बुधबार, भाद्र ३ गते २०८३

नेपाली जनताको राष्ट्रिय एकताको खोजी किन ?

मंसिर १, २०७८ बुधबार
नेपाली जनताको राष्ट्रिय एकताको खोजी किन ?

मानिसहरुले प्राय आफुलाई होइन, परिस्थितिलाई दोषी मान्ने गर्दछन् र आफ्ना कमजोरीबाट भने पञ्छिने चेष्टा गर्दछन् । अनि त्यस्ता मानिसहरु आफ्नो मनोदशा परिवर्तन गर्न प्रायः तयार पनि हुने गर्दैनन् । फलतः उनीहरु असन्तोष र अशान्तिको दावानालमा प्रायजसो जलिरहेका हुन्छन् । तिनको मनले सधैं अरुअरुमाथि दोष थोपर्दै र शिकायत गर्दै हिड्ने गर्दछ । तर के सत्य कुरा हामीले बुझनु बुझाउनु पर्दछ भने यदि माटोमा घडा बन्ने योग्यता र सम्भावना हुदैनथ्यो भने घडा बनाउने कुनै कुशल निर्माण कर्ताले पनि त्यो बनाउन सफल हुदैनथ्यो र हुँदैन नै । त्यसैले हामीले  के प्रष्ट बुझनु आवश्यक छ भने मानिसको, समाजको र राष्ट्रको जीवनमा पनि परिस्थिति र मनस्थिति दुबैको निकै महत्व छ । मनोगत र बस्तुगत दुबैको ठीक ठीक किसिमले पत्तो लगाउन सक्नु र सिक्नु पर्दछ । उत्थान-पत्तन, दुःख-सुख तथा शोक र हर्ष दुबैको आ-आफ्नो र सामुहीक महत्व छ । दुबै कुरा सँगसँगै चल्ने गर्दछन् । दुबैको एकता र द्वन्द्वले अस्तित्व र परिवर्तनको दिशा पक्रन्छन् । यद्यपि आज अधिकांश जन मानसमा या सामाजिक अबस्थामा बाह्य परिस्थितिको एकांगी प्रभाव बढी देखिने गरेको पाइन्छ । यथार्थतः यो सही कुरा होइन र हुन पनि सक्तैन । किनभने परिस्थिति र मनस्थितिको अर्थात् बस्तुगत र मनोगत दुबै कुराको महत्व हुने गर्दछ । अनि त्यो कुरा सही किसिमले आत्मसात नगरी र त्यसमा आवश्यक र आमूल सुधार नगरीकन शान्ति र समाधानको सही दिशा पक्रिन पनि सकिदैन अर्थात समस्याले समाधान प्राप्त गर्न सक्तैन ।

वास्तवमा जब मानिसले आफु सहीत परिस्थितिलाई बुझदछ, रोग र रोगका लक्षणलाई चिन्छ र त्यस रोगको सही समाधान पनि भेटाउँदछ अनि त्यो नै सफलताको बाटो र पाटो हुन्छ । तर एकहोरो र एकांगी किसिमले एउटा कुरामा मात्र मानिस, समाज देश भर पर्दछ भने त्यसले सफलता या समस्याको सही समाधान पाउन सक्तैन । अर्थात् ब्यक्तिगत या सामाजिक अन्तरबिरोधको समाधान भेटाउन सकिदैन । यो संसारभरी नै जहाँ पनि र जहिले पनि लागु हुने कुरा हो ।

हामीले हाम्रो देशको आजको कुरा गर्ने हो भने आज हामी जस्तो किसिमले एउटा असहज परिस्थितिबाट गुज्रिरहेका छौं त्यसको पछाडि यही एकतर्फी जोड रहेको हामी देख्न सक्तछौं । अर्थात् हामी जबसम्म बाह्य परिस्थितिलाई मात्र दोष दिएर आफ्नो भित्री कमजोरीलाई लुकाउन चाहन्छौ, लुकाउँदछौं त्यसबेलासम्म समस्याहरु काचै कचल्टै रहीरहन्छन् । स्थितिले सही निकास पनि पाउँदैन । त्यति मात्रै होइन, समस्या अझ जेलिएर झनै जटील बन्न पुग्दछ र समाधान भेटाउन पनि अझ कठिन हुनजान्छ । जुन अस्वाभाविक कुरा पनि होइन ।

त्यसैले कुनै पनि समस्याको मनोगत र भौतिक दुबै पक्षलाई केलाएर हेर्नु र निष्कर्श निकाल्नु सही बाटो हुन्छ । अहिले हामी नेपालको समग्र अबस्थाको कुरालाई बिश्लेषण गर्दा के निचोडमा पुग्न सक्तछौ र पुग्नु पर्दछ भने हाम्रो देश जुन राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृति समस्याहरुबाट आक्रान्त छ, अप्ठयारोमा छ त्यसबाट पार पाउन बाह्य र आन्तरिक दुबै पक्षलाई सही सही किसिमले बुझेर र केलाएर मात्र समाधानको सही बाटो पनि पहिल्याउन सकिन्छ । सबै कुराका लागि बाहिरतिर औंला ठड्याएर उम्किने प्रबृत्ति पालेसम्म रोग निको हुनेवाला छैन । त्यसैले अहिलेको स्थितिमा परिवर्तन ल्याउन दुबै आन्तरिक र बाह्य पक्षका कमजोरीहरुलाई राम्रोसँग खुट्याइनु आवश्यक छ ।

हामी कसैको गुलाम या दासता स्वीकार नगरेको स्वाधीन र स्वतन्त्र देश हो भनेर अहिलेसम्म पनि गर्ब गर्ने गर्दछौं । के यथार्थमा यो सही कुरा हो ? आज हामीले प्रश्न गर्नै पर्ने अबस्था बिद्यमान छ । के हामीले बृटिश साम्राज्यवादसँगको लडार्इमा आजको भन्दा दुइ तिहाई नेपाली भू-भाग गुमाएर अपमानजनक सुगौली सन्धि गरेका होइनौ ? के त्यो सन्धिले नेपालको आन्तरिक स्थितिलाई अत्यन्तै कमजोर तुल्याएको र बाह्य शक्तिको दबाव र प्रभाव स्वीकार्न बाध्य पारेको होइन ? के नेपालको आन्तरिक कमजोरीका कारण बाह्य शक्तिको चलखेल बढेको र नेपालमा राणा शासनको अभ्युदय भएको होइन ? अनि हामीले एकतन्त्री जहाँनियाँ राणा शासनको बिरुद्ध लड्नु परेको होइन ? त्यसका निमित्त नेपाली जनताको एकता र संघर्षशीलताको खोजी गर्नु परेको होइन ? आज पनि त्यही एकताको खोजी हामीले गर्नु परिरहेको छ । बर्तमानमा जुन जटील अबस्थाबाट देश गुज्रिरहेको छ त्यसले बृहत राष्ट्रिय एकताको माग गर्दछ । जबसम्म नेपाली जनताको बीचको  राष्ट्रिय एकता सबल हुदैन, पारिदैन हामी अगाडि बढ्न र प्रतिकूल बाह्य परिस्थिति बिरुद्ध लड्न सक्तैनौ । त्यसैले नेपाली जनताको सचेत, संगठित, सक्रिय र संघर्षशील एकता आजको गम्भीर र अनिबार्य आबश्यकता हो ।