बुधबार, भाद्र ३ गते २०८३

जतिपल्ट जिते पनि हार भयो र सधैँभरि त्यो मत खेर गयो


मंसिर २२, २०८२ सोमबार
जतिपल्ट जिते पनि हार भयो र सधैँभरि त्यो मत खेर गयो
युवा नव सिर्जनमा
छन्द:दुर्मिला
=======================
गणतन्त्र ठुलो मुख बाउँछ यो बलियासँग बस्न रुचाउँछ यो
जति लाभ लियो उति लोभ बढ्यो हसुरे जति नित्य पचाउँछ यो
सबका घरमा दरबार लग्यो महँगो करको अनि भेल बग्यो
दलका बलले सरकार बन्यो निमुखा जति सक्दछ ठग्नु ठग्यो ।१।
 
यतिसम्म कि न्याय टिकेन यहाँ जनशक्ति ठुलो छ बिकेन यहाँ
गणतान्त्रिक शासनले कहिल्यै जनको हित गर्न सिकेन यहाँ
बरु साधन स्रोत बिके घरका बहुमूल्य अमूल्य ठुला दरका
सकिएर भँडार सुके वरका भरिँदै भरिँदै चुलिए परका ।२।
 
दुहियो चुहियो रस धेर गयो कति पर्खनु हेर्नु अबेर भयो
जतिपल्ट जिते पनि हार भयो र सधैँभरि त्यो मत खेर गयो ।३।
 
दलका दल छन् दलभित्र दल अनुहार उही छ पुरानु खल
लिन औसर टेक्दछ फेरि तल बलियो हुन गर्दछ उठ्न बल
न त धर्म न नीति विचार रह्यो न निकास भयो न विकास भयो
अधिनायक बन्न लडाइँ हुँदा जनमानसको उपहास भयो ।४।
 
जब पोचिन थाल्छ मुढो र बुढो अनि काम दिँदैन बनेर कुँडो
अभिमान र स्वाद छ शासनको किन छाड्छ बुढो बरु टेक्छ घुँडो
अलि आश छ मात्र युवा जनमा बदलिन्छ कि देश नयाँपनमा
रथ हाँक्न सकून् सुख डाक्न सकून् अभियान नयाँ नव सिर्जनमा ।५।
==========================
२० मङ्सिर २०८२, इला