२२२० बर्ष अघिको कुरा हो, यो सत्यमा आधारित कथाको। उतिबेला 'छु' (Chu) राज्यमा (अहिले दक्षिण चिन) छु युआन नामका एक निष्ठावान्, बुद्धिमान् र देशभक्त कवि थिए, राजाका सहपाठी पनि। उनि मन्त्री भए। उनी आफ्ना राजा र देशलाई अगाध प्रेम गर्थे। तर, त्यतिबेलाको "छु" दरबारमा चरम भ्रष्टाचार थियो। भ्रष्ट मन्त्री र भारदारहरू आफ्नै खल्ती भर्न र विलासी जीवन बिताउन व्यस्त थिए। उनिहरुलाइ देशको माया थिएन।
छु युआनले लेखेको "सुन्तला" को कविता प्रख्यात, जस्ले भन्छ सुन्तला मिठो/गुलियो छ किनभने यो छु राज्यको माटोमा फलेको हो। उनि चिन्तित थिए। उनले राजालाई पटक-पटक चेतावनी दिए—"महाराज! दरबारको यो अराजकता र भ्रष्टाचारले हाम्रो देश शत्रुको कब्जामा पर्न सक्छ। हामीले आफ्ना नागरिकलाई बलियो बनाउनुपर्छ र भ्रष्टाचार रोक्नुपर्छ। देश सेनाले होइन नागरिक र नागरिकको संरक्षण गर्ने असलमन्त्रीको बफादारीले बांच्छ।"
तर, भ्रष्ट लिभी र राजनितिक चेतना नभएका मन्त्रीको लहड, सनक र जालझेलका कारण राजाले छु युआनको कुरा सुनेनन्।
उल्टै, भ्रष्ट मन्त्रीहरूले छु युआनमाथि झुटा आरोप लगाएर देश निकाला (Exile) गरिदिए।
छु युआन नदीको किनारमा बसेर देशको दुर्दशा र राजनीतिक अराजकतालाई हेर्दै कविता लेख्न थाले। केही वर्षपछि, उनले सोचेका थिए त्यहि भयो। राजनीतिक रूपमा कमजोर र भ्रष्ट भएको 'छ' राज्यमाथि छिमेकी राज्य चिन राज्यले आक्रमण गर्यो र छु राज्यको पतन भयो।
आफ्नो मातृभूमि पतन भएको सहन सकेनन। छु युआनले देशप्रतिको निश्छल प्रेम र शोक प्रकट गर्दै "मिलुओ" नदीमा हाम फालेर आत्महत्या गरे।
जब गाउँले गरिबले यो कुरा थाहा पाए, उनीहरू रुँदै आफ्ना डुङ्गाहरू लिएर नदीमा दौडिए। उनीहरुले देशका एक सच्चा देशभक्तको शवलाई माछाले नखाऊन् भनेर पानीमा चामलका डल्लाहरू (जोङ्गज) फ्यांके र ड्रम बजाएर माछाहरूलाई धपाए। तर लास भेटेनन। आजपनि त्यो दिन चामल फ्यांक्दै नौका चालाउने चलन जिवित छ।
नेताहरू भ्रष्ट र अराजक हुन सक्छन्, तर देश भुइँमान्छेकै हो। छु युआनको कथाले भन्छ "शासकहरू आउँछन् र जान्छन्, तर आफ्नो माटोको रक्षा गर्ने त भुंइमान्छेले हो।"
नेताहरूको अकर्मण्यता, अराजकता, अस्थिरता र बिचारहिन कामकारबाही देखेर देश नै छोड्नु भन्दा, यो देशको लागि केहि कर्म गर्नु सबैको कर्तव्य हो। तर हामि त माटोमा फलेको सुन्तलाको गीत होइन "आमाचकारी गालीको गित, बिदेशी संस्कार, "जे सुकै होस मलाइ के मतलव" को मनोवृत्ति, शब्दै पिच्छे अस्लिलता, फोटो खिचेर भाइरल, साना बालक देखि मन्त्री सम्म हिन्दि गीतमा टाउको हल्लाएर टिक टिक बनाउने संस्कार, मानिस दुर्घटनामा मर्दैछ, उस्को उद्धार होइन, भिडियो खिच्ने प्रवृत्तिका दास बन्यौं। जव मुटुमा देश मर्छ, त्यो देश माटोमा बांच्दैन।
"कांहा खोजौं, छु युयान म?
उनि बांचेको वा मरेको देख्ने,
मेरा आंखामा त
स्वार्थको मोतिबिन्दु लागेको छ।"
"बिचार विवेक ज्युंदो नै छैन
मात्र एउटा आशा छ,
एक पटक कुर्सिमा बसेर
उस्कै जति लुटन पांउ,
पाइएन भने,
उडने जहाजमा चडेर
माटोमा थुक्न पाउं।"
जुन देशमा मानिसको चेतना मर्छ, देश पनि मर्छ।
(साभार - प्रा.डा.युवराज संग्राैलाकाे साउन ३ काे मुहारपुस्थतकाबाट)
*प्रो. डा. युवराज संग्रौला नेपालका अग्रणी कानुन विद्वान हुनुहुन्छ।
प्रा.डा.युवराज संग्राैला