घरजग्गा कारोबारले गति लिएसँगै यसको कारोबार महँगिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले पहिले पटक गरेको घर जग्गाको मूल्य वृद्धिबारेको सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७६।७७ मा घरजग्गाको मूल्यवृद्धि २६.४५ प्रतिशत रहेको पाइएको छ ।
यो तथ्याङ्क वाणिज्य बैंकहरूले कर्जा प्रवाह गर्दा गरेको घर जग्गाको मूल्याङ्कनको आधारमा तयार गरिएको राष्ट्र बैंकले जनाएको छ । मालपोत कार्यलयबाट संकलित तथ्याङ्कको आधारमा भने मूल्यवृद्धि १९.७३ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ ।
यसैगरी, आर्थिक वर्ष २०७७।७८ को पहिलो नौ महिनामा यस्तो मुद्रास्फीति क्रमशः १६.३१ र १२.५७ प्रतिशत रहेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७।७८ को पहिलो नौ महिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मुद्रास्फीति केही कम रहेको निष्कर्ष सर्वेक्षणले देखाएको छ ।
घरजग्गाको मूल्यमा आउने अस्वाभाविक उतारचढावले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल प्रभाव पार्न सक्ने सम्भावना भएकाले यस क्षेत्रको मूल्य स्थिति सम्बन्धमा जानकारी राख्नु आवश्यक भएको र यसका लागि घरजग्गा क्षेत्रको मूल्य सूचकाङ्क निर्माण गरी घरजग्गा मुद्रास्फीति मापन कार्य आवश्यक भएको राष्ट्र बैंकको ठहर छ ।
मौद्रिक नीतिका प्रमुख उद्देश्य मूल्य स्थिरता र वित्तीय स्थिरता हासिल गर्न तथा समष्टिगत विवेकशील नियमन तर्जुमाको लागि समेत घरजग्गा मूल्य सूचकाङ्क महत्वपूर्ण हुने भन्दै राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकाङ्क निर्माण गरिएको जनाएके छ । घरजग्गा मूल्य सूचकाङ्क त्रयमासिक रूपमा नियमित प्रकाशित गर्ने योजना केन्द्रीय बैंकको छ ।
नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण कार्य सम्पन्न गरिएको हुँदा अन्य देशले जस्तो जग्गाको लोकेशन, आकार, मुख्य सडकसम्मको पहुँच, बाटोको साइज, मोहडा, व्यापारिक तथा आवासीयजस्ता चरहरूलाई सूचकाङ्कमा समावेश गर्न नसकिएको राष्ट्र बैंकले जनाएको छ । आउने दिनमा अनुभवका आधारमा घरजग्गा मूल्य सूचकाङ्कको दायरा फराकिलो पार्दै र विधिहरू परिमार्जित गर्दै जानुपर्ने आवश्यकता रहेको राष्ट्र बैंकले जनाएको छ ।
वित्तीय क्षेत्र विकास रणनीति २०७४–०७७।७८ मा घरजग्गा मूल्य सूचकाङ्क तयार गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिइएकोमा आर्थिक वर्ष २०७५।७६ लाई आधार वर्षको रूपमा लिई घरजग्गा सर्वेक्षण गरिएको हो ।
घरजग्गा मूल्य सूचकाङ्क तयारी निम्ति प्रत्येक प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघनता र तथ्याङ्क उपलब्धतासमेतलाई दृष्टिगत गरी नमूनामा परेका २० वटा जिल्लाका २० स्थानलाई तथ्याङ्क स्रोत केन्द्रको रूपमा छनोट गरी त्यस्ता तथ्याङ्क स्रोत केन्द्रबाट तथ्याङ्क सङ्कलन गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
छनोट भएका जिल्लाभित्र घरजग्गाको धेरै कारोबार हुने नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका छनोट गरी त्यसभित्रका सबैभन्दा धेरै कारोबार हुने दुई वटा वडाको सर्वेक्षण सञ्चालन भएकोमा तत्काल कायम छ वटा महानगर क्षेत्रलाई तथ्याङ्क स्रोत केन्द्रमा पर्नेगरी छनोट गरिएको थियो । सो स्थानका सम्बन्धित मालपोत कार्यालयबाट जग्गा र घरजग्गाको रजिष्ट्रेसन कारोबारको आधारमा घरजग्गा मूल्य तथ्याङ्क सङ्कलन गरिएको हो ।
नेपालको सन्दर्भमा तथ्याङ्क उपलब्ध हुनसक्ने आधारमा दुई वटा स्रोतबाट तथ्याङ्क सङ्कलन गरेर घरजग्गा मूल्य सूचकाङ्क तयार गरिएको छ । एउटा मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गर्दा राख्ने थैली रकम र दोस्रो बैंकहरूले कर्जा प्रवाह गर्दा धितोस्वरुप राखिने घरजग्गाको मूल्याङ्कनसम्बन्धी तथ्याङ्कको आधारबाट घरजग्गाको मूल्य सङ्कलन गरिएको हाे ।