लोकनारायण सुबेदी
मैले राजाको प्रत्यक्ष नेतृत्वको सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्था फासिष्ट दिशामा लम्किदै गरेको बेला २०२० को उत्तराद्र्धको अन्त्यतिर त्यस ब्यवस्थाको गाउँफर्क र पनिजाम्बुस(पञ्चायत नीति तथा जाँजबुझ समिति) कालमा क. गोबिन्द ज्ञावाली(गोबिन्द दाइ)लाई मेरै डेरा धोबीचौर(धोबी चौर, कमर्स क्याम्पसको उत्तर पश्चिमपटि)मा पहिलो पटक भूमिगत स्थितिमा भेटेको थिए । त्यतिबेला सिधुलीका क. बोधराज काफ्ले र गुल्मीका क. एकदेव ज्ञवाली पनि सँगै हुनुहुन्थ्यो । म बसेको त्यो डेरा नेवार समुदायका एकजना इञ्जिीनियरको घरमा थियो । भूइतलामा पर्बतका क. तिलक पराजुली(हाल पोखरा निवासी बरिष्ठ कानुन ब्यवसायी) बस्नु हुन्थ्यो । म एक तलामाथि बस्ने गर्थे । त्यसपछि बनारसमा नै गोबिन्द दाइसँग भेट हुने गरेको हो । २०२९ सालतिर कृषि सम्बन्धि भारतको हरियाणाको कर्णाल, पञ्जाबको चण्डिगढ, पटियाला, राजस्थानको जोबनेर र उदयपुर तथा दिल्लीको भारतको केन्द्रिय कृषि परिषद तथा पन्तनगर कृषि बिश्व बिद्यालय लगायतका कृषि केन्द्रहरुको भ्रमणमा गएर भ्रमण टोलीहरुसँग नेपाल फर्कदै गर्दा रिजर्भ गाडीको चालक(जो बौद्ध काठमाण्डौको हुनुहुन्थ्या)सँगको सल्लाहमा गाडी बिग्रियो भन्ने बहाना बनाएर बनारसमा दुइ रात बस्ने कुरा मिलाईयो । किनभने क. पुष्पलाललाई भेट्ने र त्यहाँको महत्वपूर्ण खबर नेपाल लिएर आउने कुरा दिल्लीमाा कार्यरत पार्टीका एकजना कमरेडसँगबाट थाहा भएको थियो । हाम्रो भ्रमण दललाई त्यतिबेला दिल्लीको अन्तराष्ट्रिय केन्द्रमा राखिएको थियो र त्यसकै आसपासमा प्रवासमा कार्यरत पार्टी साथीहरुसँग भेट गर्ने अवसर पनि मिलेको थियो । तर कमरेड पुष्पलाल कलकत्ता नेशलन लाइब्रेरीमा बिशेष अध्ययना लागि जानु भएको र हामी बनारस पुगेको एक दिन पछि उहाँ आउने कुरा रहेछ । त्यसैले हाम्रो भ्रमण टोली त्यहाँ एक दिन थप बस्नु पर्ने भयो ।
त्यतिबेला गोबिन्द दाइले म समेत टोलीका साथीहरुलाई बनारस शहर नजिकका मूख्य मूख्य दर्शनीय स्थलहरुमा डुलाई दिनु भयो । त्यस बेलाको अहिले पनि सम्झिरहेको मानस मन्दिर, बिश्वनाथ मन्दिर, बनारस हिन्दू बिश्व बिद्यालय, कमरेड पुष्पलाल पनि फुर्सत भएको बेला पढ्न जाने स्थानीय पुस्तकालय अनि गंगामा शायद मनिकर्णिका घाटमा होला, डुङ्गा शयर गर्ने लगायत स्थानहरु डुलाउनु भएको मैले अहिले पनि बिर्सेको छैन । उहाँले त्यहाँ आफ्नो कान्छो भाइलाई पनि परिचय गराउनु भएको थियो । साधारण एउटा लुगी र पुरानो हाफ सर्ट जस्तो लुगा लगाएको जिंग्रिङ्ग कपाल भएको कालो कालो बर्णको गाउँको सोझो सिधा किसान जस्तो देखिने मान्छेले बनारसमा राम्रोसँग घुमाइ दिएको र एउटा बिद्वानले जस्तो कुराकानी गरेको सुन्दा मसँग गएका भ्रमण टोलीका साथीहरु निकै दंगदास परेका र खुशी भएका थिए । त्यो टोलीका साथीहरुमध्येका एकजना दिबंगत रामसिंह रावल पनि हुनुहुन्थ्यो । उहाँलाई क.गोबिन्द ज्ञवालीले पनि पछि काठमाण्डौ आउँदा चिन्नु भयो । उहाँ पछि २०३७ सालमा नेपाल कम्युनिष्ट पार्टीको बिद्यार्थी संगठन – नेपाल प्रगतिशील बिद्यार्थी यूनियनको अध्यक्ष पनि हुनुभएको थियो ।

यति बेला उमेरले ८० दशकमा पुग्नु भएका गोबिन्द ज्ञवाली नेपालको बापन्थी राजनीतिमा एउटा सुपरिचित ब्यक्तित्व भइसक्नु भएको छ । यस क्षेत्रमा खाशगरी उहाँको देखिएको संगठित राजनीतिक भूमिकाभन्दा पनि बढी नेपालमा कम्युनिष्ट आन्दोलनका सुत्रधार कम्युनिष्ट पार्टीका स्थापनाकर्ता अनि सघर्ष, संगठन र सिद्धान्त तीनै क्षेत्रका अग्रतम ज्ञान र ब्यवहारले खारिएका प्रणेता एबं पूरोधा कमरेड पुष्पलालसँग करीब एक दशक जति सँगै बनारसमा र अरु फाटफूट गरेर झण्डै २० बर्षजति प्रायः उहाँसँग निकट रहेको कारणले गोबिन्द दाइ बढी परिचित हुनुहुन्छ । अर्को उहा चिनिने कुरा उहाँको लेखन कार्य पनि हो । भूमिगत कालमा त फाट्टफुट्ट र त्यसयता खाशगरी कमरेड पुष्पलालको देहाबसान पछिको एकदशक यता २०४६ को संयुक्त आन्दोलनले गर्दा देशमा दलीय राजनीतिक प्रतिबन्ध हटेपछि उहाँ लेखन क्षेत्रबाट पनि बढी चर्चित हुन थाल्नु भएको हो । पछिल्लो समयमा उहाँका ‘समकालीन राजनीतिमा पुष्पलाल’, ‘राष्ट्रिय जीवनमा सहाना प्रधान’, ‘नेपालको कथा’ प्रकाशित भइसकेका छन् भने प्रकाशाोन्मुख ‘मेरो जीवन यात्रा’ पनि रहेको छ । बिभिन्न पत्रपत्रिकाहरुमा पनि उहाँका कतिपय सामयिक राजनीतिक लेखहरु भेटिन्छन् । तेश्रो कुरा, उहाँ २०४६ साल पछि सांसद पनि हुनु भयो भने बामन्थी आन्दोलनमा योगदान दिए बापत पुष्पलाल स्मृति प्रतिष्ठानको सिफारिसमा तत्कालीन राष्ट्रपति रामबरण यादबबाट पुरस्कृत पनि ।
यद्यपि उहाँको पुष्पलालसँगको लामो समयसम्मको उठबसबाट कमरेड पुष्पललालको समग्र जीवन र कर्मको जुन जुन महत्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रय अबिस्मरणीय आयाम र छबि थियो, छ, त्यस बिषयमा उहाँको लेखनले उजागर गर्न सक्ने अपेक्षा गर्नु स्वभाविक थियो । तर त्यस दिशातर्फ सघनरुपमा केन्द्रित भएर उहाको कलम कमै मात्र चलेको देखिएको छ । त्यसले गर्दा नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालले बर्तमान र भावी पिढीका लागि समेत जुन दुरदर्शी बिचार अघि सार्नु भएको थियो, छ, जुन सिद्धान्त, नीति, कार्यक्रम र कार्यनीति समकालीन समाजको परिबर्तनका लागि उहाले प्रस्तुत गर्नु भएको हो, चाहे ती राजनीतिक क्षेत्रका समस्यामा हुन् अर्थतन्त्रको क्षेत्रका समस्यामा हुन् वा सामाजिक संरचनाको क्षेत्रका समस्या हुन् या साँस्कृतिक क्षेत्रका समस्या ती अति नै महत्वका क्षेत्रमा गोबिन्द दाइले हात हालेको भए पुष्पलाललाई नेपााली समाजमा चिनाउने अझ बढी महत्वको एउटा सत्कार्य हुने थियो । किन पनि भने उहा नेपाल कम्युनिष्ट पार्टीको बुद्धिजीबी क्षेत्रको संगठन, त्यसको सम्मेलन र त्यसका गतिबिधिहरुमा खाशगरी पार्टीको तेश्रो ऐतिहासिक सम्मेलनपछिको साँकृतिक फाँटमा संलग्न हुनु भएको देखिन्थ्यो ।प्रगतिशील बुद्धिजीवीहरुको सम्मेलन मार्फत कमरेड पुष्पलालले बैकल्पिक राजनीति, अर्थतन्त्र, सामाजिक तथा साँस्कृतिक संरचनाको क्षेत्रमा जुन अत्यन्तै महत्वपूर्ण र गहन बिचारहरु राख्नु भएको र मार्गदर्शन गर्नु भएको थियो त्यसले नेपाली समाजको अग्रगामी उन्नत रुपन्तरणमा जुन सारगर्भित भूमिका खेल्न सक्तथ्यो र सक्तछ त्यसबारे क. गोबिन्द ज्ञवाली अनभिज्ञ हुनुहुन्थेन भन्ने लाग्दछ । त्यसैगरी २०३२ सालमा सम्पन्न भएको अखिल नेपाल किसान संघको दोश्रो राष्ट्रिय सम्मेलनमा कमरेड पुष्पलालले जुन मेहनत र महत्वकासाथ किसान सम्मेलनको प्रतिबेदन प्रस्तुत गरेर नेपालमा कृषि र किसानका समस्या हल नभई अर्थात सामन्तबाद र साम्राज्यबादी शोषण र शासनबाट मुक्त नभई नेपालको राष्ट्रिय समस्या पनि हल नहुने र राष्ट्रियताको सुदृढीकरण, जनतन्त्रको बिकास र रक्षा तथा जन जीविकाका समस्या पनि हल नहुने जुन वास्तबिकता औंल्याउनु भएको छ त्यसबारे पनि गम्भीररुपमा ध्यान पुगेको उहाँका कृतिहरुमा देखिएन । त्यसरी नै अन्तराष्ट्रिय क्षेत्रमा वास्तवमा कमरेड पुष्पलालको जुन संशोधनबाद बिरोधी भूमिका थियो र माक्र्ससिस्ट रिभ्यूले उहाँका बारेमा जुन निकै गम्भीर आलोचना समेत गरेको थियो ती सबै सुस्पष्ट कुराले क. पुष्पलालको निष्ठा, समर्पण र पक्षधरता कतातिर थियो र कति गम्भीर एबं प्रष्ट थियो अनि केका लागि थियो भन्ने कुरा एकदमै छर्लंग हुन्छ, हुन्थ्यो । यी बिषयमा गोबिन्द दाइका बस्तुनिष्ठ र समय सापेक्ष प्रभाबोत्पादक लेखहरु आउन सकेको भए त्यसले कम्युनिष्ट आन्दोलनलाई आजको जस्तो घोर बिचलनकारी बाटोमा जानबाट रोक्न ठूलो मद्दत पुग्ने थियो भन्ने मलाई लाग्छ ।
यद्यपि कमरेड पुष्पलालमााथि कम्युनिष्ट आन्दोलन र पार्टीभित्रैबाट जसरी शुरुदेखिनै घात गरियो ती घात प्रतिघातहरु उहाँले अनुशासन र सहासकासाथ झेल्नु भयो । उहाँले जुन नेपालको प्रतिकृयाबादी सत्ता, एंग्लो–अमेरिकी साम्राज्यबाद र भारतीय एकाधिकार पूँजीवाद नेपाली जनता र राष्ट्रका हल नगरी नहुने तीनवटा समस्या हुन् भन्नु भएको थियो र तिनको हल गर्ने माक्र्सबादी लेनिनबादी बाटो अख्तियार गर्नु भएको थियो त्यसबाट कस्तै कठिन परिस्थितिमा पनि उहाँ बिचिलत हुनु भएन । दबाब,दमन, धम्की, लोभ–प्रलोभन कुनै कुराले उहाँलाई छोएन । उहाँ जनता र राष्ट्रको हितमा कम्युनिष्ट आन्दोलनमा सतिशाल जस्तै अबिचल र अबिश्रान्तरुपमा जीवनपर्यन्त अनबरत लागि रहनु भयो । यी कुरा गोबिन्द ज्ञावालीले बिश्वस्त स्तरबाट सुन्नु भएको र नजिकबाट प्रत्यक्ष देख्नु र अनुभव गर्न पाउनु भएको पनि हो । खाशगरी २०१७ साल पछिका र त्यसमा पनि २०२५ साल देखि २०३५ साल साउनसम्मका कमरेड पुष्पलालमाथि अनर्गल फत्तुर लगाइए र षडयन्त्रहरु कम्युनिष्ट आवरणभित्रैबाट जुन भए, गरिए ती कम पीडादायी थिएनन् । तर पुष्पलाललाई थाहा थियो सामन्ती तानाशाही राजतन्त्रात्मक ब्यवस्थाका बिरुद्ध त्यससँग अन्तरबिरोध राख्ने क्रान्तिकारी कम्युनिष्ट गैर कम्युनिष्ट लोकतान्त्रिक सबै शक्तिलाई गोलबन्द गर्ने जुन संयुक्त जन आन्दोलनको बाटो उहाँले अख्तियार गर्नु भएको थियो त्यसको प्रतिरोधमा प्रतिकृयावादी शक्तिका अतिरिक्त काग्रेस र कम्युनिष्टका आवरणमा रहेका शक्तिहरुलाई पनि शाही दरबारले पुष्पलालका बिरुद्ध ठूलो जोडबलकासाथ प्रयोग गरेको थियो । यो वास्तवमा क. पुष्पलाल र राजाका बिचको टक्कर जस्तो लाग्दथ्यो । कि राजतन्त्र कि नयाँ जनवाद जस्तो प्रतीत हुन्थ्यो । यो कुरा गोबिन्द दाइले नजिकबाट नियाली रहनु भएको पक्कै थियो भन्न सकिन्छ । उहाँले दाबी पनि गर्नु नै भएको छ कि पुष्पलाललाई अरु कसैलेभन्दा उहाले बढी राम्रोसँग बुझ्नु भएको छ ।
हुन पनि हो, गोबिन्द दाइले त बिशेषतः २०२५ सालदेखि २०३५ सालसम्म पूरै एक दशक सैद्धान्तिक, राजनीतिक र संगठात्मक सक्रियताको कमरेड पुष्पलालका ब्यस्त जीवनका गतिबिधिहरुको प्रायः प्रत्यक्ष अनुभव गर्नु भएको थियो । त्यसै अबधिमा कमरेड पुष्पलालले पार्टीको तेश्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन गराएर नेपाली क्रान्तिको स्पष्ट कार्यक्रम नयाँ जनबादको साङ्गोपाङ्गो स्वरुप प्रस्तुत गर्नु भयो, नेपाली जन आन्दोलन एक समीक्षा लेख्नु भयो, १८ बर्षको कम्युनिष्ट आन्दोनलको क्रान्तिकारी सिंहाबलोकन र शिक्षा, तेश्रो ऐतिहासिक सम्मेलनको महत्वबारेको पुस्तिका, नयाँ जनबाादी सँस्कृति सम्बन्धि दस्ताबेज, नेपाल कम्युनिष्ट पार्टी र यसको कार्यपद्धति, चौथो राष्ट्रिय सम्मेलनको प्रतिबेदन, बुद्धिजीवी सम्मेलनको दस्ताबेज,नेपाल भारत सम्वन्धबारेको दस्तावेज तथा २०३२ सालमा सम्पन्न अखिल नेपाल किसान संघको दोश्रो राष्ट्रिय सम्मेलनको प्रतिबेदन, नेपालमा मातृ सत्तात्मक समाज, दस्तावेजको अध्ययन कसरी गर्ने भन्ने निर्देशनात्मक पुस्तिका, ल्यतभक यल अयmmगलष्कत ःयखभलत ष्ल ल्भउब,ि नेपाल कम्युनिष्ट पाटीको संक्षिप्त इतिहास, नयाँ जनबादी क्रान्ति भनेको केहो, नेपालको सर्बेक्षण, जस्ता क. पुष्पलालले लेखेका यस्ता अनेक अत्यन्तै महत्वपूर्ण राजनैतिक सामाजिक दस्ताबेजहरु नेपाली कम्युनिष्ट आन्दोलनका अमूल्य धरोहर र नीधिकोरुपमा रहेका छन् । उहाँका यी कृतिहरुको फेहरिस्त अनि, उहाले निरन्तर चलाउने केन्द्र, अञ्चलदेखि स्थानीय स्तरका समेत पार्टी प्रशिक्षण अनि निरन्तरको खोजमूलक अध्ययन क.पुष्पलालको अथक राजनीतिक जीवनचर्याको गोबिन्द दाई साक्षी जस्तै हुनुहुन्थ्यो । यी सबै गतिबिधिले पुष्पलालका मूल्य मान्यता कति सिद्धान्तनिष्ठ,कति उच्च आदर्शयुक्त र कति परिपक्क थिए भन्ने कुराको पनि उजागर गर्दछन् नै । पार्टीक प्रिय नेता क.पुष्पलाल–माल्दाई बसेको पार्टीको तत्कालीन हेड क्वार्टर के.२९÷३० दशपुत्र गल्ली बाराणसीमा रहँँदाको सजीव चित्र यस्तै यस्तै थियो ।
यी सबै कुरा हुँदा हुदै त्यसै कालमा अर्थात् २०२५–२०३५ का बीचमा नै कम्युनिष्ट खेमाबाटै पुनः कमरेड पुष्पलालमाथि सबैभन्दा बढी हमला भएको थियोे । गद्धार, भारत परस्त,साम्राज्यबादको दलाल आदि अनर्गल दुष्प्रचार राष्ट्रिब्यापीरुपमा मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि गरिएको थियो । गद्धार पुष्पलाल लेखियो, पुष्पलालका बाह्र अपराध लेखियो । तर पुष्पलालले ती कुराकको खण्डन सामन्ती अधिनाकबादी पञ्चायती ब्यवस्था बिरुद्ध तलै भुइदेखि जन संघर्ष उठाएर गरिनुपर्दछ र सबभन्दा ठूलो खण्डन त्यही हो भन्नु हुन्थ्यो । ब्यतिmगत आरोप प्रत्यारोमा लाग्दा जन अन्दोलनको मूल दिशाबाट आन्दोलन गलत दिशामा भड्किन्छ र फस्छ भन्ने उहाँको सुस्पष्ट बिचार थियो । यसप्रति उहाँ अत्यन्तै सावधान हुनुहुन्थ्यो । क.पुष्पलालको यो यथार्थ बिचारलाई गोबिन्द दाईले नबुझेको थिएन । तर पछि बामपन्थी नेता मनमोहन अधिकारीसँग पार्टी एकताको नाममा पुष्पलालका मूलभूत बिचारलाई तिलाञ्जली दिने काम भयो । त्यसको सक्रिय साक्षी गोबिन्द दाइ पनि हुनु पुग्नु भयो । त्यसपछि त्यस्तै प्रकारको सिद्धान्तहीन एकता नेकपा –(माले)सँग हुन पुग्दा पनि कम्युनिष्ट अन्दोनलमा झन् गम्भीरतम बिचलन आयो र आइरहेको छ । जसको परिणाम आज देशले र कम्युनिष्ट आन्दोलनले समेत नराम्रोसँग भोगिरहेको छ । पुष्पलालको क्रान्तिको मूलबाटो छोड्दा कसरी कम्युनिष्ट आन्दोलन सिद्धान्तच्यूत बन्न र फस्न पुग्यो त्यसको पीडा शायद गोबिन्द दाइले पनि राम्रैसाँग महसुश गर्नु भएको होला । पुष्पलालको मूलभूत कुरा नै सही सिद्धान्त, सही गन्तब्य, सही बाटो र सही परिणामको खोजी हो । त्यो भनेको नेपाली जनताका असल परम्परालाई अगाडि बढाउने, जनताको गाँसबास र कपासको समस्या हल गर्न उनीहरुले गर्दै आएको संघर्षहरुको अनुभवका आधारमा उनीहरुकै पहलकदमी र स्वामित्व कायम गर्ने उच्च चेतना निर्माण गर्ने र सबै किसिमका बाह्य हस्तक्षेप अन्त्य गर्ने किसिमले माक्र्सबादलाई ग्रहण गर्ने अर्थात माक्र्सबादलाई जन केन्द्रित राजनीतिको रुपमा नेपालीकरण गर्ने बाटोको खोज अनुसन्धानको उच्चाईकसाथ आमूल परिबर्तनका निम्ति अनबरत त्याग र निष्ठा हो, थियो क. पुष्पलालको ! आज त्यसको अभाव अत्यन्तै नराम्रोसँग खट्किरहेको र देशमा चौतर्फी संकट बढिरहेको छ । शायद गोबिन्द दाइले पनि यो महसुश गरिरहनु भएको होला भन्ने लाग्छ । कमरेड पुष्पलालको जन्म शत बार्षिकी लाग्न थालेको पूर्ब सन्ध्यामा गोबिन्द दाइसँगको गनगन र गथासो गर्दै मनमा खेलिरहेको यी राजनीतिक पीडाहरु भन्नै पर्ने औडाहा र नेपाली कम्युनिष्ट आन्दोलनप्रति चिन्ता लागेर ब्यक्त गरिएको हो । स्वयं बिस्मृतिको अबस्थामा पर्नु भएका गोबिन्द दाइले आज सोच्न सक्ने कुरा शायद भएन ।
(गोबिन्द दाईका छोराछोरी र ज्वाई तथा डा. तुलसी भटराईको संरक्षकत्वमा उहाँप्रति समर्पित अभिनन्द कृतिमा यो गथासो पहिल्यै प्रकाशित भइसकेको छ ।)