जिल्ला बचत संघहरुको राष्ट्रिय भेलाले राष्ट्रिय सहकारी नियमन प्राधिरकणले संघहरुको दर्ता अभिलेखीकरण खुला गरेकोप्रति खुशी व्यक्त गरेका छन् । जिल्ला बचत संघहरुले लामो समयदेखि प्राधिकरणमा दर्ता अभिलेखीकरणको लागि आवाज उठाउँदै आएकोमा प्राधिकरणले संघहरुको दर्ता खुला गर्नुलाई उनीहरुले सकरात्मक रुपमा लिएका हुन् ।
प्राधिकरणमा दर्ता खुलेसँगै संघहरुको कानुनी पहिचान र संचालनमा रहेको अन्यौलतालाई चिर्न मद्दत पुगेको संघहरुको भनाई छ । संघहरुको दर्ता अभिलेखीकरणसँगै जिल्ला संघहरुमा जम्मा गरेको बचतलाई तरलतामा गणना गर्न पाउनु पर्ने माग उनीहरुले राखेका छन् । काठमाडौं जिल्ला बचत संघका अध्यक्ष दिपक पनेरु संयोजक रहेको संघहरुको राष्ट्रिय भेलाले संघमा राखेको बचतलाई तरलता गणना नगर्दा प्रारम्भिक सहकारी संस्थाहरुको वित्तीय सन्तुलनमा प्रतिकुल असर पार्ने र यसले समग्र अभियानलाई नै कमजोर बनाउने भएकाले तरलता गणनाको व्यवस्था मिलाइदिन प्राधिकरणसँग आग्रह गरिएको छ ।
सहकारी ऐन र नियावली विपरित आएका यस्ता प्रावधानहरु तत्काल परिमार्जन गर्न संघहरुले माग गरेका छन् । सहकारी संघहरुले लामो समयदेखि सहकारी अभियानको सुदृढीकरण,सुशासन र सदस्य संस्थाहरुको वित्तीय सुरक्षाको लागि क्रियशिल रहेको जनाएका छन् । यस अघि ‘अध्यक्ष फोरम’को संयुक्त वैठक बसी सहकारी अभियानको सवलीकरणको सवालमा विभिन्न मागहरु अघि सार्ने निर्णय गरिएको थियो ।

नेपालपत्र संवाददाता