शनिबार, कार्तिक ८ गते २०८३

ग्लोवल मनि विकको अवसरमा पोखरा रोयल साकोसको आयोजनामा अन्तरक्रिया कार्यक्रम


चैत्र ३, २०८२ मंगलबार
ग्लोवल मनि विकको अवसरमा पोखरा रोयल साकोसको आयोजनामा अन्तरक्रिया कार्यक्रम

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले  ग्लोवल मनि विकको अवसरमा  अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । संस्थाले पोखरा महानगरपालिका १२ माटेपानी स्थित इन्फोम्याटिक्स कलेजका स्नातक तहमा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीहरुसँग छलफल र अन्तरक्रिया गरि कार्यक्रम  गरेको हो ।  

उक्त कार्यक्रममा विद्यार्थीहरुसंग वित्तिय साक्षरता, वित्तिय व्यवस्थापन र वित्तिय अनुशासन पालना सम्बन्धि विषयहरुमा छलफल गरिएको थियो । कार्यक्रममा संस्थाको बारेमा जानकारी गराउदै संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ्गले युवा अवस्थादेखि नै वित्तिय व्यवस्थापन र अनुशासनमा बस्न सकेमा वित्तिय वोझबाट मुक्त हुन सकिने बताए । संस्थाका सदस्य सेवा विभाग प्रमुख अभिषेक गुरुङ्गले वित्तीय साक्षरता विषयमा प्रशिक्षण  दिएका थिए । 

कार्यक्रममा इन्फोम्याटिक्स कलेजको व्यवस्थापन संकायका संयोजक अर्जुन सापकोटाले विद्यार्थीहरुलाई यस्ता कार्यक्रमले पाठ्यपुस्तक भन्दा बाहिरको ज्ञान हाशिल गर्न टेवा पुर्याउने र पोखरा रोयल सहकारीले  गर्ने यस्ता कार्यक्रमले विद्यार्थीहरु अझ लाभान्वित हुने बताए । वित्तिय साक्षरता र सचेतनाका विभिन्न गतिविधिहरु सहित सप्ताहभरि कार्यक्रम सञ्चालन गरिने संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी दिए । 

नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा प्रत्येक वर्ष सञ्चालन हुने ग्लोवल मनि विक अभियानमा पोखरा रोयल सहकारीले पनि आफ्नो सहभागिता जनाउँदै आएको छ । बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, शीप मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्धेश्यका साथ ओइसिडी  को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोवल मनी वीक विश्वभर मनाउदै आईरहेको छ ।