—भ्लादिमिर ईलिच लेनिन
क्रान्ति सत्ता प्राप्तिको घटना मात्र होइन; जनताको विश्वास, उत्पादनशक्तिको विकास, कुशल राज्य सञ्चालन र निरन्तर आत्मसमीक्षामार्फत समाजलाई रूपान्तरण गर्ने दीर्घकालीन ऐतिहासिक प्रक्रिया हो।
— अक्टोबर क्रान्तिको चौथो वार्षिकोत्सवको सन्दर्भमा एक वैचारिक विश्लेषण
१. ऐतिहासिक मोडमा लेनिनको आत्मसमीक्षा
१४ अक्टोबर १९२१ मा भ्लादिमिर इल्यिच लेनिनले ‘अक्टोबर क्रान्तिको चौथो वार्षिकोत्सव’ शीर्षकको लेख पूरा गरेका थिए। केही समयपछि सोभियत सङ्घको कम्युनिस्ट पार्टीको मुखपत्र ‘प्राभ्दा’ मा प्रकाशित यो लेख सतही रूपमा अक्टोबर क्रान्तिको उपलब्धिको समीक्षा जस्तो देखिए पनि यसको वास्तविक महत्त्व त्यसभन्दा निकै गहिरो छ। यो विश्वको पहिलो सफल समाजवादी क्रान्तिको उपलब्धि, सीमा, अन्तर्विरोध र भावी दिशाबारे गरिएको गम्भीर राजनीतिक तथा रणनीतिक आत्मसमीक्षा थियो।
सन् १९१७ को अक्टोबर क्रान्तिले रूसमा विद्यमान पुरानो राज्यसत्तालाई विस्थापित गर्दै मजदुर वर्गको नेतृत्वमा नयाँ राजनीतिक व्यवस्थाको स्थापना गरेको थियो। यसले विश्व राजनीतिमा नयाँ युगको उद्घाटन ग¥यो। पहिलोपटक समाजवादी विचारलाई राज्यसत्ताको तहमा कार्यान्वयन गर्ने ऐतिहासिक अवसर प्राप्त भएको थियो। तर सत्ता प्राप्त गर्नु र समाजवादी समाज निर्माण गर्नु एउटै कुरा थिएन। पुरानो व्यवस्था भत्काउनु एउटा चुनौती थियो भने नयाँ सामाजिक, आर्थिक र राजनीतिक संरचनाको निर्माण गर्नु त्योभन्दा जटिल कार्य थियो।
क्रान्तिको चौथो वर्षमा आइपुग्दा बोल्सेभिक नेतृत्वले यही कठोर यथार्थको सामना गरिरहेको थियो। गृहयुद्ध, विदेशी हस्तक्षेप, आर्थिक विनाश, भोकमरी, किसान असन्तुष्टि र प्रशासनिक कमजोरीले नयाँ राज्यसत्तालाई चौतर्फी सङ्कटमा पारेका थिए। क्रान्तिले राजनीतिक विजय हासिल गरे पनि त्यस विजयलाई संस्थागत गर्ने, उत्पादन व्यवस्था पुनर्जीवित गर्ने र जनताको विश्वास कायम राख्ने प्रश्न अझै अनुत्तरित थिए।
यस्तो अवस्थामा लेनिनले विगतका उपलब्धिको प्रशंसामा मात्र सीमित नभई क्रान्तिले के हासिल ग¥यो, कहाँ कमजोरी रह्यो, किन नीतिमा परिवर्तन आवश्यक भयो र अब कसरी अगाडि बढ्ने भन्ने प्रश्न उठाए। यही कारणले यो लेखलाई एउटा ऐतिहासिक दस्तावेज मात्र नभई क्रान्तिकारी नेतृत्वको जिम्मेवारी, राजनीतिक यथार्थबोध र आत्मसमीक्षाको महत्त्वपूर्ण उदाहरणका रूपमा हेर्न सकिन्छ।
यसको मूल सन्देश स्पष्ट छ—क्रान्तिको सफलता केवल सत्ता परिवर्तनबाट मापन हुँदैन; त्यसले जनताको जीवनमा कस्तो परिवर्तन ल्यायो, उत्पादन र सामाजिक सम्बन्धलाई कति रूपान्तरण ग¥यो तथा आफ्नो घोषित लक्ष्यतर्फ कति अघि बढ्यो भन्ने आधारमा पनि मूल्याङ्कन गर्नुपर्छ।
२. गृहयुद्ध, विदेशी हस्तक्षेप र क्रान्तिले सामना गरेको सङ्कट
अक्टोबर क्रान्तिपछिको रूस असाधारण कठिन परिस्थितिबाट गुज्रिरहेको थियो। सन् १९१८ देखि १९२१ सम्म चलेको गृहयुद्धमा बोल्सेभिक सरकारको सामना श्वेत सेनाहरू, विभिन्न राष्ट्रवादी शक्तिहरू र विदेशी हस्तक्षेपकारी शक्तिहरूसँग भयो। बेलायत, फ्रान्स, संयुक्त राज्य अमेरिका, जापानलगायतका देशहरूले विभिन्न रूपमा हस्तक्षेप गरेका थिए। यसले नवस्थापित सोभियत सत्तामाथि सैन्य, राजनीतिक र आर्थिक दबाब बढायो।
लेनिनको दृष्टिमा विदेशी हस्तक्षेप र पुँजीवादी शक्तिहरूको घेराबन्दी क्रान्तिको अस्तित्वमाथिको गम्भीर चुनौती थियो। तर बाह्य शत्रुको सामना गर्नु मात्र समस्या थिएन। गृहयुद्धले देशको उत्पादन प्रणाली तहसनहस पारेको थियो, यातायात तथा वितरणका संरचना कमजोर भएका थिए र आम जनताको जीवन अत्यन्त कष्टकर बनेको थियो। क्रान्तिको रक्षाका लागि अपनाइएका कतिपय नीतिले पनि जनताको एउटा हिस्सामा असन्तुष्टि बढाएका थिए।
युद्धकालीन साम्यवाद यसको महत्त्वपूर्ण उदाहरण थियो। गृहयुद्धको असाधारण परिस्थितिमा बोल्सेभिक सरकारले उद्योगहरूको राष्ट्रियकरण, उत्पादन तथा वितरणमाथि केन्द्रीय नियन्त्रण र किसानबाट अन्नको जबर्जस्ती सङ्कलनजस्ता उपाय अपनायो। यसको तत्कालीन उद्देश्य युद्धरत राज्यलाई आवश्यक स्रोत उपलब्ध गराउनु र क्रान्तिको अस्तित्व जोगाउनु थियो।
तर आपत्कालीन परिस्थितिका लागि अपनाइएको नीति दीर्घकालीन आर्थिक तथा सामाजिक व्यवस्थाको उपयुक्त आधार बन्न सकेन। जबर्जस्ती अन्न सङ्कलनले किसानहरूको असन्तुष्टि बढायो, उत्पादनका लागि उनीहरूको प्रोत्साहन कमजोर बनायो र राज्य तथा किसानबीचको सम्बन्ध तनावपूर्ण बन्यो। युद्ध, खडेरी र आर्थिक अव्यवस्थाको संयुक्त प्रभावले सन् १९२१ मा भयावह अनिकाल निम्त्यायो, जसमा लाखौँ मानिसको मृत्यु भयो।
ताम्बोभलगायतका क्षेत्रमा भएका किसान विद्रोह तथा मार्च १९२१ को क्रोनस्टाड्ट विद्रोहले सोभियत शासनले सामना गरिरहेको आन्तरिक सङ्कटलाई थप उजागर गरे। क्रान्तिका समर्थक मानिएका केही समूहसमेत सरकारका नीतिप्रति असन्तुष्ट बनेका थिए।
यी घटनाले एउटा गम्भीर प्रश्न खडा गरे—क्रान्तिको रक्षाका लागि बनाइएको राज्यनीतिले नै क्रान्तिको सामाजिक आधार कमजोर पार्न थाल्यो भने के गर्ने?
लेनिनले सामना गर्नुपरेको चुनौती यही थियो। बाह्य हस्तक्षेपविरुद्ध राज्यसत्ताको रक्षा गर्नु आवश्यक थियो, तर आन्तरिक रूपमा मजदुर र किसानको समर्थन गुमाउँदै जाँदा त्यस सत्ताको दीर्घकालीन स्थायित्वसमेत सङ्कटमा पर्न सक्थ्यो। त्यसैले क्रान्तिको रक्षा र जनताको जीवनयापनबीच सन्तुलन कायम गर्नु तत्कालीन नेतृत्वको केन्द्रीय कार्यभार बन्न पुग्यो।
३. नयाँ आर्थिक नीति ः रणनीतिक पछाडि हटाइ कि वैचारिक विचलन ?
मार्च १९२१ मा बोल्सेभिक सरकारले नयाँ आर्थिक नीति (न्यु इकोनोमिक पोलिसी—एनईपी) लागू ग¥यो। यो अक्टोबर क्रान्तिपछिको आर्थिक नीतिमा आएको महत्त्वपूर्ण परिवर्तन थियो। जबर्जस्ती अन्न सङ्कलनको सट्टा वस्तुका रूपमा कर लिने व्यवस्था लागू गरियो, सीमित बजार कारोबारलाई अनुमति दिइयो र साना निजी उद्यमहरू सञ्चालन गर्न दिइयो।
पहिलो दृष्टिमा यो परिवर्तन समाजवादी क्रान्तिले अघि सारेको आर्थिक दिशाबाट पछाडि हटेजस्तो देखिन्थ्यो। राज्यको नियन्त्रणमा आधारित अर्थव्यवस्थाबाट सीमित बजार सम्बन्ध र निजी आर्थिक गतिविधिलाई ठाउँ दिनु क्रान्तिको प्रारम्भिक नीतिसँगको स्पष्ट भिन्नता थियो। यही कारणले नयाँ आर्थिक नीतिको औचित्यबारे कम्युनिस्ट आन्दोलनभित्र बहससमेत भयो।
तर लेनिनका लागि राजनीतिक निर्णयको मूल्याङ्कन केवल त्यसको बाह्य स्वरूपका आधारमा गर्न सकिँदैनथ्यो। कुनै नीति समाजवादी लक्ष्यसँग प्रत्यक्ष रूपमा मेल खान्छ कि खाँदैन भन्ने प्रश्नसँगै त्यसले क्रान्तिको अस्तित्व, उत्पादनको पुनरुत्थान र जनताको समर्थनमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण थियो।
रूसको तत्कालीन वस्तुगत अवस्था समाजवादी निर्माणका लागि अनुकूल थिएन। उत्पादनशक्ति कमजोर थियो, उद्योगहरू युद्धबाट क्षतिग्रस्त भएका थिए, मजदुर वर्गको सङ्ख्या सीमित थियो र देशको ठूलो जनसङ्ख्या किसान समुदायमा आबद्ध थियो। यस्तो परिस्थितिमा बजार सम्बन्धलाई पूर्ण रूपमा निषेध गरेर मात्र उत्पादन बढाउन वा किसानको समर्थन कायम राख्न सम्भव थिएन।
यसैले नयाँ आर्थिक नीति तत्कालीन परिस्थितिमा आवश्यक रणनीतिक समायोजनका रूपमा अघि सारियो। यसको उद्देश्य समाजवादको लक्ष्य परित्याग गर्नु नभई अर्थतन्त्रलाई पुनर्जीवित गर्नु, किसानसँगको सम्बन्ध सुधार्नु र क्रान्तिको आधार सुदृढ गर्नु थियो।
यहाँ लेनिनको रणनीतिक दृष्टिकोणको मूल पक्ष देखिन्छ—साधन र लक्ष्यबीचको सम्बन्धलाई वस्तुगत परिस्थितिको आधारमा मूल्याङ्कन गर्नुपर्छ। कुनै विशेष नीति समाजवादको अन्तिम आदर्शसँग पूर्णतः मेल नखाए पनि त्यसले समाजवादी रूपान्तरणका आवश्यक आधारहरू जोगाउन र विकास गर्न योगदान पु¥याउँछ भने त्यसको औचित्यबारे गम्भीरतापूर्वक विचार गर्नुपर्छ।
यसको अर्थ कुनै पनि नीतिगत सम्झौता स्वतः सही हुन्छ भन्ने होइन। रणनीतिक पछाडि हटाइको औचित्य त्यसले कुन उद्देश्य पूरा गर्छ, त्यसबाट कसले लाभ वा हानि बेहोर्छ र त्यसले दीर्घकालीन लक्ष्यतर्फ अघि बढ्न कति सहयोग गर्छ भन्ने आधारमा जाँचिनुपर्छ।
नयाँ आर्थिक नीतिले यही प्रश्नलाई क्रान्तिकारी राजनीतिका केन्द्रमा ल्यायो। लेनिनका लागि क्रान्तिकारी प्रतिबद्धता भनेको हरेक परिस्थितिमा एउटै नीति दोहो¥याउनु थिएन; बदलिँदो परिस्थितिमा लक्ष्यप्रतिको प्रतिबद्धता कायम राख्दै उपयुक्त उपाय चयन गर्नु थियो।
४. सिद्धान्त, व्यवहार र द्वन्द्वात्मक चिन्तन
लेनिनको यस लेखको अर्को महत्त्वपूर्ण पक्ष सिद्धान्त र व्यवहारबीचको सम्बन्ध हो। क्रान्ति कुनै पूर्वनिर्धारित नक्साअनुसार अघि बढ्ने यान्त्रिक प्रक्रिया होइन। समाजको वास्तविक अवस्था, वर्गीय शक्ति सन्तुलन, उत्पादन सम्बन्ध र जनताको चेतनाले त्यसको दिशा तथा गति निर्धारण गर्छन्।
माक्र्सवादी दृष्टिकोणमा समाजको रूपान्तरणलाई बुझ्न ऐतिहासिक तथा भौतिक परिस्थितिको अध्ययन आवश्यक हुन्छ। तर सिद्धान्तको अध्ययन मात्र पर्याप्त हुँदैन। त्यसलाई व्यवहारमा लागू गर्दा उत्पन्न हुने परिणामहरूको मूल्याङ्कन, गल्तीको पहिचान र नीतिको पुनरावलोकन पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
अक्टोबर क्रान्तिपछिको अनुभवले यही कुरा देखायो। बोल्सेभिक नेतृत्वले क्रान्तिपूर्वको परिस्थितिमा विकास गरेका राजनीतिक रणनीतिहरू सत्ता प्राप्तिपछिका सबै समस्याको समाधान बन्न सकेनन्। सत्ता कब्जा गर्न आवश्यक पर्ने क्षमता र राज्य सञ्चालन गर्न आवश्यक पर्ने दक्षताबीच ठूलो अन्तर थियो।
राजनीतिक सङ्घर्षको अनुभवले नेतृत्वलाई सत्ता प्राप्त गर्न सहयोग पु¥याउन सक्छ। तर अर्थतन्त्र सञ्चालन गर्न, प्रशासन सुधार गर्न, उत्पादन बढाउन, सार्वजनिक सेवा विस्तार गर्न र विविध सामाजिक समूहका आवश्यकतालाई सम्बोधन गर्न थप ज्ञान, सीप र संस्थागत क्षमता आवश्यक हुन्छ।
यसैले लेनिनले क्रान्तिले व्यापार गर्न, प्रशासन चलाउन र समाजवादका भौतिक आधार निर्माण गर्न सिक्नुपर्ने कुरामा जोड दिएका थिए। यसको आशय समाजवादलाई नारामा सीमित नराखी वास्तविक जीवनका समस्याको समाधान गर्न सक्ने व्यवस्था बनाउनु थियो।
यहीँ द्वन्द्वात्मक चिन्तनको व्यावहारिक महत्त्व प्रकट हुन्छ। द्वन्द्वात्मक दृष्टिकोणले वास्तविकतालाई स्थिर र अपरिवर्तनीय मान्दैन; त्यसले परिवर्तन, अन्तर्विरोध र परिस्थितिअनुसार उत्पन्न हुने नयाँ सम्भावनाहरूको अध्ययन गर्छ। त्यसैले कुनै नीति विगतमा उपयोगी थियो भन्दैमा त्यो सधैँ र सबै परिस्थितिमा उपयोगी हुन्छ भन्ने मान्यता सही हुँदैन।
क्रान्तिकारी राजनीति जडसूत्रवादबाट मुक्त हुनुपर्छ। तर लचकताको अर्थ सिद्धान्तहीनता पनि होइन। सिद्धान्तले लक्ष्य र दिशाबोध दिन्छ भने व्यवहारले त्यस दिशामा अघि बढ्न उपयुक्त बाटो पहिचान गर्न सहयोग गर्छ। यी दुईबीचको सम्बन्ध विच्छेद हुँदा राजनीति या त जडसूत्रवादको सिकार हुन्छ या अवसरवादको।
लेनिनको अनुभवबाट प्राप्त हुने शिक्षा यही हो—सिद्धान्तविहीन व्यवहार दिशाहीन हुन्छ र व्यवहारबाट विच्छिन्न सिद्धान्त निष्प्रभावी बन्न सक्छ। क्रान्तिकारी आन्दोलनले यी दुवै जोखिमबाट बच्न निरन्तर अध्ययन, प्रयोग, समीक्षा र सुधारको प्रक्रिया अपनाउनुपर्छ।
५. मजदुर–किसान गठबन्धन ः क्रान्तिको सामाजिक आधार
अक्टोबर क्रान्तिको रणनीतिमा मजदुर र किसानबीचको गठबन्धनको निर्णायक महत्त्व थियो। रूस औद्योगिक रूपमा विकसित देश थिएन। त्यहाँ मजदुर वर्गको सङ्ख्या तुलनात्मक रूपमा सानो थियो, जबकि किसानहरू जनसङ्ख्याको विशाल बहुमतमा थिए। यस्तो समाजमा मजदुर वर्गको नेतृत्वमा समाजवादी रूपान्तरण अघि बढाउन किसानहरूको समर्थन अनिवार्य थियो।
क्रान्तिले पुरानो राज्यसत्ता विस्थापित गरे पनि किसानहरूको दैनिक जीवन, उत्पादनका आवश्यकता र आर्थिक हितलाई बेवास्ता गर्न सक्दैनथ्यो। किसानका लागि जमिन, उत्पादनको अधिकार, उचित आर्थिक प्रतिफल र शान्तिपूर्ण जीवनका प्रश्न तत्कालीन राजनीतिक परिवर्तनसँग प्रत्यक्ष रूपमा जोडिएका थिए।
युद्धकालीन साम्यवादका नीतिहरूले किसानको उत्पादनमाथि राज्यको कठोर नियन्त्रण बढाउँदा यो गठबन्धन तनावग्रस्त बन्यो। किसानले उत्पादन गरेको अन्नमाथि आफ्नो नियन्त्रण र त्यसबाट प्राप्त हुने प्रतिफल गुमाउने अवस्था सिर्जना हुँदा राज्यप्रतिको असन्तुष्टि बढ्नु स्वाभाविक थियो।
नयाँ आर्थिक नीतिले यही समस्यालाई सम्बोधन गर्ने प्रयास ग¥यो। किसानलाई उत्पादनका लागि प्रोत्साहन प्रदान गर्ने, सीमित बजार कारोबारको अवसर दिने र राज्यसँगको सम्बन्धलाई कम तनावपूर्ण बनाउने उद्देश्य यस नीतिमा समावेश थियो।
यस सन्दर्भमा लेनिनको दृष्टिकोणको महत्व केवल तत्कालीन रूसमा सीमित छैन। कुनै पनि क्रान्तिकारी आन्दोलनले आफूले प्रतिनिधित्व गर्ने दाबी गरेको वर्ग वा समुदायको वास्तविक जीवनसँग सम्बन्ध कायम राख्नुपर्छ। जनताको समर्थन केवल राजनीतिक प्रचारबाट प्राप्त हुँदैन; त्यसलाई व्यवहारमा अनुभूत हुने उपलब्धि, विश्वास र सहभागितामार्फत सुदृढ गर्नुपर्छ।
यद्यपि मजदुर र किसानका हित सधैँ स्वतः समान हुन्छन् भन्ने होइन। उत्पादनका साधन, बजार, आम्दानी र राज्यनीतिसम्बन्धी प्रश्नमा उनीहरूबीच अन्तर्विरोध उत्पन्न हुन सक्छन्। त्यसैले गठबन्धन कायम राख्न वास्तविक समस्याको पहिचान, संवाद, न्यायोचित नीतिगत समायोजन र साझा लक्ष्यप्रतिको विश्वास आवश्यक हुन्छ।
यसबाट प्राप्त हुने व्यापक शिक्षा के हो भने जनतासँगको सम्बन्धलाई केवल निर्वाचन, आन्दोलन वा सङ्कटका बेलामा परिचालन गरिने शक्तिका रूपमा बुझ्नु हुँदैन। जनता नै सामाजिक रूपान्तरणका आधार हुन्। उनीहरूको सहभागिता, हित र विश्वासलाई बेवास्ता गर्ने कुनै पनि परियोजना दीर्घकालीन रूपमा कमजोर बन्न सक्छ।
६. राज्यसत्ता प्राप्त गर्नु र राज्य सञ्चालन गर्नुबीचको अन्तर
क्रान्तिपछिको अर्को गम्भीर चुनौती प्रशासनिक क्षमता र राज्य संयन्त्रको चरित्रसँग सम्बन्धित थियो। पुरानो राज्यसत्ता विस्थापित गर्नु भनेको त्यससँग सम्बन्धित सबै प्रशासनिक अभ्यास, कार्यशैली र संस्थागत कमजोरी स्वतः समाप्त हुनु होइन।
सोभियत राज्यमा जारशाही शासनबाट विरासतमा प्राप्त प्रशासनिक संरचना र अधिकारीहरूको प्रभाव कायम थियो। गृहयुद्धको दबाबले केन्द्रीकरण बढाएको थियो र नयाँ राज्यले तत्कालीन आवश्यकताअनुसार प्रशासन सञ्चालन गर्नुपरेको थियो। तर यस्ता परिस्थितिले कर्मचारीतन्त्र, अकुशलता र जनताबाट राज्य संयन्त्र टाढिने जोखिम पनि बढाएका थिए।
लेनिनले यस समस्याप्रति चिन्ता व्यक्त गर्दै मजदुरहरूले प्रशासन सञ्चालन गर्न सिक्नुपर्ने, राज्य संयन्त्रमाथि निगरानी राख्नुपर्ने र भ्रष्टाचारविरुद्ध सङ्घर्ष गर्नुपर्ने कुरामा जोड दिएका थिए। उनका पछिल्ला लेखनहरूमा पनि राज्य सञ्चालनको दक्षता, प्रशासनिक सुधार र कर्मचारीतन्त्रको समस्याले महत्वपूर्ण स्थान पाएको छ।
यसले समाजवादी राज्यसम्बन्धी एउटा आधारभूत प्रश्न उठाउँछ—राज्यको स्वामित्व र नेतृत्व परिवर्तन हुँदैमा राज्यको कार्यशैली पनि जनमुखी हुन्छ कि त्यसका लागि छुट्टै संस्थागत रूपान्तरण आवश्यक हुन्छ?
राजनीतिक नेतृत्व परिवर्तन हुनु र प्रशासनिक संस्कृतिमा परिवर्तन आउनु अलग–अलग प्रक्रिया हुन्। जनताको नाममा शासन गर्ने दाबी पर्याप्त हुँदैन; राज्यका निर्णयहरू जनताको आवश्यकताप्रति उत्तरदायी छन् कि छैनन्, प्रशासन पारदर्शी छ कि छैन, अधिकारको प्रयोगमाथि निगरानी छ कि छैन र नागरिकले निर्णय प्रक्रियामा कस्तो भूमिका पाउँछन् भन्ने प्रश्न पनि महत्त्वपूर्ण हुन्छन्।
क्रान्तिको नाममा स्थापना भएको राज्य पनि कर्मचारीतान्त्रिक जडता, शक्ति केन्द्रीकरण र जनताबाट दूरी बढ्ने समस्याबाट मुक्त नहुन सक्छ। त्यसैले समाजवादी रूपान्तरणलाई केवल उत्पादनका साधनको स्वामित्व परिवर्तनमा सीमित गर्न मिल्दैन। प्रशासनिक जवाफदेहिता, जनसहभागिता, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक संस्थाहरूको प्रभावकारिता पनि यसको अभिन्न पक्ष हुन्।
लेनिनले यस समस्याको पूर्ण समाधान प्रस्तुत गर्न सकेनन्। तर राज्य संयन्त्रको चरित्र र कर्मचारीतन्त्रको जोखिमप्रति उनले देखाएको चिन्ताले पछि समाजवादी आन्दोलनभित्र विकसित भएका महत्त्वपूर्ण बहसहरूको आधार तयार पा¥यो।
यसको मूल शिक्षा स्पष्ट छ—जनताको नाममा स्थापित राज्यलाई जनताप्रति उत्तरदायी बनाइराख्न निरन्तर संस्थागत सुधार, सार्वजनिक निगरानी र आत्मसमीक्षा आवश्यक हुन्छ।
७. राष्ट्रिय प्रश्न र अन्तर्राष्ट्रियतावाद
लेनिनको लेखलाई बुझ्दा त्यसको अन्तर्राष्ट्रियतावादी दृष्टिकोणलाई पनि ध्यान दिनुपर्छ। लेनिनले सोभियत क्रान्तिलाई एउटा देशको सीमाभित्र मात्र सीमित राजनीतिक घटनाका रूपमा हेरेका थिएनन्। उनको अपेक्षा थियो कि विकसित पुँजीवादी देशहरूमा पनि क्रान्तिकारी परिवर्तन हुनेछन् र ती परिवर्तनले एक्लिएको सोभियत राज्यलाई सहयोग पु¥याउनेछन्।
यो अपेक्षा तत्कालीन माक्र्सवादी अन्तर्राष्ट्रियतावादी दृष्टिकोणसँग सम्बन्धित थियो। समाजवादी रूपान्तरणलाई विश्वव्यापी ऐतिहासिक प्रक्रियाको अङ्गका रूपमा बुझ्ने दृष्टिकोणले एउटा देशमा स्थापित समाजवादी राज्यको भविष्यलाई अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, आर्थिक सम्बन्ध र राजनीतिक परिस्थितिसँग जोडेर हेथ्र्यो।
तर अन्तर्राष्ट्रियतावादको प्रश्न केवल अन्य देशमा क्रान्ति हुने अपेक्षामा सीमित थिएन। पूर्वजारशाही साम्राज्यभित्र रहेका विभिन्न राष्ट्रियता तथा समुदायका अधिकार र आकाङ्क्षालाई सम्बोधन गर्नु पनि उत्तिकै महत्त्वपूर्ण थियो। लेनिनले राष्ट्रिय आत्मनिर्णयको अधिकारलाई समर्थन गर्नुको एउटा आधार उत्पीडित राष्ट्रहरूलाई आफ्नो भविष्य आफैँ निर्धारण गर्ने अधिकार हुनुपर्छ भन्ने मान्यता थियो।
यस दृष्टिकोणमा सैद्धान्तिक र रणनीतिक दुवै पक्ष थिए। राष्ट्रिय उत्पीडनको विरोध गर्नु न्यायको प्रश्न थियो भने विभिन्न राष्ट्रियता र समुदायको विश्वास प्राप्त गर्नु साम्राज्यवादविरुद्धको व्यापक सङ्घर्षका लागि पनि महत्त्वपूर्ण थियो।
यसले समाजवादी आन्दोलनका लागि एउटा महत्त्वपूर्ण चुनौती प्रस्तुत गर्छ—वर्गीय एकता निर्माण गर्ने क्रममा राष्ट्रिय, सांस्कृतिक तथा ऐतिहासिक भिन्नतालाई कसरी सम्बोधन गर्ने?
समानताको घोषणा मात्र पर्याप्त हुँदैन। विविध समुदायका वास्तविक आकाङ्क्षा, अधिकार र पहिचानलाई सम्मान गर्ने संस्थागत व्यवस्था आवश्यक हुन्छ। अन्यथा एकताको नाममा केन्द्रीकरण र प्रभुत्वका नयाँ रूपहरू विकसित हुन सक्छन्।
अन्तर्राष्ट्रियतावादको सार पनि यही हो—राष्ट्रिय स्वाधीनता, समानता र पारस्परिक सहयोगलाई परस्पर विरोधी होइन, न्यायपूर्ण सम्बन्धका परिपूरक पक्षका रूपमा बुझ्नु।
८. नयाँ आर्थिक नीतिका उपलब्धि र अन्तर्विरोध
नयाँ आर्थिक नीतिले सोभियत अर्थतन्त्रको पुनरुत्थानमा योगदान पु¥यायो र राज्यलाई तत्कालीन सङ्कटबाट बाहिर निस्कने अवसर प्रदान ग¥यो। सीमित बजार सम्बन्ध र निजी उद्यमलाई ठाउँ दिँदा उत्पादन तथा वितरणका केही गतिविधि पुनःसञ्चालन हुन सके। किसानसँगको सम्बन्ध सुधार्ने प्रयासले पनि क्रान्तिको सामाजिक आधारलाई स्थिर बनाउन मद्दत ग¥यो।
तर यस नीतिले नयाँ अन्तर्विरोधसमेत सिर्जना ग¥यो। बजार सम्बन्धको विस्तार, निजी आर्थिक गतिविधिबाट लाभ प्राप्त गर्ने समूहहरूको उदय र सहर तथा गाउँबीचका आर्थिक तनावले समाजवादी निर्माणका नयाँ चुनौतीहरू जन्माए।
यसैले नयाँ आर्थिक नीतिलाई न त सबै समस्याको समाधानका रूपमा बुझ्न मिल्छ, न त त्यसलाई केवल वैचारिक विचलनका रूपमा खारेज गर्न सकिन्छ। यो एउटा विशिष्ट ऐतिहासिक परिस्थितिमा अपनाइएको नीति थियो, जसले तत्कालीन सङ्कट व्यवस्थापन गर्न मद्दत ग¥यो, तर दीर्घकालीन रूपमा नयाँ नीतिगत प्रश्नसमेत खडा ग¥यो।
स्टालिनको नेतृत्वकालमा अघि बढाइएको तीव्र औद्योगिकीकरण र कृषिको जबर्जस्ती सामूहिकीकरणलाई केही हदसम्म यिनै आर्थिक तथा सामाजिक तनावको सन्दर्भमा बुझ्न सकिन्छ। तथापि ती नीतिहरूलाई लेनिनको दृष्टिकोणको सरल निरन्तरता मान्नु उचित हुँदैन। तिनको स्वरूप, कार्यान्वयन र राजनीतिक परिणाममा उल्लेखनीय भिन्नता थिए। विशेषतः जबर्जस्ती सामूहिकीकरणले गम्भीर मानवीय तथा सामाजिक क्षति निम्त्यायो।
यस ऐतिहासिक अनुभवले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ—आर्थिक रूपान्तरणको गति, उत्पादन वृद्धिको आवश्यकता, जनताको जीवनस्तर र राजनीतिक सहभागिताबीच सन्तुलन कसरी कायम गर्ने?
उत्पादन वृद्धि आवश्यक छ, तर त्यसको नाममा जनताको हित र अधिकारलाई बेवास्ता गर्न सकिँदैन। त्यस्तै, तत्कालीन आर्थिक कठिनाइको समाधान खोज्दा दीर्घकालीन सामाजिक लक्ष्य र संस्थागत प्रभावबारे पनि विचार गर्नुपर्छ।
समाजवादी अर्थतन्त्रको निर्माण केवल बजारलाई हटाउने वा राज्यको नियन्त्रण विस्तार गर्ने प्रश्न मात्र होइन। उत्पादनशक्तिको विकास, स्रोतको न्यायोचित वितरण, श्रमको सम्मान, जनताको जीवनस्तरमा सुधार र आर्थिक निर्णयप्रति सामाजिक उत्तरदायित्व सुनिश्चित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
९. आजको वामपन्थका लागि लेनिनको अनुभवको सान्दर्भिकता
लेनिनको ‘अक्टोबर क्रान्तिको चौथो वार्षिकोत्सव’ आज पनि अध्ययनयोग्य हुनुको कारण यसको ऐतिहासिक महत्त्व मात्र होइन। यसले क्रान्तिकारी राजनीति, वैचारिक प्रतिबद्धता र व्यावहारिक शासन सञ्चालनबीचको सम्बन्धबारे उठाएका प्रश्नहरू आजका राजनीतिक आन्दोलनका लागि पनि सान्दर्भिक छन्।
पहिलो शिक्षा हो—राजनीतिक विजयलाई सामाजिक रूपान्तरणको पूर्णता ठान्नु हुँदैन। आन्दोलनले सत्ता प्राप्त गरेपछि उत्पादन, शिक्षा, स्वास्थ्य, रोजगारी, प्रशासन र सार्वजनिक सेवाका क्षेत्रमा ठोस परिणाम दिन सक्नुपर्छ। राजनीतिक उपलब्धिलाई जनताको दैनिक जीवनमा अनुभूत हुने परिवर्तनसँग जोड्न नसकिए त्यसको सामाजिक आधार कमजोर हुन सक्छ।
दोस्रो शिक्षा हो—नीतिगत निर्णय वस्तुगत परिस्थितिको विश्लेषणमा आधारित हुनुपर्छ। बदलिँदो परिस्थिति र शक्ति सन्तुलनलाई बेवास्ता गरेर विगतका नीति यान्त्रिक रूपमा दोहो¥याउनु प्रभावकारी राजनीतिक अभ्यास होइन। तर परिस्थितिअनुसार परिवर्तन गर्ने नाममा मूल प्रतिबद्धता त्याग्नु पनि उचित हुँदैन। लचकता र सिद्धान्तनिष्ठाबीच सन्तुलन कायम गर्नु नै वास्तविक चुनौती हो।
तेस्रो शिक्षा हो—जनतासँगको सम्बन्ध भाषण र नारामा होइन, व्यवहारमा स्थापित हुनुपर्छ। मजदुर, किसान, श्रमिक, निम्न आय भएका समुदाय तथा सामाजिक रूपमा पछाडि पारिएका समूहका वास्तविक समस्यालाई सम्बोधन नगरी उनीहरूको दीर्घकालीन विश्वास प्राप्त गर्न सकिँदैन।
चौथो शिक्षा हो—राज्यसत्ता सञ्चालन गर्ने क्षमताको विकास अनिवार्य छ। राजनीतिक सङ्घर्षमा सफल नेतृत्वले प्रशासन, अर्थतन्त्र र सार्वजनिक संस्थाहरू सञ्चालन गर्ने दक्षता पनि हासिल गर्नुपर्छ। राज्य संयन्त्रलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउनु राजनीतिक प्रतिबद्धताको महत्त्वपूर्ण परीक्षण हो।
पाँचौँ शिक्षा हो—आत्मसमीक्षा कमजोरीको स्वीकारोक्ति मात्र होइन, सुधारको आधार हो। गल्तीलाई लुकाउने, आलोचनालाई अस्वीकार गर्ने र विफलताको जिम्मेवारी अरूमाथि थोपर्ने प्रवृत्तिले संस्थालाई कमजोर बनाउँछ। आफ्ना निर्णयका परिणामको वस्तुगत समीक्षा गर्न सक्ने राजनीतिक आन्दोलनले मात्र अनुभवबाट सिकेर आफूलाई विकसित गर्न सक्छ।
छैटौँ शिक्षा हो—समाजवादी रूपान्तरणलाई राष्ट्रिय परिस्थितिबाट अलग गरेर बुझ्न सकिँदैन, तर त्यसलाई अन्तर्राष्ट्रिय सन्दर्भबाट पूर्णतः विच्छेद गरेर पनि अघि बढाउन सकिँदैन। आर्थिक निर्भरता, अन्तर्राष्ट्रिय शक्ति सम्बन्ध, क्षेत्रीय सहकार्य र विश्वव्यापी सङ्कटले कुनै पनि देशको विकासको दिशालाई प्रभावित गर्छन्।
यी शिक्षाहरूलाई आजको सन्दर्भमा लागू गर्दा इतिहासको यान्त्रिक अनुकरण गर्नु हुँदैन। सन् १९२१ को रूस र आजको विश्वका राजनीतिक, आर्थिक तथा सामाजिक परिस्थितिहरू समान छैनन्। लेनिनको अनुभवबाट प्राप्त हुने वास्तविक शिक्षा त्यतिबेलाका नीतिलाई जस्ताको तस्तै दोहो¥याउनु होइन; ऐतिहासिक परिस्थितिको वैज्ञानिक विश्लेषण गर्ने, नीतिका परिणामबाट सिक्ने र घोषित लक्ष्यअनुरूप उपयुक्त उपाय छनोट गर्ने पद्धति आत्मसात् गर्नु हो।
१०. निष्कर्श : क्रान्तिको रक्षा, विकास र रूपान्तरणको निरन्तरता
भ्लादिमिर लेनिनको ‘अक्टोबर क्रान्तिको चौथो वार्षिकोत्सव’ एउटा क्रान्तिले सामना गर्ने कठिनाइहरूको विवरण मात्र होइन। यो राजनीतिक सत्ता प्राप्त गरेपछि समाजवादी रूपान्तरणलाई कसरी अगाडि बढाउने भन्ने प्रश्नमाथिको गम्भीर वैचारिक हस्तक्षेप हो।
यसले देखाउँछ कि क्रान्तिकारी आन्दोलनको इतिहास उपलब्धिहरूको शृङ्खला मात्र हुँदैन। त्यसमा असफलता, अन्तर्विरोध, कठिन निर्णय, रणनीतिक समायोजन र नीतिगत पुनर्विचार पनि समावेश हुन्छन्। क्रान्तिको ऐतिहासिक महत्त्वलाई बुझ्न यसको सफलताको मात्र होइन, त्यसले सामना गरेका सीमा र समस्याको पनि वस्तुगत विश्लेषण गर्न आवश्यक हुन्छ।
अक्टोबर क्रान्तिले मजदुर वर्गको नेतृत्वमा राज्यसत्ता स्थापना गरेर विश्व इतिहासमा नयाँ सम्भावनाको उद्घाटन ग¥यो। तर त्यसलाई समाजवादी समाज निर्माणको दिशामा अघि बढाउन उत्पादनशक्तिको विकास, किसानसँगको सम्बन्ध, प्रशासनिक दक्षता, जनताको विश्वास र अन्तर्राष्ट्रिय परिस्थितिसँगको सम्बन्धलाई सम्बोधन गर्नुपथ्र्यो। नयाँ आर्थिक नीतिको प्रयोग यही यथार्थको उपज थियो।
लेनिनको दृष्टिकोणबाट प्राप्त हुने महत्त्वपूर्ण शिक्षा के हो भने क्रान्तिप्रतिको प्रतिबद्धता नीतिको अपरिवर्तनीयतामा होइन, लक्ष्यप्रतिको निष्ठा र परिस्थितिअनुसार सही उपाय चयन गर्ने क्षमतामा अभिव्यक्त हुनुपर्छ। रणनीतिक पछाडि हटाइ कहिलेकाहीँ आवश्यक हुन सक्छ, तर त्यसको औचित्य ठोस परिणाम र दीर्घकालीन उद्देश्यसँगको सम्बन्धका आधारमा परीक्षण गर्नुपर्छ।
त्यस्तै, समाजवादको नाममा राज्यसत्ता स्थापना गर्नु मात्र पर्याप्त हुँदैन। त्यो राज्य जनताप्रति उत्तरदायी छ कि छैन, उत्पादन र वितरणको व्यवस्था प्रभावकारी छ कि छैन, श्रमिक तथा किसानका हित सुरक्षित छन् कि छैनन् र प्रशासनिक संरचना जनमुखी छ कि छैन भन्ने प्रश्नहरू निरन्तर उठिरहनुपर्छ। क्रान्तिले सिर्जना गरेको राज्यसमेत कर्मचारीतन्त्र, शक्ति केन्द्रीकरण र जनताबाट दूरी बढ्ने जोखिमबाट मुक्त हुँदैन।
त्यसैले क्रान्तिको रक्षा र विकासलाई एकअर्काबाट अलग गर्न सकिँदैन। जनताको समर्थन गुमाएर क्रान्तिको रक्षा सम्भव हुँदैन; आर्थिक तथा प्रशासनिक क्षमता विकास नगरी समाजवादी रूपान्तरणलाई स्थायित्व दिन सकिँदैन; अनि आत्मसमीक्षा र सुधारको प्रक्रिया अवरुद्ध गरेर क्रान्तिकारी उपलब्धिको दीर्घकालीन संरक्षण गर्न सकिँदैन।
आजको वामपन्थका लागि पनि यही प्रश्न निर्णायक छ—सैद्धान्तिक प्रतिबद्धतालाई व्यवहारमा कसरी रूपान्तरण गर्ने, जनताको विश्वासलाई कसरी कायम राख्ने र राजनीतिक उपलब्धिलाई वास्तविक सामाजिक परिवर्तनमा कसरी परिणत गर्ने?
लेनिनको ऐतिहासिक आत्मसमीक्षाले यी प्रश्नको सबै परिस्थितिमा लागू हुने अन्तिम उत्तर दिँदैन। तर यसले तिनको सामना गर्ने एउटा महत्वपूर्ण पद्धति प्रस्तुत गर्छ—वस्तुगत यथार्थको विश्लेषण, अनुभवबाट शिक्षा, नीतिगत लचकता, सामाजिक आधारप्रतिको संवेदनशीलता र निरन्तर आत्मसमीक्षा।
क्रान्ति कुनै एक दिनको घटना होइन; यो समाजलाई रूपान्तरण गर्ने दीर्घकालीन ऐतिहासिक प्रक्रिया हो। सत्ता प्राप्त गर्नु त्यसको सुरुआत हुन सक्छ, तर त्यसलाई जनताको हितमा प्रयोग गर्नु, उत्पादन र सामाजिक सम्बन्धको विकास गर्नु तथा शोषण र उत्पीडनमुक्त समाज निर्माण गर्नु अझ कठिन कार्य हो।
अन्ततः क्रान्तिको सफलता त्यसले आफूलाई कति महान् घोषणा गर्छ भन्ने कुराले होइन, जनताको जीवनमा कस्तो परिवर्तन ल्याउँछ, आफ्ना अन्तर्विरोधलाई कसरी सम्बोधन गर्छ र घोषित आदर्श तथा व्यवहारबीचको दूरीलाई कति घटाउन सक्छ भन्ने कुराले निर्धारण गर्छ।
लेनिनको लेखको स्थायी सान्दर्भिकता यहीँ छ—क्रान्ति जित्नु महत्वपूर्ण छ, तर त्योभन्दा कम महत्वपूर्ण छैन — क्रान्तिले किन जित्यो, कहाँ चुक्यो, के सिक्यो र आफ्नो ऐतिहासिक उद्देश्यतर्फ कसरी अघि बढ्छ भन्ने प्रश्न। समाजवादी रूपान्तरणको यात्रा जडसूत्रवादबाट होइन, वैज्ञानिक विश्लेषण, जनताप्रतिको उत्तरदायित्व र व्यवहारबाट सिक्ने निरन्तर क्षमताबाट मात्र समृद्ध हुन सक्छ।