काठमाडौं। मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका पछिल्ला घटनाक्रमले इजरायल, इरान, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), बहराइनलगायतका देशहरूमा बसोबास गरिरहेका नेपालीहरूको सुरक्षाप्रति गम्भीर चिन्ता बढाएको भन्दै गैरआवासीय नेपाली संघले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
संघले जारी गरेको विज्ञप्तिमा मध्यपूर्वका विभिन्न मुलुकहरूमा हाल करिब १९ लाखभन्दा बढी नेपाली कार्यरत तथा बसोबास गरिरहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा संघको मुख्य प्राथमिकता भएको स्पष्ट पारेको छ। संघका अनुसार वर्तमान अस्थिर परिस्थितिमा नेपालीहरूको जीवन र सुरक्षाका लागि तत्काल र प्रभावकारी कदम चालिनु अत्यावश्यक छ।
गैरआवासीय नेपाली संघले इजरायल, इरान तथा मध्यपूर्वका अन्य देशहरूमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई निम्न सावधानी अपनाउन अनुरोध गरेको छः
-
सम्बन्धित देशका सरकारी निकाय तथा नेपाली राजदूतावासले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्ने
-
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कने र सुरक्षित स्थानमै रहने
-
अनावश्यक यात्रा नगर्ने तथा स्थानीय सुरक्षा अवस्थाबारे निरन्तर जानकारी राख्ने
-
राष्ट्रिय समन्वय परिषद् (एनसीसी), संघको केन्द्रीय सचिवालय, स्थानीय नेपाली समुदाय, नेपाली राजदूतावास तथा सम्बन्धित निकायहरूसँग नियमित सम्पर्कमा रहने
-
अवस्था सामान्य नहुँदासम्म इजरायल, इरान तथा मध्यपूर्वका अन्य देशहरूमा यात्रा गर्ने योजना स्थगित गर्ने
संघले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित देशस्थित नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिन र आवश्यक परे तत्काल सहायता तथा सुरक्षित व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।
यसका साथै, आवश्यकता अनुसार नेपाल सरकारसँग सहकार्य गर्न गैरआवासीय नेपाली संघ सधैं तत्पर रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिको अन्त्यमा संघले विश्वभर रहेका नेपालीहरूको सुरक्षा साझा प्राथमिकता भएको उल्लेख गर्दै नेपाली समुदायको सुरक्षाप्रति संघ सदैव प्रतिबद्ध रहेको पुनः विश्वास दिलाएको छ। साथै, आवश्यक परे समन्वय, सहकार्य र सहयोगका लागि संघ सधैं तयार रहने स्पष्ट पारेको छ।
नेपालपत्र संवाददाता