दक्षिणकाली न.पा. ९ दाउरेचौरमा रहेको टल्कु बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई लक्षित गरी बचत खेल तालिमको आयोजना गरेको छ । संस्थाको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा “बचत खेल ” सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ।
उक्त तालिममा टल्कु साकोस अन्तर्गत सञ्चालनमा रहेका २३ वटा लघुवित्त समूहका २९ जना सदस्यहरू तथा संस्थाका १ जना कर्मचारी गरी कुल जम्मा ३० जनाको सक्रिय सहभागिता रहेको थियो। सदस्यहरूलाई वित्तीय साक्षरताको स्पष्ट र व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा नेफ्स्कूनका कार्यक्रम अधिकृतद्वय सुमन राज घिमिरे र सन्दिप राज ढकालले सहजीकरण गरेका थिए । तालिममा पावरप्वाइन्ट प्रस्तुतीकरण, समूह कार्य, छलफल, प्रश्न–उत्तर तथा खेलमा आधारित अभ्यासमार्फत् सहभागीहरूले विषयगत तथा व्यवहारिक ज्ञान हासिल गरेका थिए।
German Sparkassenstiftung द्वारा प्रवर्द्धित “ बचत खेल तालिम ” अनुभवात्मक सिकाइमा आधारित विधि हो, जसमा सहभागीहरूले भूमिका खेल र निर्णय–निर्माण अभ्यासमार्फत आय–व्यय व्यवस्थापन, परिवारको बजेट निर्माण, नियमित बचत, आकस्मिक कोषको आवश्यकता तथा जिम्मेवार ऋण प्रयोग जस्ता विषयहरू व्यावहारिक रूपमा सिक्ने अवसर पाउँछन्। खेलकै क्रममा वास्तविक जीवनसँग मिल्दोजुल्दो अवस्था सिर्जना गरिने भएकाले सिकाइ अझ प्रभावकारी र दिगो हुने विश्वास आयोजकको छ। कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष तथा प्रशिक्षकद्वयले व्यानर हस्ताक्षर गरी गरेका थिए । समापन सत्रमा बोल्दै प्रशिक्षक सुमन राज घिमिरेले सहभागीहरूको सक्रियताको प्रशंसा गर्दै व्यक्तिगत जीवनमा बजेट निर्माण, नियमित बचत तथा विवेकपूर्ण लगानीमार्फत सुरक्षित आर्थिक भविष्य निर्माण गर्न प्रेरणा प्रदान गर्ने बताए ।

साना साना कुराहरूलाई मध्यनजर गरी आयव्ययको हिसाब किताब राखी बचत गर्न सकेमा भविष्यमा आईपर्ने विपद्हरूमा आर्थिक समस्या नहुने कुरा सहभागीहरूलाई प्रतिनिधित्व गर्दै सपना तिमल्सिनाले बताइन् । सक्रिय सहभागिताका लागि सम्पूर्ण सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै संस्थाका अध्यक्ष पूर्ण बहादुर बलामीले कार्यक्रम समापन गरेका थिए । यस तालिमले सहभागीहरूलाई व्यक्तिगत आर्थिक दिगोपन, पारदर्शिता, उत्तरदायित्व तथा उत्तरदायी सेवा प्रवाहमा थप सशक्त बनाउने विश्वास लिइएको छ ।“आर्थिक साक्षर सदस्य – सशक्त सहकारी – समृद्ध समुदाय” भन्ने मुल उदेश्यका साथ संस्थाले सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
नेपालपत्र संवाददाता