खैरहनी नगरपालिका १३ गवै, चितवनमा रहेको साना किसान कृषि सहकारी संस्थाले कृषि क्षेत्रमा यान्त्रिकीकरणमार्फत् उत्पादकत्व वृद्धिमा काम गर्दै आएको छ । संस्थाले सहकारी मार्फत कृषिमा आधुनिकीकरण गर्दै उत्पादनमा वृद्धि ल्याउन विभिन्न कृयाकलाप गर्दै आएको छ ।
संस्थाले सदस्यहरुलाई कृषि उत्पादनमा लाग्न प्रोत्साहन गर्नुका साथ उत्पादित वस्तुको प्रशोधन, भण्डारण र बजारीकरणमा समेत टेवा पुर्याएको छ । संस्थाका अध्यक्ष रामशरण पाठकले संस्थाले कृषि क्षेत्रमा धेरै काम गर्दै आएको र विउ उत्पादनको लागि गोदामघर मार्फत् कृषिका लागि चाहिँने विउ भण्डारणको व्यवस्था मिलाएको बताए । नार्कसँगको समन्वयमा संस्थाले विउ उत्पादन गर्ने गरेको र विउ उत्पादन तथा प्रशोधन कार्यक्रम सञ्चालन गरी ग्रेडिङमार्फत् स्वस्थ र स्वच्छ विउ सदस्यहरुलाई विक्री वितरण गर्ने गरेको उनले जानकारी दिए । विउलाई बिग्रन बाट जोगाउन ड्रायर मेसिन सञ्चालनमा ल्याएको छ ।
त्यसैगरी, संस्थाले २ वटा तोरी मिल सञ्चालन गर्दै आएको छ भने सदस्यले उत्पादन गरेको तोरी बजारमुल्य भन्दा प्रतिक्वीन्टल २ सय रुपैयाँ बढी दिएर खरिद गर्दै आएको छ । दुई वटा मिलबाट शुद्ध तोरीको तेल उत्पादन गरी मानवस्वास्थ्यलाई ध्यानमा राखी विक्री वितरण गर्ने गरेको छ । त्यसका साथै सदस्यले उत्पादन गरेको तोरी सुपथ मुल्यमा पिसानी गर्ने काम संस्थाले गरेको छ । धानको विउको ग्रेडिङ गर्न मेशिनको प्रयोग हुँदै आएको छ । त्यस्तै, संस्थाले गोदामघर सञ्चालनमा ल्याएको छ भने पशुपालनका लागि आवश्यक दाना समेत उत्पादन गर्दै आएको अध्यक्ष पाठक बताउँछन् ।
खैरहनी नगरपालिकाको १२ र १३ गरी दुई वटा वडा कार्यक्षेत्र रहेको संस्थाले ६ वटा दुध उत्पादक सहकारी संस्था मिलेर पशु दाना (क्याटल फिड) उत्पादन गर्दै आएको छ । जसमा ४० प्रतिशत साना किसान र ६० प्रतिशत दुग्ध संस्थाहरुको लगानी रहेको छ । त्यसका कारण, कृषकहरुले दुध उत्पादन क्षमता बढाउनुका साथै पशुहरुमा बाँझोपनको समस्या हटेर गएको उनको भनाइ छ । त्यस क्षेत्रमा धेरै सदस्यले माछा पालन गर्दै आएकाले निकट भविष्यमा माछाको लागि पनि दाना उत्पादन गरी विक्री वितरण गर्ने योजनामा संस्था रहेको छ ।
संस्थाको लगानीमा उत्पादित दानाले पशुको स्वास्थ्यमा सुधार आउनुका साथै प्राविधिकहरुको सहयोगमा उत्पादन गर्दै आएकाले पशुहरुको बाँझोपन समस्या न्यूनिकरण हुँदै गएको छ । कुमरोजमा खेती गर्नको लागि आवश्यक सिंचाईको समेत व्यवस्था संस्थाले गरेका कारण धान र तोरी उत्पादनमा वृद्धि भएको छ । संस्थाबाट ऋण सहयोग लिएर २३ हेक्टर क्षेत्रफलमा सदस्यहरुले केरा खेती गर्दै आएका छन् । मााछापोखरी निर्माण गरी माछापालन, पोल्टी फर्म सञ्चालन र व्यवसायिक कृषिमा लाग्न सदस्यहरुलाई संस्थाले प्रोत्साहन गरेको छ । संस्थाले एक विगा ५ कठ्ठा जग्गा खरिद गरी कृषि कर्म गर्नका लागि ‘कष्टम हाइरिङ सेन्टर’ स्थापना गरेको छ ।
कृषि आधुनिकरण परियोजनाको सहयोगमा किसानहरुलाई सहुलियत दरमा खेत जोत्नको लागि दुईवटा ट्रयाक्टर खरिद गरेको र बजारमा चलेको दर भन्दा सस्तोमा खेत जोत्ने काम गर्दै आएको उनले बताए । धान काट्न हारभेष्ट मेशिन खरिद गरेको र किसान सदस्यलाई सहुलियत दरमा धान काटिदिने गरेको छ । यस अघि प्रतिविगा ७ हजार धान काट्न खर्च लाग्ने गरेकोमा संस्थाले मेशिन ल्याएपछि ४ हजारमा नै सेवा दिँदै आएको छ । ट्रेमा विउ राखी मेशिनबाट धान रोप्न सदस्यहरुलाइ सघाउने गरेको र ३५ हेक्टर जमिनलाई एकीकृत गरी मेशिनको सहायताले धान रोप्ने गरेको संस्थाले जनाएको छ । एउटै प्रजातिको धान लगाउन सदस्यहरुलाई प्रोत्साहन गरेकाले उत्पादन समेत बढेको र एउटैै जातको धान लगाएपछि रोगकिराहरु उपचारमा समेत सजिलो भएको उनले सुनाए ।
कृषि प्राविधिक सहयोग संस्थाले उपलब्ध गराएको र यसले समयमा नै कृषि रोग पहचिान गरी निधान गर्न सहयोग मिलेको उनले सुनाए । कृषकले उत्पादन गरेको धानलाई बजारीकरण गरी सदस्यहरुको आम्दानी बढाउने काम गरेको संस्थाले जनाएको छ । किसानको हितको लागि संस्थाले काम गर्दै आएको र संस्थाले दिएको सेवाले सदस्यहरु खुशी रहेको उनले प्रतिक्रिया दिए ।
संस्थाले कष्टम हाइरिङ प्रणाली सुरु गरेको र त्यसको माध्यमबाट खेती गर्दा लागत कम लाग्नुका साथै छिटो र सहज रुपमा खेती गर्न सकिने उनले जनाए । त्यसले उत्पादन लागत कम पर्न गई कृषकहरुले खेतीपातीबाट बढी लाभ लिन सकिने उनले जानकारी दिए ।
कष्टम हाइरिङको प्रयोगबाट उत्पादन बढाउन सकिने र लागत घटाउन सकिने मान्यताका साथ संस्थाले २ वटा ट्रयाक्टर सञ्चालन गरेको र यसले बजारमा अधिक शुल्क लिने प्रवृत्तिलाई समेत न्यूनिकरण गर्न सहयोग पुगेको उनले बताए । मकै, गहुँ र धान काट्ने मेशिन प्रयोगमा ल्याउँदा कृषकहरु लाभान्वित भएका छन् पहिले निजी ट्रयाक्टरले ७ हजारसम्म शुल्क लिँदै आएकोमा अहिले सहकारीकै कारण घटेर ४ देखि ५ हजार मात्र शुल्कमा झरेको छ ।
त्यसैगरी किसानले धान रोप्ने मेसिनबाट धान रोप्दा समय र विउ पनि कम लाग्ने र प्रति विगा ५ हजारमा धान रोप्ने सुविधा पाइरहेका छन् । त्यसैका लागि विगतमा १२ हजारसम्म खर्च हुने गरेकोमा अहिले संस्थाकै कारण सदस्यले धेरै सहुलियत पाएको अध्यक्ष पाठकले बताए । त्यसैगरी मेशिनको सहायताले पराललाई गुन्जी बनाएर खेतबाट पराल उठाउने काम पनि सहकारीले गर्दै आएको छ ।
संस्थाले सदस्यहरुलाइ विविध प्रकारका सुविधासमेत प्रदान गर्दै आएको छ । सहकारीमा आवद्ध महिला सदस्य सुत्केरी हुँदा २ पटकसम्म जनही २५ सयका दरले ५ हजार रुपैयाँ ज्वानाको झोल कार्यक्रममार्फत वितरण गर्ने गरेको छ । त्यसैगरी बच्चाको नाममा खाता खोली संस्थामा बचत गर्ने बानीको विकास गर्दै लगेको छ । पशु बीमा कार्यक्रम सञ्चालन गरी सदस्यहरुलाई विभिन्न प्राकृतिक प्रकोपबाट हुने क्षतिमा राहत हुने व्यवस्था मिलाएको छ ।
कुखुरा, गाई भैंसी र माछा पालनका साथै सदस्यहरुलाई आर्थिक रुपमा सबल बनाउने क्षेत्रमा ऋण लगानी गर्दै आएको संस्थाले नगरपालिकासँगको सहकार्यमा सदस्यका लागि खलो निर्माण गर्नुका साथै पशुपालनका लागि आवश्यक पर्ने तालिमहरु सञ्चालनको व्यवस्था मिलाएको छ । समुहमा आधारित रहेर संस्थाले बचत ऋणको कारोबार गर्दै आएको र सदस्यको माग तथा परियोजनाको आधारमा ऋण लगानी गर्ने गरेको छ । ऋण लगानीमा जोखिम भए पनि जोखिमलाई विश्लेषण गरी ऋण लगानी गर्ने गरेको अध्यक्ष पाठक बताउँछन् ।
सरकारले कृषि उपजको समर्थन मुल्य तोके पनि कृषकले भने आधा मुल्यमा नै वस्तु विक्री गर्नु परेकोे र त्यसले गर्दा कृषकलाई संस्थाबाट लगेको ऋणको साँवा ब्याज भुक्तानीमा समस्या पर्ने गरेको छ । अधिकांश सदस्य कृषि पेशामा जोडिएको र उत्पादन लागतको तुलनामा उचित बजार भाउ नहुँदा ऋण लगानी गर्नुअघि सोच्नुपर्ने बेला आएको उनले सुनाए । संस्थाले पशु भेटनरी सञ्चालन गरी आवश्यक औषधोपचारको व्यवस्था मिलाएको छ । त्यसैगरी सामुदायिक कृषि सिकाई केन्द्रमार्फत कृषि सम्बन्धी विभिन्न तालिम सदस्यलाई प्रदान गर्ने गरेको छ ।
२०५२ सालको माघ महिनमा स्थापना भएको संस्थाको शेयरपुँजी २ करोड ५४ लाख, जगेडा कोष ३ करोड ९२ लाख, अन्य कोषहरुमा ३२ लाख रकम रहेको छ । त्यसैगरी बचत संकलन ३७ करोड ६३ लाख र ऋण लगानी ६४ करोड ९८ लाख गरी कुल सम्पत्ति ८८ करोड ४४ लाख रहेको छ । संस्थामा २ हजार ८ सय भन्दा बढी सदस्य आवद्ध रहेका छन् ।
नेपालपत्र संवाददाता