काठमाण्डाै । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालको वैदेशिक व्यापारमा निर्याततर्फ उल्लेखनीय सुधार देखिएको छ। यस अवधिमा कुल वस्तु निर्यात ४३.८ प्रतिशतले वृद्धि भई १४२ अर्ब २ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३१.८ प्रतिशत वृद्धिभन्दा उच्च हो।
गन्तव्य मुलुकका आधारमा हेर्दा भारततर्फको निर्यात ५७ प्रतिशतले बढेको छ भने अन्य मुलुकतर्फको निर्यात १०.७ प्रतिशतले वृद्धि भएको छ। यद्यपि चीनतर्फको निर्यात भने ६६.७ प्रतिशतले घट्न पुगेकाे छ ।
वस्तुगत रूपमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामग्री, जुत्ता तथा चप्पल लगायतका वस्तुले निर्यात वृद्धिलाई टेवा दिएका छन्। विपरीत रूपमा जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र हस्तकलाका सामग्रीको निर्यात भने घटेको छ।
यता, सोही अवधिमा कुल वस्तु आयात १४.२ प्रतिशतले बढेर ९३९ अर्ब २ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा आयात वृद्धिदर पनि तीव्र देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७.१ प्रतिशतले वृद्धि भएको थियो ।
भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.९ प्रतिशत, २२.१ प्रतिशत र ३२.४ प्रतिशतले वृद्धि भएको छ। आयाततर्फ भटमासको कच्चा तेल, रासायनिक मल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्ट्स, चाँदी र सुनको आयात बढेको छ भने खाने तेल, दाल, लसुन, तेलहन र हट रोल्ड शिट जस्ता वस्तुको आयात घटेको छ।
निर्यातमा उल्लेखनीय सुधार देखिए पनि व्यापार घाटा अझै गहिरिएको छ। छ महिनामा कुल वस्तु व्यापार घाटा १०.१ प्रतिशतले वृद्धि भई ७९७ अर्ब रुपैयाँ पुगेको छ। यद्यपि सकारात्मक पक्षका रूपमा निर्यात–आयात अनुपात १२ प्रतिशतबाट बढेर १५.१ प्रतिशत पुगेको छ, जसले वैदेशिक व्यापारको संरचनामा क्रमिक सुधार संकेत गर्छ।
यसै अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी गरिएको आयात ८६ अर्ब ८६ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा केही कम हो। समग्रमा, निर्यात वृद्धिले आशा जगाए पनि आयातको उच्च परिमाणका कारण व्यापार घाटा अझै अर्थतन्त्रका लागि चुनौतीकै रूपमा कायम देखिएको छ।
नेपालपत्र संवाददाता