आइतबार, कार्तिक ९ गते २०८३

बागमती प्रदेश सहकारी संघद्वारा सक्रिय महिला साकोस सम्मानित


मंसिर २९, २०८२ सोमबार
बागमती प्रदेश सहकारी संघद्वारा सक्रिय महिला साकोस सम्मानित


बागमती प्रदेश सहकारी संघद्वारा सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ । संघले पाँचौै साधारण सभाको अवसरमा  प्रदेशभरका महिलाहरुद्वारा सञ्चालित सहकारी संस्था मध्ये उक्त संस्थालाई उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मान गरेको हो ।

बागमती प्रदेशको सहकारी अभियानमा समुदायमा आधारित भई कार्यभित्र बसोबास गर्ने अधिकांश महिलाहरुलाई संस्थामा आवद्ध गराई उनीहरुको आर्थिक, सामाजिक, साँस्कृतिक तथा पर्यावरणीय क्षेत्रमा सकरात्मक परिवर्तनका लागि निरन्तर क्रियशिल रहेको भन्दै उक्त संस्थालाई संघले सम्मान गरेको हो । त्यसैगरी प्रचलित कानुन बमोजिम वित्तीय परिचालन र व्यवस्थापन गर्नुका साथै बागमती प्रदेश सहकारी संघमा आवद्ध भई संघसँगको व्यवसायिक सम्बन्धमा खेलेको भूमिकाको समेत उच्च कदर गर्दै यो सम्मान प्रदान गरिएको संघले जनाएको छ । 

कार्यक्रमकी प्रमुख अतिथि बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेल र संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले संस्थाकी अध्यक्ष श्रमिक लामालाई उक्त सम्मान प्रदान गरेका थिए । सो अवसरमा संस्थाका सञ्चालक सहित व्यवस्थापक सविना लामाको समेत उपस्थिति रहेको थियो ।

संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका महिलाहरुलाई सदस्य बनाई उनीहरुको आय आर्जनमा वृद्धि गर्न कृषि, पशुपालन,नगदे वाली लगायत स साना व्यापार व्यवसायमा ऋण लगानी गर्दै आएको छ । संस्थाले महिला सदस्यहरुको सशक्तिकरण, नेतृत्व विकास र समाजिक रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ । संस्था यस अघि पनि विभिन्न संघ संस्थाबाट सम्मानित भइसकेको छ ।