नविकरणको विषय सान्दर्भिक नै छ । सहकारीलाई प्राधिकरणले सहजिकरण गर्ने हो अप्ठ्यारो पार्ने होइन । हाम्रो मुल उदेश्य नै सहकारी संस्थामा सुशासन कायम गराउने हो । संस्थाहरु मुल्य, मान्यता, सिद्धान्तका साथै आन्तरिक विनियम अनुसार सञ्चालन हुनुपर्छ । सहकारीले समाजमा पछि परेकाहरुलाई वित्तीय सेवा प्रदान गरी आर्थिक रुपमा सबल बनाउन योगदान गर्नुपर्छ । हिजोको दिनमा टोल टोलमा सहकारी स्थापना भए । सहकारीमार्फत् जुन अपेक्षा गरिएको थियो, अपेक्षाकृत रुपमा हामीले उपलब्धी महशुस गर्न पाएनौं । जसले गर्दा नीतिगत व्यवस्थामा नै पुनरावलोकन गर्नुपर्ने देखियो । त्यही भएर नविकरणको विषय आएको होला भन्ने मलाई लाग्छ । 

सञ्चालन इजाजत लिइसकेका संस्थाहरुले कहिलेबाट दर्ता नविकरण गर्नुपर्छ ?

नविकरण साउनदेखि नै कार्यान्वयनमा आउनुपथ्र्यो । तर दर्ता अभिलेखिकरणको काम ठुलो संख्यामा बाँकी नै छ । पहिले विवरण प्रविष्टी गरेका ६ हजार सहकारी संस्थालाई लाइसेन्स दिने काम सक्छौं । ६ हजार सहकारीलाई लाइसेन्स दिए पछि हाम्रो काम घट्छ । पूर्ण विवरण प्रविष्ट नगर्ने संस्थाहरुले लाइसेन्स पाउँदैनन् । लाइसेन्स दिने काम सकिए पछि नविकरणतर्फ लाग्छौं । ऐनले गरेको व्यवस्था भएकाले नविकरण त गर्नैपर्छ । तर केहि समयपछिबाट यो काम सुरु हुन्छ । तत्काल संस्थाहरुले नविकरण गर्नु पर्दैन । प्राधिकरणले अर्को सूचना जारी नगरेसम्म दर्ता नविकरणको विषयमा चिन्तित हुनुपर्दैन । अहिले संस्थाहरुलाई इजाजत दिने काम नै बाँकी रहेकाले नविकरणमा लाग्दा कामको बोझ थपिन्छ । इजाजत दिने कामलाई गति दिने र त्यस पश्चात् नविकरणमा जाने हाम्रो सोच छ । नविकरण गर्दा कति  शुल्क लिने भन्ने विषयमा प्राधिकरणले गम्भिर भएर विचार गर्नेछ । कस्तो नीति र कति शुल्क लिँदा संस्थाहरुलाई सहज हुन्छ भन्ने विषयमा छलफल गरेर प्राधिकरणले निर्णय गर्नेछ । 

सहकारीमा प्रभावकारी नियमन भएन, सदस्यको बचत दुरुपयोग भयो र प्रभावकारी नियमन मार्फत् संस्थाहरुको निगरानी गरी बचत सुरक्षित बनाउने उदेश्यले प्राधिकरण गठन भएको हो, यसमा प्राधिकरण सफल होला ?

प्रारम्भमा सहकारी विभागको जस्तै काम प्राधिकरणले गरेको जस्तो देखिए पनि त्यस्तो होइन । विभाग सरकार मातहतकै निकाय हो । प्राधिकरण भने स्वायत्त र अविछिन्न उत्तराधिकारी संस्था हो । यसकारण प्राधिकरणको काम, कर्तव्य र अधिकार फरक छ । प्राधिकरणको मुल ध्येय भनेकै सहकारीमा सुशासन कायम गर्नु हो । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको प्रभावकारी नियमनमार्फत् संस्थामा सुशासन कायम गराउने काम प्राधिकरणले गर्छ । संविधानमा संघको एकल जिम्मेवारीमा सहकारी नियमन भन्नेछ । प्राधिकरणले स्थानीय, प्रदेश र संघीय तहका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्ने हो । सहकारीमा ऋण लगानी र असुलीमा समस्या आइराखेको छ । त्यसमा प्राधिकरणले सहजिकरण गर्ने, पीडित सदस्यहरुको गुनासो उजुरी सुन्ने र आवश्यक कारवाही गर्ने भन्ने हो ।

अर्कोतर्फ सहकारीहरुले सदस्यको बचत  फिर्ता नगरेको गुनासो आयो भने प्राधिकरणले सरकार समक्ष समस्याग्रस्त घोषणा गर्न सिफारिस गर्ने काम गर्छ । सहकारीमा देखिएको समस्यामा थप अनुसन्धानको लागि प्रहरी कहाँ लेखिपठाउन सक्ने व्यवस्था छ । कुनै सहकारीमा बेथिति देखियो भने सञ्चालक र व्यवस्थापकका साथै एकाघरका परिवारको समेत चलअचल सम्पत्ति रोक्का गर्ने र विदेश यात्रामा प्रतिबन्ध लगाउने काम प्राधिकरणले गर्छ । यो विषयमा केही काम भएको पनि छ । केही सहकारीका सञ्चालकको बैंक खाता, चलअचल सम्पत्ति र विदेश यात्रामा रोक लगाउने काम प्राधिकरणले गरेको छ ।

समस्या देखिएका सहकारीको हकमा यसरी काम गर्दै आएका छौं भने संस्थाहरु सञ्चालन गर्न राष्ट्रिय मापदण्ड बनाउने र आवश्यक निर्देशनहरु जारी गर्ने काम प्राधिकरणले गर्दै आएको छ । सबै तहका सरकारले सहकारीको नियमन गर्दा प्राधिकरणले जारी गरेको मापदण्ड मान्नुपर्छ । हामीले सहकारीको सघन अनुगमन गर्ने र प्रतिवेदन आएपछि कैफियत देखिएका क्षेत्रमा सुधार गर्न निर्देशन दिनुका साथै कारवाही गर्दै आएको अवस्था छ । हिजोका दिनमा सहकारीमा आएका समस्या समाधान गर्दै भोलिका दिनमा सहकारीमा समस्या आउन नदिन प्राधिकरणले आफ्नो भूमिका बढाएको छ । सहकारीहरुले आफ्नो उदेश्य अनुसार काम गरुन् र सदस्यहरुको हित होस् भन्ने हिसाबले हामीले काम गर्दै आएको छौं । 

१३ हजार सहकारी प्राधिकरणमा दर्ता हुन आएका छन्, यति धेरै संस्थाहरुको अनुगमन कुन विधिपद्धतिबाट गर्नुहुन्छ ?

भौतिक रुपमा संस्थाहरुको अनुगमन गर्दा समय पनि धेरै लाग्ने र सोही अनुसारको जनशक्ति व्यवस्थापन गर्नुपर्ने हुन्छ । सूचना प्रविधि प्रयोग गरी सोही मार्फत् संस्थाहरुको अनुगमन गर्ने व्यवस्था हामी गर्दैछौं । एफसीआरएस प्रणालीलाई थप व्यवस्थित गरी उजुरी गुनासाहरु अनलाइनको माध्यमबाट प्राप्त गर्ने र सम्बोधन पनि अनलाइनबाट नै गर्ने गरी अगाडि बढेका छौं । तर अहिले सहकारीहरुले फरक फरक सफ्टवेयरहरु प्रयोग गर्दै आएका छन् । विभागले कोपोमिस सञ्चालनमा ल्याएको छ भने प्राधिकरणको आफ्नै एफसीआरएस प्रणाली छ । सफ्टवेयरहरुलाई कसरी एकीकृत गरी सूचना आदानप्रदान गर्न सकिन्छ भन्ने विषयमा पनि हामीले विचार गरिराखेका छौं । यस आर्थिक वर्षको बार्षिक योजनामा पनि सूचना प्रणालीलाई अझ व्यवस्थित गरी प्रविधियूक्त बनाउनेतर्फ बजेट विनियोजन भएको छ । अर्कोतर्फ प्राधिकरणको संगठन संरचना ओ एण्ड एम गर्दैछौं । संगठनलाई व्यवस्थित गर्ने काम अन्तिम चरणमा पुगेको छ । 

बागमती  प्रदेशका संस्थाहरुलाई यहीँबाट नियमन तथा अनुगमन गर्ने  र अन्य ६ प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्ने तयारी भएको छ । प्रादेशिक कार्याललयबाट सम्बन्धित प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर बचत तथाको कारोबार गर्ने सहकारी संस्थाको नियमन, अनुगमन तथा सुपरीवेक्षण गर्ने गरी हामी व्यवस्था गर्दैछौं । प्रविधिबाट अनुगमन गर्दा सबै वस्तुस्थिति नआउन सक्छ । त्यहाँको यर्थाथ एउटा हुन्छ, दिएको विवरण अर्कै हुनसक्छ । त्यसकारण दुवै माध्यमबाट सहकारीको अनुगमन गर्नुपर्छ । भौतिक रुपमा पनि संस्थाहरुको नियमन तथा सुपरीवेक्षण गर्नुपर्छ र सूचना प्रविधिको प्रयोगबाट पनि संस्थाहरुको अनुगमन गर्नुपर्छ भन्ने मान्यताबाट अगाडि बढेका छौं । संस्थाहरुको कार्यक्षेत्रको आधारमा वर्गिकरण गर्न सक्ने व्यवस्था कानुनले गरेको छ । यसतर्फ पनि हामीले सोच बनाइराखेका छौं । नियमनको काम सहकारी प्राधिकरणले गर्ने हो । स्थानीय र प्रदेशले पनि संस्थाहरुको नियमन गर्न सक्ने भन्ने व्यवस्था ऐनमा छ । हामीले प्रदेश र स्थानीय तहसँग मिलेर सहकारीको अनुगमन गर्नुपर्ने हुन्छ । यसका लागि थप मापदण्ड जारी गर्न आवश्यक छ । 

लामो समयदेखि सहकारी पीडितले सडकमा संर्घष गरिराखेका छन्, उनीहरुले सहकारीमा राखेको बचत फिर्ता पाउने आधार कत्तिको छ ?

संघीयतापछि कार्यक्षेत्रको आधारमा सहकारीको वर्गिकरण गरी तीनै तहको सरकार मातहत सहकारी रहेको छ । स्थानीय क्षेत्राधिकार भएका सहकारीको हकमा स्थानीय र प्रदेश क्षेत्राधिकार भएका सहकारीको हकमा प्रदेशमा सम्र्पक गनुपर्ने हुन्छ । स्थानीय सरकारले नै बचत फिर्ता नगर्ने सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सक्ने कानुनी व्यवस्था छ । प्रदेशमा पनि सहकारी रजिष्ट्रार कार्यालयबाट समाधान गर्न सक्ने अधिकार छ । प्रदेशस्तरमा पनि समस्याग्रस्त व्यवस्थापन कार्यालय खुलेका छन् । संघीय तहमा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको हकमा सदस्यले प्राधिकरणमा आफ्ना उजुरी तथा गुनासा दर्ता गराउन सक्छन् । अहिलेसम्म प्राधिकरणमा ९ सय उजुरी प्राप्त भएको छ  र कतिपय उजुरीहरुउपर कारवाही पनि भएका छन् ।

सबै उजुरी सुन्छौं र उप निर्देशकको संयोजकत्वमा स्क्रिीनिङ कमिटि बनाएका छौं र त्यहाँ मार्फत् गुनासाहरु अध्ययन गरी वर्गिकरण गछौ । स्थानीय तहबाट समाधान हुने उजुरीहरु सम्बन्धित स्थानीय तह र प्रदेशबाट सम्बोधन हुने उजुरी र गुनासा प्रदेश तहमा पठाउँछौं । सम्बन्धित प्रदेश र स्थानीय तहमा प्राधिकरणले समन्वय गर्छ । केही सहकारी संस्थामा देखिएका समस्या प्राधिकरणमा नै छलफल गरी करिब ३ करोड बचत फिर्ता भएको छ । कतिपय संस्थाको हकमा कडा कदम चाल्नु परेको छ र प्रहरीकहाँ पनि अनुसन्धानको लागि लेखिपठाएको अवस्था छ । कतिपय संस्थाहरु समस्याग्रस्त घोषणा  गर्न माग आएकाले स्थानीय र प्रदेश तहमा बुझ्ने काम भइराखेको छ । कतिपय सहकारी बन्द रहेको र सञ्चालकहरु सम्र्पकमा नआउने हुँदा सञ्चालकको विवरण र संस्थाको अभिलेख जुटाउनै समस्या भएको छ । यसले गर्दा गुनासो फछ्र्यौटमा समस्या भइराखेको छ । स्थानीय तहलाई पनि जानकारी नहुने भएकाले प्रशासनको सहयोग लिएर समेत काम गर्दै आएका छौं । 

कस्ता कस्ता प्रकृतिका उजुरी र गुनासा प्राधिकरणमा आउने गरेको छ ?

प्राधिकरणले १६ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्ने सिफारिस गरेको थियो । कतिपय सहकारी स्थानीय र प्रदेशको क्षेत्राधिकारभित्र पर्ने भएकाले ती संस्थाहरु समस्याग्रस्त घोषणा हुन सकेनन् । समस्याग्रस्त घोषणा गर्न कुल सदस्य मध्ये १० प्रतिशत सदस्यले निवेदन दिनुपर्छ । जुन सहकारीसंस्था सञ्चालनमा छैनन् ती संस्थामा कति सदस्य आवद्ध छन् भने यकिन गर्न कठिन हुने र सञ्चालकहरु समेत सम्पर्कमा नहुने हुँदा आवश्यक कागजात संकलन गर्न समस्या भइराखेको छ । यसले गर्दा पनि समस्याग्रस्त घोषणा गर्न कठिन भइरहेको छ । अहिले ४५ वटा सहकारी संस्थाका सदस्यहरुले सामुहिक रुपमा उजुरी दिएका छन् । कतिपय सहकारी संस्थाको स्थानीय तहबाट विवरण माग गरी कारवाही समेत अगाडि बढाएका छौं । सहकारी संस्थाका साथै कर्मचारी र सञ्चालकको तीन पुस्ते विवरण समेत माग गरेका छौं । ती विवरणहरु प्राप्त भएपछि समस्याग्रस्त घोषणा गर्न योग्य भए भने मन्त्रालय समक्ष सिफारिस गछौं । व्यक्तिगत रुपमा बचत फिर्ताको लागि सदस्यहरुले उजुरी दिइराखेका छन् । सामुहिक र व्यक्तिगत रुपमा आएका उजुरीहरुको अध्ययन गरी सम्भव भएसम्म सम्बन्धित सहकारीका व्यवस्थापक र सञ्चालकलाई बोलाएर छलफल गरी समस्या समाधानको उपाय अवलम्बन गर्दै आएका छौं । 

अहिले बचत फिर्ताको माग गर्दै गुनासाहरु आउने गरेका छन् । सदस्य र सञ्चालकबिच बचत फिर्ताको लागि निश्चित समझदारी गराउँछौं । त्यसबिचमा पनि समझदारी पुरा भएन भने कानुनी कारवाही अगाडि बढाउँछौं । अर्कोतर्फ ऋणी सदस्यबाट पनि उजुरी आउने गरेको छ । बचतकर्ताको बचत अपचलन भएको सन्दर्भमा कारवाही गर्नुपर्ने भनेको सञ्चालक, व्यवस्थापक र ऋणी सदस्यहरु हुन् । प्राधिकरणमा परेको उजुरी हेर्दा कतिपय सहकारीमा ऋणीहरु समेत मर्कामा परेका छन् । कतिपय संस्थाले ब्याजलाई पुँजीकृत गरेको र ऋण चुक्ता गर्दा समेत धितो फुकुवा नगरेको गुनासा लिएर ऋणी सदस्यहरु पनि आउने गरेका छन् । त्यसका साथै संस्थाहरुले अनावश्यक रुपमा रकम माग गरेको उजुरी पनि आउँछ । यो विषयमा पनि जाँचबुझ गरेर सुनुवाई गरेका छौं । ऋण असुलीमा सहजिकरण गर्न दुबै पक्षलाई बोलाएर तिनुपर्ने हो वा होइन भन्ने विषयमा पनि अध्ययन गर्ने काम पनि प्राधिकरणको भएकाले सोही अनुसार गर्दै आएका छौं । 

सहकारीलाई समस्याग्रस्त घोषणा गरेर मात्र पीडितले बचत फिर्ता पाउने हुन् त ?

त्यस्तो होइन । समस्याग्रस्त घोषणा भयो भने सहकारीका सञ्चालकहरु निलम्बित भई सम्पूर्ण अधिकार समस्यागस्त कार्यालयमा आउँछ भन्ने बुझाई सदस्यमा छ । त्यसपछि संस्था, सञ्चालक र कर्मचारीहरुको जायजेथा लिलाम तथा बेचविखनका साथै जुनसुकै विधि अपनाएर बचतकर्तालाई बचत फिर्ता गर्न सक्ने अधिकार समस्याग्रस्त व्यवस्थापन कार्यालयलाई दिएको छ । त्यो हिसाबले सदस्यहरुले समस्याग्रस्त घोषणा गरिदियोस् भन्ने लागेको हुनसक्छ । समस्याग्रस्त घोषणा भयो भने सहकारी र सञ्चालकको सम्पत्ति बेचेरै भए पनि रकम फिर्ता पाइन्छ भन्ने मनोविज्ञान उहाँहरुको हुनसक्छ ।

यर्थाथमा यो पूर्ण सत्य होइन । सहकारीमा समस्या आएपछि सदस्यहरुमा त्रास फैलियो । जुन सहकारी राम्रोसँग सञ्चालन भइराखेको छ र कुनै समस्या छैन, ती सहकारीले सदस्यको बचतलाई नियमपूर्वक लगानी गरेका छन् । ती सबै सहकारीका बचतकर्ताहरु अन्य सहकारीमा देखिएका समस्यालाई लिएर हामीले राखेको बचत पनि समस्यामा पर्ने हो की भन्ने डरले एकै पटक बचत फिर्ता माग्न गए भने राम्रो र नियमसंगत सञ्चालन भएका संस्थाहरुमा पनि वित्तीय संकट आउन सक्छ । सबै बचतकर्ताको रकम एकै पटक फिर्ता गर्न सक्ने अवस्था हुँदैन । सबै सहकारीले सदस्यलाई ऋण लगानी गरेका हुन्छन् । सदस्यले विभिन्न उद्योग तथा व्यवसायमा लगानी गर्छन् । सदस्यले पनि ऋण लिँदाको शर्त अनुसार क्रमशः ऋणको साँवा ब्याज तिर्दै जाने हो । तर सबैले एकै पटक बचत फिर्ता मागे भन्दैमा सबै ऋणीले पनि एकै पटक ऋण फिर्ता गर्न सक्ने अवस्था रहँदैन । सदस्यमा आएको त्रासले राम्रा सहकारी संस्थामा पनि बचत फिर्ताको चाप बढेपछि सञ्चालकहरु भाग्नु परेको अवस्था पनि छ ।

अहिले पनि केही संस्था समस्याग्रस्त घोषणा गरिएका छन् । ती सहकारी संस्थाको सम्पत्ति लिलाम गरी विक्री पनि भएका छन् । कतिपय तिर्ने तयारीमा छन् तर पनि सबै बचतकर्ताले बचत फिर्ता पाएको स्थिति छैन । कतिपय संस्थाको सम्पत्ति नै भेटिँदैन । बचत अन्यत्र लगानी भएको छ । समस्याग्रस्त घोषणा नगरी पनि समाधान हुन सक्छ । प्राधिकरणले पनि संस्थाका सञ्चालकहरुको विदेश यात्रामा प्रतिबन्ध लगाएको छ, शेयर, बैक खाता र घरजग्गा रोक्का गरेको अवस्था छ । प्रहरीमा लेखिपठाएर प्राधिकरणमा बयानमा उपस्थित गराउन सक्ने कानुनी व्यवस्था छ । यी विधि प्रयोग गरेर पनि सहकारीको बचत  फिर्ता गराउन र समस्या समाधान गर्न सकिन्छ । यसरी जाँदा संस्थाहरुलाई सुधार गर्ने अवसर पनि मिल्छ ।

सहकारी संस्था सबै बन्द गरी सिध्याउने प्राधिकरणको उदेश्य होइन । सहकारीले समुदायलाई नै हित गर्ने हो । ससानो रकम बचत मार्फत् संकलन गरी सदस्यहरुको आर्थिक रुपान्तरणमा सहयोग पु¥याउने हो । सदस्यको जीवनस्तर माथि उठाउने माध्यम सहकारी हो । यस कारण सहकारीलाई पुनःजागृत गरी पुनः समुदायको रुपान्तरणमा लगाउनुपर्छ । सामान्य कारवाही र सुपरीवेक्षणबाट समस्या समाधान हुन्छ भने सञ्चालकलाई हतकडी लगाउनु जरुरी छैन । हामीले अहिले उजुरीकर्ता र सञ्चालकबीच छलफल गराई समाधानको खोजी गर्दै आएका छौं । स्थानीयस्तरमा नै समस्या समाधान भई सहकारीहरु आफ्नो उदेश्यमा अघि बढ्न सक्छन् । 

सरकारले सहकारीका समस्या समाधान गर्न निकै सक्रियता देखाएको छ, यो कार्यमा अभियानको तर्फबाट कतिको सहयोग पाउनु भएको छ ? 

संघ महासंघहरुले राम्रो समन्वय गर्नुभएको छ । सहकारी पीडित बचतकर्ता महासंघले पनि नीतिगत तथा संगठन र संरचनागत व्यवस्थामा समेत सुधार गर्न सुझाव दिनुभएको छ । कतिपय सहकारी संस्थाको प्रमाण खोजेर उपलब्ध गराउने काम भएका छन् । पीडित पक्षबाट पनि समन्वय भएको छ भने स्थानीय र प्रदेश सरकारसँगै सहकारी संघसंस्थासँग पनि समन्वय गरेर समस्या समाधानको पहल भइराखेको छ । सहकारी मन्त्रालय, सहकारी विभाग र समास्याग्रस्त व्यवस्थापन समितिसँग निरन्तर समन्वय भइरहेको हुन्छ ।

हालसम्म भएको कामको बारेमा समीक्षा गर्ने र आगामी दिनका लागि नीतिगत सुधार तथा उपलब्धीका बारेमा समेत छलफल गर्दै अगाडि बढेका छौं । छुट्टै बचत तथा ऋण ऐनका लागि छलफल हुँदैछ । ऐन बनेर आएपछि बचतऋण सहकारीहरूलाई अझ व्यवस्थित बनाउन सकिन्छ। प्राधिकरणले विनियम पनि बनाउँछ । यी सबैको माध्यमबाट सहकारी क्षेत्रको व्यवस्थापनको लागि प्राधिकरणको योगदान हुन सक्ने हामीले विश्वास लिएका छौं । प्राधिकरणको आफ्नै जनशक्ति व्यवस्थापनमा हामीले काम गर्दै आएका छौं र ओ एण्ड एम स्वीकृत भएपछि सुब्बादेखि कार्यकारी निर्देशक तहसम्मको जनशक्ति लोक सेवा आयोगबाटै सिफारिस भएर आउँछ । नीतिगत व्यवस्था र जनशक्ति व्यवस्थापनपश्चात् प्राधिकरण सहकारी क्षेत्रमा सुशासन कायम गर्ने काममा अझ गतिशील बन्छ । 

सहकारीमा सम्पत्ति शुद्धिकरणको अवस्था के छ ? ग्रे लिष्ट बाहिर आउन सहकारीले कसरी योगदान गर्न सक्छन् ?

सम्पत्ति शुद्धीकरणका कतिपय कानुनी व्यवस्था पुरा गर्न नसक्दा मुलुक ग्रे लिष्टमा परेको हामी सबैलाई जानकारी छ । मुलुकलाई ग्रे लिष्टबाट बाहिर ल्याउन सबै पक्षबाट प्रयास भइराखेको अवस्था छ । ग्रे लिष्टबाट बाहिरिन विभिन्न सूचकहरु पुरा गर्नुपर्ने हुन्छ । ती मध्ये सहकारी पनि एउटा क्षेत्र हो । सहकारी क्षेत्रबाट पनि सम्पत्ति शुद्धीकरण र आतंककारी क्रियाकलापमा वित्तीय लगानी हुन्छ भन्ने अन्तर्राष्ट्रिय बुझाई छ । यसलाई तथ्यले पनि पुष्टी गरेको छ । नेपालमा पनि सहकारी संस्थाहरुबाट सम्पत्ति शुद्धीकरण भएको छ भन्ने कतिपय तथ्याङ्कले पुुष्टी गरेको छ । अझ हुन सक्छ भन्ने आशंका पनि भएकाले यसतर्फ सरकार सचेत छ । सहकारी संस्थाहरुमा सम्पत्ति शुद्धीकरणको दृष्टिकोणबाट पनि अनुगमन गर्नुपर्छ भन्ने कार्यादेश प्राप्त भएको छ । सोही अनुसार हामीले ६ वटा सहकारी संस्थालाई सम्पत्ति शुद्धीकरणको कोणबाट अनुगमन गरेका छौं । केही संस्थाको प्रतिवेदन आएको छ भने केहिको आउने क्रममा छ । सबै संस्थाको प्रतिवेदन आएपछि अध्ययन गरेर कारवाहीको प्रक्रिया अगाडि बढाउँछौं ।

हरेक महिना ५ वटा सहकारीलाई सम्पत्ति शुद्धीकरणको कोणबाट अनुगमन गर्छौं । हामीले संस्थाहरुको लागि सूचना समेत जारी गरिसकेका छौं र संस्थाहरुले प्राधिकरणलाई विवरण बुझाउनु पर्ने हुन्छ । सदस्यको आर्थिक अवस्था बलियो बनाई जीवनस्तर माथि उकास्ने भएकाले गैरकानुनी क्रियाकलापमा सहकारी लाग्नु हुँदैन । यो विषयमा हामी संवेदनशील भएर काम गरिराखेका छौं र सहकारीमा भएको सम्पत्ति शुद्धीकरणकै कारण मुलुक ग्रे लिष्टबाट बाहिर निस्कन सकेन भन्ने नहोस् भन्ने कोणबाट अघि बढेका छौं । सहकारी क्षेत्रसँग सम्बन्धित सदस्य, सञ्चालक, व्यवस्थापक, कर्मचारी र ऋणी सदस्य, संघ महासंघ सहित सहकारी बैंक सबैको सहकार्यबाट मुलुकलाई ग्रे लिष्टबाट बाहिर ल्याउन सकिन्छ । सहकारी संस्थाबाट सम्पत्ति शुद्धीकरणको काम किमार्थ हुनुुहुँदैन । यो विषयलाई प्राथमिकतामा राखेर हामीले तीब्र रुपमा अनुगमन गर्दै आएका छौं ।

ऋण लगानी हुन नसक्दा सहकारी संस्थामा अधिक तरलता रहेको छ भने अर्कोतर्फ विगतमा गरेको ऋण असुलीमा समस्या हुँदा खराब कर्जा बढेर गएको छ, यस्तो अवस्था प्राधिकरणले संघसंस्थाले खराब कर्जा बापत गर्नुपर्ने प्रोभिजनमा केही सहजिकरण  गर्न सक्दैन ?

गैर बैकिङ्ग सम्पत्तिमा प्रोभिजन गर्ने विषयमा प्राधिकरणमा कुरा उठेको छ । सहकारी महासंघ र संघसंस्थाहरुले पनि प्रोभिजन गर्नुपर्ने व्यवस्थालाई सहजिकरण गरिदिन माग गरेका छन् । यो समीक्षाको विषय बनेको छ । २०८३ असार मसान्तसम्म ५० प्रतिशत प्रोभिजनको व्यवस्था गरेकोमा त्यो समय सकिएको छ । अब संस्थाहरुले गैर बैकिङ्ग सम्पत्तिमा शतप्रतिशत प्रोभिजन गर्नुपर्ने हुन्छ । संस्थाहरुलाई वित्तीय रुपमा सुरक्षित गर्ने हो भने शतप्रतिशत प्रोभिजन नै उपयुक्त हो । अहिले बजारमा आर्थिक मन्दी छ, संघसंस्थाहरुले सकारेको धितो विक्री भइराखेको छैन । त्यसमा केही सहुलियत दिनुपर्छ भन्ने सोच प्राधिकरणले बनाएको छ । नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाको लागि नीतिगत व्यवस्था गर्छ । हामी पनि सोही अनुसार केही निर्णय गर्न सरोकारवालाहरुसँग छलफल गरेर जान्छौं । कुनै संघ संस्थालाई लाभ वा घाटा हुने भन्दा पनि के गर्दा समग्र अभियानको हित हुन्छ र  सदस्यको बचत पनि सुरक्षित हुन्छ, त्यसमा हामी छलफलको क्रममा छौं । संघसंस्थाहरुलाई कसरी सहुलियत दिने र के गर्दा सहकारी र सदस्यको हित हुन्छ, त्यो विषयमा गहन छलफल गरी उपयुक्त निर्णय लिनेछौं ।