शनिबार, आश्विन १७ गते २०८३

भक्तपुर बचत संघ आफ्नै भवनमा सर्दै 

आषाढ १३, २०७८ आइतबार
भक्तपुर बचत संघ आफ्नै भवनमा सर्दै 

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आफ्नै नवनिर्मित भवन तयार भएको छ । 

आगामी शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर संघ सुर्यविनायक नगरपालिका, वडा नं. ८ ईतबुँस्थित नवनिर्मित भवनमा सर्ने संघका व्यवस्थापक बालकृष्ण धोजुले जानकारी दिए । उन अनुसार ३ आना २ पैसा २ दाम क्षेत्रफलमा फैलिएको जग्गामा साढे ३ तल्ले भवन निर्माण भएको हो । भवनमा २ वटा सटर सहित करिब ४० जना अटाउने तालिम कोठा, बैठक कक्ष, कार्यालय प्रयोजनका लागि कोठाहरु रहेको छ । संघले करिब ३ वर्ष अघि जग्गा किनेको थियो ।  सबै कोठाहरु संघका लागि नै प्रयोग गरिने छ । भवन निर्माणको अनुमानित रकम ९३ लाख भएपनि त्यो भन्दा कममै निर्माण सम्पन्न भएको धोजुले बताए ।  

संघले आफ्नै स्रोतमा भवन निर्माण समेत सम्पन्न गरेकाे बताए । संघका पूर्व अध्यक्ष राधेश्याम सुवालले १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । जग्गा खरिददेखि भवन निर्माणको दौरान १ सय १८ वटा जिल्लास्थित संस्थाहरुले प्रति संस्था ५ हजार रुपैयाँका दरले सहयोग पुर्‍याएको उनले जनाए । अन्य २५ वटा संस्थाहरुले २५ देखि ५० हजारका दरले भवन निर्माण कार्यमा सहयोग गरेका हुन् ।