काठमाडौँ, सहकारी क्षेत्रमा सुशासन प्रवर्द्धन र कानूनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सहकारी विभागले पुनः कडा निर्देशन जारी गरेको छ । सहकारी ऐन–२०७४ ले गरेको स्पष्ट प्रावधानका बाबजुद पनि केही व्यक्तिहरू एक भन्दा बढी सहकारी संस्थामा सञ्चालकको रूपमा रहेको गुनासो बढेपछि विभागले सबै सहकारी संस्था तथा सञ्चालक सदस्यलाई तत्काल कार्यान्वयनको आग्रह गरेको हो ।
सहकारी ऐन, २०७४ को दफा ४१(५) अनुसार “कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने” व्यवस्था गरिएको छ । साथै दफा ४४(१) को खण्ड (ग) मा “यदि कुनै सञ्चालक अर्को सहकारी संस्थाको सञ्चालक रहेको पाइएमा निज सो पदमा बहाल रहन नपाउने” प्रावधान रहेको छ ।
विभागका अनुसार यसअघि विभिन्न मितिमा सहकारी विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण तथा नेपाल राष्ट्र बैंकले समेत दोहोरो सञ्चालक नहुने सम्बन्धमा निर्देशन, मापदण्ड र एकीकृत नियमन जारी गरिसकेका थिए । तर अझै केही सहकारीमा निर्देशनको उल्लङ्घन भइरहेको भन्दै विभागले कडाइका साथ अनुसरण गर्न भनेको छ।
विभागले २०८१/०३/१९, २०८१/०४/१७, २०८२/०३/३२ मा जारी निर्देशनहरू, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको २०८२/०२/०९ को नियामक मापदण्ड तथा नेपाल राष्ट्र बैंकको २०८१/१२/०४ को निर्देशनसमेत उल्लेख गर्दै कानूनी व्यवस्था कार्यान्वयन नगर्ने सहकारी तथा सञ्चालकलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।
विभागले सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई स्थापित गर्दै सुशासनयुक्त सहकारी प्रणाली निर्माण गर्नु सबै सहकारी तथा नियमनकारी निकायको साझा दायित्व रहेको उल्लेख गरेको छ । स्वार्थ द्वन्द्वका कारण हुन सक्ने स्रोतको दुरुपयोग रोक्नु, सञ्चालक समितिको वैधानिकता सुनिश्चित गर्नु र सहकारीलाई आर्थिक–सामाजिक रूपान्तरणको आधारस्तम्भका रूपमा मजबुत बनाउनु प्राथमिकता हुने विभागले स्पष्ट पारेको छ ।
अनुगमन, निरीक्षण, नियमन तथा सुपरिवेक्षणका क्रममा दोहोरो सञ्चालकको अवस्था भेटिएमा सहकारी ऐन–२०७४ र नियमावली–२०७५ बमोजिम तत्काल कारबाही हुने विभागले सबैलाई सचेत गराएको छ ।
नेपालपत्र संवाददाता