ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघको आयोजनामा ‘लेखा सुपरिवेक्षण समिति गोष्ठी २०८२ ’ सुरु भएको छ । भक्तपुरको रत्नागिरी रिसोर्टमा आजबाट गोष्ठी सुरु भएको हो ।
संघका अध्यक्ष रामहरी बजागाईको अध्यक्षतामा सुरु भएको गोष्ठीको बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री विनु पौडेल रायमाझीले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मन्त्री पौडेलले मुलुकमा रहेका अधिकांश सहकारीले सदस्य र समुदायको आर्थिक तथा समृद्धिमा काम गर्दै आएको बताइन् । उनले केही सहकारी संस्थाले गरेको गलत कार्यलाई लिएर सबै सहकारीलाई एउटै डालो हाल्न नहुने बताइन् । भोलीसम्म सञ्चालन हुने गोष्ठीमा विषय विज्ञहरुद्धारा महत्वपूर्ण कार्यपत्र प्रस्तुति हुने आयोजकले जनाएको छ । गोष्ठीमा ललितपुर जिल्ला संघका सदस्य साकोसका लेखा समितिका संयोजक तथा सदस्यहरुको सक्रिय सहभागिता रहेको छ।
गोष्ठीमा प्रशिक्षक कुबेर निरौला, राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा विज्ञ सदस्य डा.रमेशप्रसाद चौलागाई, शिशिरकुमार ढुंगाना, सिए संजिव ढकाल र मोटिभेस्नल स्पिकर रामजी अधिकारीले सहजीकरण गर्नेछन् । सहकारी संस्थामा लेखा समितिको भूमिकाको बारेमा जानकारी दिने र समितिलाई जवाफदेही बनाउने उदेश्यका साथ गोष्ठी आयोजना गरिएको अध्यक्ष बजगाईले जानकारी दिए । संघका सचिव श्यामकृष्ण मर्हजनले सञ्चालन गरेको कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक सानुकाजी महर्जनले स्वागत मन्तव्य राख्दै गोष्ठीको आवश्यकता र महत्वको बारेमा जानकरी दिए ।

नेपालपत्र संवाददाता