बुधबार, भाद्र ३ गते २०८३

सहकारी अभियानको नेतृत्व गर्नै अप्ठ्यारो पार्ने गरी ‘परिवार’को व्याख्या हुनुहँदैन


बैशाख ३०, २०८३ बुधबार
सहकारी अभियानको नेतृत्व गर्नै अप्ठ्यारो पार्ने गरी ‘परिवार’को व्याख्या हुनुहँदैन

सरकारले ल्याएको अध्यादेशका विषयमा देशभरका सहकारी संघ संस्थाहरुसँग छलफल गरिराखेका छौं । अहिलेको अध्यादेशले सहकारी अभियानलाई कस्तो प्रभाव पार्न सक्छ ? यसमा तपाईहरुको सल्लाह सुझाव के छ भनेर मागिराखेका छौं र एकीकृत रुपमा अध्यादेशका विषयमा सुझाव दिने काम महासंघले गर्छ । पहिलो कुरा अध्यादेश भन्ने वित्तिकै अत्यावश्यक काम पुरा गर्न राज्यले ल्याउने हो । राज्यले नीति नियम बनाउँदा सरोकारवाला निकायसँग बाक्लो छलफल गर्नु पर्नेमा त्यो हुन सकेन । अध्यादेशमा केही राम्रा कुरा छन् । स्थानीय र प्रदेश सरकारको अधिकारलाई यो अध्यादेशले थप प्रष्ट पारिदिएको छ । सहकारीको लेखा परीक्षणमा त्रुटि हुन्छन् भन्ने चर्चा हुने गथ्र्यो । त्यसलाई प्राधिकरणबाट नै निगरानी गर्न सक्ने व्यवस्था अध्यादेशले गरेको छ ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था एक बर्षभित्र प्राधिकरणमा दर्ता भइसक्नु पर्छ भन्ने थियो । अब प्राधिकरण  आफैंले समयसीमा तोकेर संस्थाहरुको दर्ता अभिलेखीकरण गर्न पाउने भएको छ । यो सकारात्मक पक्ष हो । मुख्यगरी समस्याग्रस्त व्यवस्थापन समितिलाई थप जिम्मेवार बनाएको छ भने चक्रीय कोष स्थापना गरी त्यसको परिचालन गर्ने व्यवस्था अध्यादेशले गरेको छ । पीडित बचतकर्ताको दायित्व भुक्तानी व्यवस्थापन गर्ने विषयमा पनि अध्यादेशले बोलेको छ । प्राधिकरणलाई थप मजबुत बनाउने कुरामा अध्यादेश केन्द्रीत भएको जस्तो मलाई लाग्छ । 

सहकारी विभाग र प्राधिकरणबिचको कन्फ्युजनलाई पनि अन्त्य गरिदिएको छ । प्राधिकरणबाट विभिन्न निकायमा प्रतिनिधित्व गर्ने कुरालाई पनि सुनिश्चितता गरिदिएको छ भने कर्जा सूचना केन्द्रमा सबै प्रकृतिका सहकारीको पहुँच हुनुपर्छ भन्ने विषय पनि अध्यादेशमा उल्लेख भएको छ । सहकारी क्षेत्रमा वित्तीय अपचलन भयो, सदस्यहरुले ठुलो मात्रामा आफ्नो बचत फिर्ता पाइराखेका छैनन् भन्ने कुरालाई व्यवस्थित गर्न संस्थाहरुको वर्गिकरण गर्ने र संस्था दर्ता गर्नुपूर्व प्राधिकरणसँग सम्पर्क गर्नुपर्ने व्यवस्था भएको छ । यसलाई अभियानले सकारात्मक रुपमा लिएको छ । 

त्यसका साथै २–३ वटा विषयमा अभियानको गम्भिर ध्यानाकर्षण भएको छ । अध्यादेशका कतिपय बुँदा संशोधनको लागि राजनीतिक दलहरुसँग पनि हामी लबिइङ गर्छौं । हामीले सहकारी अभियानको तर्फबाट आर्जन गरेको नाफाको ०.५ प्रतिशत  सहकारी प्रवद्र्धन कोषमा जम्मा गर्दै आएका छौं । उक्त कोषमा जम्मा भएको रकमलाई अभियानको विकास र प्रवद्र्धनको लागि खर्च गर्ने ऐनमा उल्लेख छ । तर उक्त कोषलाई सहकारी महासंघ मार्फत् अभियानले सञ्चालन गर्नुपर्छ भनेर हामीले भन्दै आएका छौं । तर यो अध्यादेशले विभागमार्फत् उक्त कोष परिचालन गर्ने व्यवस्था गरेको छ । यो अभियानकै पैसा भएको हुनाले महासंघ मार्फत परिचालन गर्ने गरी व्यवस्था गर्न हाम्रो माग छ । 

अर्कोतर्फ संघहरुले बचत तथा ऋणको कारोबार गर्न नपाउने भन्ने विषय अहिले अध्यादेशमा आएको छ । संघहरुले बचत ऋणको कारोबार गरेको होइन । सदस्यको प्रवर्धन र वित्तीय सहयोगको लागि आफ्ना सदस्यहरुको बीच भएको कारोबार मात्र हो । यसलाई व्यवस्थित बनाउन छुट्टै मापदण्ड बनाउनुपर्छ । आफ्ना सदस्यबीचमा सहकारी मुल्य, मान्यता र सिद्धान्तमा रहेर वित्तीय कारोबार गर्न पाउनुपर्छ र आफ्ना सदस्यको प्रवद्र्धन गर्ने विषयलाई अध्यादेशले रोक्न मिल्दैन । संघहरुको उदेश्य नै बचत तथा ऋणको कारोबार भएकाले त्यो भन्दा बाहेक उनीहरुले के कारोबार गर्छन् ? सदस्य संस्थाहरुको प्रवर्धनका लागि संघहरुले बचत ऋणको कारोबार गर्न पाउनुपर्छ तर त्यसलाई व्यवस्थित बनाउने कुरामा सरकारको तर्फबाट सोच्नुपर्ने हुन्छ ।

अर्कोतर्फ सहकारीमा नविकरण भन्ने हुँदैन । एक पटक दर्ता भईसकेपछि अध्यावधिक हुनुपर्छ । आर्थिक बर्ष सक्किएको तीन महिना अर्थात असोजसम्म लेखा परीक्षण सक्नुपर्छ र पुससम्म साधारण सभा सम्पन्न गर्नुपर्छ र साधारण सभा सकिएको १५ देखि एक महिनाभित्र नियामकलाई सम्पूर्ण कागजात बुझाउनुपर्छ । सहकारी संघ संस्थालाई व्यवस्थित गर्ने कुरामा हाम्रो असहमति छैन । प्राधिकरणले नविकरण दस्तुरको सट्टामा नियमन दस्तुर भनेर लिन सक्छ । प्राधिकरणले ११ हजार सहकारीलाई इजाजत दिने भनेको छ । सबै संस्थामा प्राधिकरण पुग्न सक्दैन । जुनजुन संस्थालाई सेवा प्रदान गर्छ, ती–ती सहकारी संस्थाबाट मात्र बार्षिक रुपमा शुल्क लिने प्रावधान मिलाउनुपर्छ । अध्यादेशमा नविकरण शुल्क भनेर आएको छ, त्यसलाई नियमन दस्तुर भन्नु उचित हुन्छ ।

अध्यादेशले सहकारीमा परिवार र नातेदारको परिभाषा फराकिलो बनाएको छ । यसले भोलिका दिनमा सहकारी संस्था सञ्चालन गर्ने व्यक्ति नपाउने खतरा निम्त्याएको छ । जसले गलत गर्छ , उसको छानबिन गर्नुपर्छ । गलत मनासय भएकाले मित, मितिनी र मित बुबा बनाएर पनि सम्बन्ध विस्तार गर्छ । अपुताली ऐनमा परिवारको परिभाषा भएजस्तै सहकारी अध्यादेशमा सबै लेखेको रहेछ । सोही ऐनलाई टेकेर मुलुककी ऐनलाई पन्छ्याएर यो खालको व्यवस्था गरिएको छ । हाम्रो भनाई गलत गर्नेलाई कारवाही हुनुपर्छ भन्ने हो । अपराधी कारवाहीको भागेदारी बन्नुपर्छ तर पहिले नै तर्साएर अभियानमा आवद्ध नै हुन नसक्ने गरी ल्याइएको अध्यादेश हामीलाई मान्य हुँदैन । जसले गलत गरेको छ, गलत गरेको व्यक्तिलाई कारवाही गर्न अझ तलसम्म जान सक्ने गरी कानुनी व्यवस्था गर्नुपर्छ । तर सिङ्गो अभियान भित्र नेतृत्व गर्न अप्ठ्यारो पार्ने गरी व्याख्या गर्नु हुँदैन । अर्कोतर्फ मुुख्य कारोबारको परिभाषा परिमार्जन भएको छ । अभियानको तर्फबाट मुख्य कारोबार राखिनु हुँदैन भन्ने हो ।

अहिले पनि ठुलो कारोबार  गर्दै आएका बहुउद्देश्यीय प्रकृतिका सहकारी संस्थालाई मुख्य कारोबारको विषयले अप्ठ्यारो पार्छ । अहिले ५०–५० प्रतिशत मुख्य कारोबारको रुपमा ल्याइएको छ । यसले पुग्दैन । ऐन संशोधन गरेर यसलाई सुधार गर्नुपर्छ । संस्थाहरुले शेयर पुँजी र जगेडा कोषको यति प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्ने व्यवस्था गरेर जानुपर्छ । मुल ऐन संशोधन हुँदा सिमाङ्कन गर्ने कुरालाई हटाउनुपर्छ । बचत ऋणको सहकारीले बचत ऋणको कारोबार गर्ने हो । बहुउद्देश्यीयले उदेश्य अनुसारको  काम गर्नुपर्छ । अहिले पनि सहकारी ऐनलाई पूर्ण रुपमा कार्यान्वयनमा गराउन ४७ वटा कानुन बाधक छन् । ती सबै ऐन संशोधन गरिनुपर्छ र सहकारीको प्रवद्र्धन तथा विकाससँगै यो क्षेत्र रोजगारी सृजना र उत्पादनमूलक क्षेत्रमा जानुपर्छ । संस्थाहरुले वित्तीय पारदर्शिता र सुशासन कायम गरी सहकारीको मुल्य, मान्यता र सिद्धान्तमा रहेर सञ्चानलन हुनुपर्छ । राज्यको आवश्यकता पुरा गर्नेतर्फ अभियानको ध्यान जान आवश्यक छ । रोजगारी सृजना मार्फत् मुलुकलाई समृद्ध बनाउनुपर्छ । अभियानलाई ५० वा ३० प्रतिशत भनेर अल्झाउनु हुँदैन भन्ने हाम्रो धारणा हो । 

 

( सिजेएनले गरेकाे ‘सहकारी अध्यादेश र यसले पार्ने प्रभाव’ विषयक अन्तर्क्रिया कार्यक्रममा का.वा. अध्यक्ष पाेखरेलकाे मन्तब्यकाे सम्पादित अंश)